१७ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

‘छोरी हिँडडुल गर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्’, आमा घर्तीले भनिन्, ‘साथीहरूले पढेको देख्दा पढ्न खोज्छे। विद्यालय नजिक छैन।’ उनलाई केही समय पहिला घरमै पढ्ने व्यवस्थासमेत थियो, तर अहिले किर्डाक नेपालको कार्यक्रम सकिएपछि विद्यालय लैजान नसकिएको उनले बताइन्। यसरी नै कालिकोटका सबै स्थानीय तहमा अधिकांश अपांगता भएका बालबालिका विद्यालय बाहिरै छन्।

कानुन र नीतिमा अपांगता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ, तर दुर्गमका विद्यालयहरू अपांगतामैत्री छैनन्। विद्यालयहरूले समावेशी शिक्षा दिन सक्ने गरी शिक्षकको व्यवस्था नहुँदा, स्थानीय सरकारले अपांगताहरूका हकमा घरमै पढाउने, अपाङ्गमैत्री विद्यालय बनाउने जस्ता कार्य गर्न नसक्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको शुभकालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख नमराज आचार्याले बताए।

सानै उमेरमा शारीरिक अपांगता भएका तिलागुफा नगरपालिका— ८ का शंकर न्यौपानेलाई पनी शिक्षादीक्षा लिन धेरै असहज छ। उनलाई पनि घरमै शिक्षा दिँदै आएको थियो। उनमा शिक्षा हासिल गनुपर्छ भन्ने इच्छा छ। शारीरिक अपांगता भएका शुभकालिकामा ४  जना छन् भने सामान्य अपांगता भएका अन्य धेरै छन्। तिलागुफा नगरपालिकामा ३ जना बालबालिका रहेका छन्।  

पहिला किर्डाक नेपालले होम स्कुलको व्यवस्थापन गरेर पढाउने र लेखाउने गरेपछि धेरै राम्रो हुने गरेको तिलागुफाका स्थानीय धनबहादुर बुढाले बताए। उनले भने, ‘पहिला बालबालिकालाई धेरै सहज भएको थियो। अहिले समस्या थपिएको छ। उनीहरूको अवस्था दयनीय रहेको छ।’ उनका अनुसार ती बालबालिकालाई पढाउँदै आएको किर्डाक नेपालको कार्यक्रम सकिएपछि स्थानीय तहले घरमै अध्ययन गर्न चासो नदिँदा समस्या थपिएको छ।  

प्रायः अपांगता भएकाहरूलाई फरक नजरले हेर्ने गरेका कारण पनि आफूहरूलाई विद्यालयमा गएर पढ्न समस्या थपिएको शुभकालिकाकी राधिका घर्तीले बताइन्।  उनले भनिन्, ‘पढ्ने लेख्ने मन हो, विद्यालयमा गएपछि धेरैले फरक दृष्टिले हेर्ने गछन्, आफलाई धेरै मानसिक तनाव हुन्छ।’

अपांगता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुने स्थानीय केशवराज देवकोटाले बताए। ‘नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिको सिकाइ फरक हुन्छ’, उनले भने, ‘यस्तो सिकाइको व्यवस्था विद्यालयमा नहुँदा बालबालिका बाहिर बस्न बाध्य छन्। अपांगता भएका बालबालिकाको हकमा स्थानीय तहले चासो लिनुपर्ने जानकारहरूले बताउने गरेका छन्।

राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चित गरी शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्न सक्षम र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ। अपांगता भएका बालबालिका स्तरयुक्त र समावेशी शिक्षा प्राप्त गर्नमा गम्भीर व्यवधान बेहोरिरहेका छन्।

बोली र शारीरिक अवस्थासमेतमा अपांगता  भएका धेरै बालबालिका परिवारको संरक्षणमा छन्। कालिकोटको खाँडाचक्र नगरपालिका— २ का तीनजना शारीरिक तथा मानसिक रुपमा अपांगता भएका बालबालिकाको अवस्था जटिल बन्दै गएको छ। घरमा बुवाआमाको मृत्युपछि उनीहरूलाई हेरचाह गर्ने आफन्त नहुँदा समस्या देखा परेको हो। अहिले उनीहरूको शरीरमा लगाउने कपडासमेत छैन।

प्रकाशित: २ चैत्र २०८० १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App