६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेललाई कर तिर्न पत्राचार

काठमाडौं- मलेसियाली कम्पनी 'एक्जियटा' को स्वामित्वमा आएको एनसेलले नेपालको कानुनअनुसार पुँजीगत लाभकर तिर्न सरकारले पठाएको पत्र बुझेको छ। 'टेलियासोनेरा' बाट एक्जियटाले कम्पनी खरिद गर्दा नेपाललाई बुझाउनुपर्ने (३३ अर्ब रुपैयाँभन्दा बढी) पुँजीगत लाभकर नबुझाएकोमा ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न पत्राचार गरेको हो। ठूला करदाता कार्यालय स्रोतअनुसार एनसेलले उक्त पत्र बुझिसकेको छ।नेपालको कानुनअनुसार दुई कम्पनीबीच कम्पनी खरिदबिक्री भए त्यसबाट आउने लाभकर राज्यलाई बुझाउनुपर्छ। दुई कम्पनीबीच खरिदबिक्री 'अफसोर डिलिङ' भए पनि नेपालको कानुनअनुसार देशले लाभकर राजस्व उठाउँछ।

पुसमा युरोपको टेलियासोनेराले मलेसियाको एक्जियटालाई १ खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गरेको थियो। दुई कम्पनीबीच खरिदबिक्री प्रक्रिया पूरा भइसक्दा पनि नेपालले लाभकर नपाउने जोखिम बढेको विज्ञहरूले औंल्याउँदै आएका थिए। सरकारले पठाएको पत्र बुझेसँगै एनसेलबाट लाभकर प्राप्त हुने बाटो खुलेको छ।

कार्यालयले पत्रमा आयकर ऐनको दफा ९५ बमोजिम राजस्व बुझाउन भनेको हो। उक्त प्रावधानअनुसार टेलियोसोनेराले कम्पनी बेचेर मुक्त भए पनि यहाँ रहेको एनसेलले नै राजस्व बुझाउनुपर्छ। कुनै पनि कम्पनीमा काम गर्ने कर्मचारीको आयकर उक्त कम्पनीले तिर्नुपर्ने भनेजस्तै टेलियोसोनेरा गए पनि नेपालमै रहेको एनसेलले त्यसको दायित्व लिनेछ।

सम्पूर्ण कारोबारमध्ये एक्जियटाले ८० प्रतिशत सेयर किनेको थियो भने भावना सिंह श्रेष्ठका नाममा २० प्रतिशत सेयर परेको थियो। यसअघि गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठका नाममा रहेको सेयर भावनाका नाममा बेच्दा आउने पुँजीगत लाभकर मात्र बुझाइएको थियो। २० प्रतिशत सेयरबापत आउने २ अर्ब ८३ करोड रुपैयाँ पुँजीगत लाभकर सरकारले प्राप्त गरिसकेको छ।

टेलियासोनेरा र एक्जियटाले खरिदबिक्रीको कार्य पूरा भएको विज्ञप्ति जारी गर्दासमेत नेपाललाई बुझाउनुपर्ने पुँजीगत लाभकरबारे केही बोलेको थिएन। टेलियासोनेराबाट एनसेलको ८० प्रतिशत सेयर किनेको एक्जियटाले लाभकर मिनाहाका लागि पूर्वादेश मागेको थियो। उक्त पूर्वादेश खारेज गर्दै सरकारले पुँजीगत लाभकर दिन पत्राचार गरेको हो।

सम्बन्धित विज्ञका अनुसार टेलियासोनेराले बेचेका ८० प्रतिशत सेयरबाट नेपालले ३३ अर्बभन्दा धेरै लाभकर पाउनुपर्छ।

दुई कम्पनीबीच अफसोर डिलिङ भएको र नेपालले ठूलो राजस्व गुमाउन लागेको भन्दै सरोकारवाला विज्ञले यसमा चासो राख्दै आएका थिए। नेपालको कर्पोरेट क्षेत्रमा एनसेल बिक्री अहिलेसम्मकै ठूलो कारोबार मानिएको छ।

एसियाकै ठूला कम्पनीमा पर्ने एक्सियटाका २६ करोडभन्दा धेरै ग्राहक छन् भने २५ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। एक्सियटाले मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तानलगायत एसियाली देशमा दूरसञ्चार क्षेत्रमा लगानी छ।

२०५८ असार ४ गते नेपालमा दर्ता भएर यो कम्पनी नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रको सबैभन्दा ठूला कम्पनीका रुपमा परिचित छ। स्पाइस नेपाल, मोदी कर्ब र खेतान ग्रुपले एनसेल दर्ता गरेका थिए। मेरो मोबाइलबाट ब्रान्ड सुरु गरेको एनसेलले आफ्ना एक करोडभन्दा धेरै प्रयोगकर्ता रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: ६ वैशाख २०७३ १९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App