७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

पालिकाले आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअन्तर्गत नायब सुब्बा र खरिदार पदको परीक्षाका लागि निःशुल्क रूपमा पढाउन लागेको हो। पलिकाले १ देखि ८ नम्बर वडाबाट लोकसेवा परीक्षा तयारीमा रहेकालाई छनोट गरेर पढाउन लागेको जनाएको छ।  

युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सुरु गरेको गाउँपलिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए। पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र सोही अनुरूप लोक सेवा तयारी कक्षा सञ्चालन गरेको उनले बताए।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका पालिकाभित्रका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए। गाउँपालिकाको कार्यविधिअनुसार  ५२ जनालाई मात्र छनोट गरेर कक्षा सञ्चालन गरिरहेको जानकारी उनले दिए।

छनोटमा परेकालाई प्रथम र दोस्रो पत्रको तयारी गरुन्जेल लाग्ने सबै खर्च गाउँपालिकाले बेहोर्ने छ। तयारी कक्षामा उत्साहजनक सहभागिता रहेको पनि पालिकाले जनाएको छ।

पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यसपटक पनि निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको शिक्षा अधिकृत तुल्सीराम न्यौपानेले बताए। कक्षामा विद्यार्थीलाई परीक्षा तयारी कसरी गर्ने, कुन–कुन विषयवस्तु पढ्ने, कसरी उत्तर लेख्नेजस्ता विषयमा प्रशिक्षण दिइने छ।

निजामती सेवामा युवाको आकर्षण बढाउन र विदेश पलायन रोक्न लोकसेवा आयोगबाट लिइने परीक्षा तयारीका लागि सञ्चालन गरिएको निःशुल्क कक्षा सहयोगी हुने पालिकाको विश्वास छ।

प्रकाशित: २७ वैशाख २०८१ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App