१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

निद्रा र उमेर

यस्ताे पनि!

सक्रिय जीवनशैली रोज्नेहरूमध्ये ४२ प्रतिशतमा अनिद्राको समस्या कम देखिएको छ। खासगरी जसले सातामा कम्तीमा दुई पटक कसरत गर्छ उसलाई छ घण्टे निद्रा मज्जाले पर्ने बताइएको छ। सर्वसाधारणको कसरत गर्ने बानीमाथि अध्ययन गर्दा यस्तो अवस्था देखिएको हो।

बेलायत र युरोपेली संघका केही देशका ३९ देखि ६७ वर्ष उमेर समूहका मानिसहरूको १० वर्षयता दैनिकी चियो गर्दा देखिएको निष्कर्ष भएको द टाइम्स अखबारले जनाएको छ।

शारीरिक रूपमा सक्रिय मानिसहरू कम्तीमा बिहान हल्का दौडने वा स्विमिङ गर्ने गरी शारीरिक सक्रियता देखाएका खण्डमा उनीहरूको अनिद्राको समस्या समाधान हुने मात्र नभई अनिद्राको रोगलाई नै पछाडि धकेल्नेसम्म देखिएको हो। अध्ययनमा के देखिएको थियो भने, जो शारीरिक रूपमा सक्रिय छ, कसरत गरिरहेको छ, दौडिरहेको छ, उसलाई १० वर्षपछि पनि अनिद्राको समस्या कम देखियो।

बिएमजे ओपन जर्नलमा प्रकाशित अध्ययनअनुसार जो कम शारीरिक कसरत गर्छ उनीहरूमध्ये ४२ प्रतिशतलाई निद्राको समस्या देखिएको थियो। कसरत नगर्ने २२ प्रतिशतलाई अनिद्राको समस्या नभएको पनि देखिएको छ। कसरत गर्ने वा दौडिनेहरूमध्ये ५५ प्रतिशतलाई ६ देखि ९ घण्टासम्म निद्रा लाग्ने देखिएको थियो।

त्यसो त कसरतमाथि यसअघि भएका अनेकौँ अध्ययनमा कसरत गर्नेहरूको निद्रा राम्रो पर्ने, मज्जाले निदाउने, निद्रा नटुट्नेजस्ता फाइदा देखिएको थियो। यो पछिल्लो अध्ययनमा भने कसरत वा मोर्निङ वाकमा निस्कनेहरूमा अनिद्राको समस्यालाई अझ पछाडि धकेल्ने गरेको पाइएको हो। त्यसो त कसरतले यो समस्या पूरै समाधान भने नहुने अध्ययनले देखाएको छ।

निरन्तरको शारीरिक कसरत नगर्नेहरू यदि सामाजिक अन्तरक्रियामा छन्, उनीहरूको स्वस्थ जीवनशैली छ भने पनि उनीहरूको अनिद्रा समस्या कम देखिएको छ। यस्तै अर्को एउटा अध्ययनले निद्रालाई कम महत्व दिनेहरू तुलनात्मक रूपमा उसको उमेरभन्दा १० वर्ष बुढो देखिने देखिएको छ। यसले उच्च गुणस्तरको निद्रा र आराम अति जरुरी रहेको स्विडेनस्थित कारोलिन्स्का इन्स्टिच्युटले जनाएको छ। सो संस्थाले ४२९ सहभागीहरूलाई उनीहरूको वास्तविक उमेर र आफूलाई लाग्ने उमेर सोध्दा कम निदाउनेहरूले तुलनात्मक बढी उमेरको महसुस गर्ने बताएका थिए।

४२९ जनाहरूमध्ये दिनको चार घण्टा मात्र सुत्नेहरूले आफ्नो औसत उमेरभन्दा ४.४ वर्ष बढी महसुस गर्ने गरेका थिए। मज्जाले सुत्ने, निद्रा पुग्नेहरूले भने आफूलाई कम उमेरको महसुस गर्ने गरेको बताएका थिए।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ चैत्र २०८० ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App