नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकी प्रविधिले नेपालको आयोजनालाई समय अगावै पूरा गरेकामा खुसी व्यक्त गरेका छन्। हिजो ‘ब्रेक थ्रु’ भएको (छिचोलिएको) सुनकोशी–मरिण सिँचाइ आयोजनाको सुरुङलाई लक्षित गर्दै राजदूत थम्पसनले यस्तो बताएका हुन्।
‘हिजो सुनकोशी–मरिण सुरुङ निर्माण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई रमाइलो लाग्यो,’ थम्पसनले एक्स (ट्विटर) मा लेखेका छन्,‘यो नेपालको जलस्रोतमा पहुँच सुधार गर्न अमेरिकी प्रविधिको प्रयोगको उत्कृष्ट उदाहरण हाे।’
उक्त सुरुङ अमेरिकी कम्पनी रोबिन्सले बनाएकाे टनेल बोरिङ मसिन (टिबिएम) द्वारा निर्माण गरिएको हो। टिबिएम प्रविधि सुरुङ इन्जिनियरिङको नवीन प्रविधि हो। सुरुङको निर्माणकार्यको ठेक्का भने चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएकाे छ।
१३ किमि ३ सय मिटर लम्बाई रहेको उक्त सुरुङ खन्न २२ महिनाको समय निर्धारण गरिएको थियो। यद्यपि अत्याधुनिक टिबिएम मसिनले १९ महिनामै काम पूरा गरेको हो।
रोबिन्सको टिबिएम मेसिनले १९ महिनामै काम पूरा गरेकाले नेपालले आयोजनालाई निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्न सक्ने देखाएको अमेरिकी राजदूत थम्पसनले विश्वास व्यक्त गरेका छन्।
‘यो सफल नतिजा प्रदान गर्न अमेरिकी प्रविधिले खेलेको भूमिकामा हामी गर्व गर्छौँ र नेपाललाई फाइदा हुने थप सहयोगको अपेक्षा गर्दछौँ,’ थम्पसनले अगाडि लेखेका छन्।
टिबिएम प्रविधिबाट निर्माण भएको यो नेपालको दोस्रो सुरुङ हो। यसअघि भेरी बबई डाइभर्सनमा यो प्रविधि पहिलाे पटक प्रयोग गरिएको थियो। उक्त सुरुङमा पनि अमेरिकी कम्पनी रोबिन्सकै मेसिन प्रयोग गरिएको थियो।
प्रकाशित: २७ वैशाख २०८१ १४:५१ बिहीबार