८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितिविहीन

अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

अर्घाखाँचीका ३८६ सामुदायिक तथा संस्थागत विद्यालयमध्ये ३२ वटा विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेका हुन्। छत्रदेव गाउँपालिका १०, भूमिकास्थान नगरपालिका ८, शीतगंगा नगरपालिका ६, पाणिनी गाउँपालिका ५ र सन्धिखर्क नगरपालिकाका तीनवटा विद्यायलमा समिति गठन हुन सकेको छैन।

जिल्लाको मालारानी गाउँपालिकामा भने सबै विद्यालयमा व्यवस्थापन समिति गठन भएका छन्। हाल कुनै पनि विद्यालय रिक्त नरहेको शिक्षा अधिकृत रमेश पन्थीले जानकारी दिए। ‘हाम्रो पालिकाभित्र कुनै विद्यालय रिक्त रहेको वा गठन नभएको छैन, उनले भने, ‘हाम्रो पालिकाभित्र त्यस्तो रिक्त रहेर समस्या निम्तिएको भेटिएको छैन।’ मालारानी गाउँपालिकामा कुल ६३ वटा विद्यालय रहेका छन्।

शीतगंगाका १०९ विद्यालयमध्ये ६ वटा विद्यालय व्यवस्थापन समितिविहीन देखिएका छन्। शीतगंगा १ को कालिका आवीलगायतका विद्यालय रिक्त रहेको शिक्षा अधिकृत विनोद पोख्रेलले बताए। कुनै विद्यालय प्रक्रियामा रहेको र कुनै विद्यालयले बैठकहरू राखिरहेकाले छिटै ती विद्यालयमा समिति गठन हुने उनले बताए।  

पाणीनि गाउँपालिकाका पाँचवटा विद्यालयमा समिति गठन भएको छैन। हरिहर संस्कृत तथा साधारण मावि, साधनबुटा आविलगायतका विद्यालयमा समिति गठन हुन नसकेको शिक्षा अधिकृत तेजबहादुर खनालले बताए। ५४ वटा विद्यालय रहेको पाणीनि गाउँपालिकाका रिक्त विद्यालयमा छिटै समिति गठन हुने उनको भनाइ छ।

यस्तै सन्धिखर्क नगरपालिकाका ६३ सामुदायिक विद्यालयमध्ये तीनवटा विद्यालय समितिविहीन छन्। जनज्योति मावि, चन्द्रप्रभा माविलगायतका विद्यालय समितिविहीन रहेको शिक्षा अधिकृत मञ्जु आचार्यले बताइन्।

अहिले रिक्तजस्तो देखिए पनि प्रक्रियामा रहेकाले केही दिनमै समितिले पूर्णता पाउने उनको भनाइ छ। ‘अहिले प्रक्रियामा रहेकाले रिक्तजस्तो देखिएका छन्’, उनले भनिन्, ‘चन्द्रप्रभा माविले अन्तिम तयारी गरेको छ, अन्यको पनि छिटै गठन हुन्छ।’

यता ६३ वटा विद्यायल रहेको भूमिकास्थान नगरपालिकाका आठवटा विद्यालय व्यवस्थापन समितिविहीन छन्। ढिकुराको शारदा मावि, दीपेन्द्र निमाविसहित ८ वटा विद्यालयमा अहिले समिति नरहेको शिक्षा अधिकृत तुवलाल सापकोटाले जानकारी दिए। प्रक्रियामा विद्यालयले ढिलाइ गर्दा समिति गठन हुन नसके पनि अब छिटै समिति बन्ने उनले दाबी गरे।

छत्रदेव गाउँपालिकाका ३४ वटा विद्यालयमध्ये १० वटा विद्यालय समितिविहीन छन्। महेन्द्र विद्याबोध मावि, जगतमाता आविलगायतका विद्यालयमा समिति गठन हुन नसकेको शिक्षा अधिकृत तुल्सीराम न्यौपानेले बताए। कतिपय विद्यालय प्रक्रियामा रहेकाले छिटै हुने र कतीपय विद्यालयमा केही विवाद हुँदा गठन प्रक्रियामा विलम्ब भएको उनले बताए।

समिति रिक्त बन्नु, प्रक्रियामा जानु र पुनः गठन हुनु स्वाभाविक प्रक्रिया भए पनि कतिपय विद्यालय राजनीतिक खिचातानीको चपेटामा पर्दै आएका छन्। विद्यालय व्यवस्थापन समिति राजनीतिक भागबन्डाका आधारमा हुन्छ भन्ने ‘ओपन सेक्रेट’ जस्तै छ। स्थानिय नेता तथा कार्यकर्ताका लागि व्यवस्थापन समिति आफ्नो मान्छेको पोल्टामा पार्नु ठूलो उपलब्धि हुने गर्छ।

तर सार्वजनिक रुपमा यो कुरा स्वीकार गर्न उनीहरू अफ्ठ्यारो मान्छन्। कतिपय शिक्षाप्रेमीका नाममा त कतिपय सहमतिका नाममा विद्यालय व्यवस्थापन समितिमा प्रवेश गर्छन्। कति गैरकानुनी रुपमा त कतिपय कानुनका छिद्राको दुरुपयोग गर्दै समितिमा बसिरहेका हुन्छन्।

यसले समग्र शिक्षा प्रणलीलाई खोक्रो पारिरहेको छ। यो वा त्यो बहानामा विद्यालयसँग कुनै सरोकार नभएका व्यक्ति विद्यालयको महत्वपूर्ण पदमा बहाल हुँदा विद्यालयको समग्र विकासमा खासै प्रगति हुन नसकेको सरोकारवालाले बताउने गरेका छन्।

अर्घाखाँचीका सामुदायिक विद्यालयको अवस्था दयनीय बन्दै गएको छ। निजी विद्यालयमा आकर्षण, बढ्दो बसाइँसराइलगायतका कारणले सामुदायिक विद्यालय दिनप्रतिदिन कमजोर बन्दै गएका छन्। शिक्षामा राजनीति हावी हुनु पनि एक कारण मान्न सकिन्छ।

शिक्षा क्षेत्र सुधारका लागि पालिकाहरूले विभिन्न उपाय अवलम्बन गरिरहे पनि खास नतिजा आउन सकेको छैन। पालिका र विद्यालयका बीचमा राजनीति हावी हुँदा अभिभावकमा निराशा पैदा हुन्छ, जसले गर्दा विद्यालय सार्ने वा निजी विद्यालयमा पढाउने गर्छन् । यसले सामुदायिक विद्यालयलाई कमजोर बनाउँदै लगेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App