१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

रसुवासहित तराईका सात जिल्लामा हात्तीपाइले परजीवी

सरकारले हात्तीपाइलेविरुद्धको आम औषधि सेवन अभियान बर्सेनि सञ्चालन गरे पनि सबैले सेवन नगरेपछि समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।

महाशाखाका अनुसार कपिलवस्तु, सर्लाही, धनुषा, महोत्तरी, रसुवा, झापा र रौतहतमा हात्तीपाइले निवारण हुन सकेको छैन। सरकारले सुरुमा ७७ जिल्लाबाट हात्तीपाइलेविरुद्धको आम औषधि सेवन अभियान सुरु गरेको थियो। समुदायमा हात्तीपाइले संक्रमण सर्वेक्षण गर्दा ५३ वटा जिल्लामा निवारण भएको र १३ वटा जिल्लामा वैज्ञानिक आधारमै समस्या नभएको पाइएको छ। बाँकी सातवटा जिल्लामा निवारण हुन नसकेपछि वैसाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधि खुवाउने अभियान गर्न लागेको हो। यो अभियान दुई सातासम्म जारी रहने महाशाखाले जनाएको छ।

तराईका जिल्लाहरूमा हात्तीपाइले औषधिका विषयमा गलत धारणा रहेकोले समयमै निवारण हुन नसकेको महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए। ‘मलाई हाइड्रोसिल भएको छैन, खुट्टा सुन्निएको छैन, किन औषधि खाने भन्ने गलत बुझाइ रहेछ,’ उनले भने । रसुवामा दुइपटक अभियान सम्पन्न भइकसेको छ भने तराईका जिल्लामा ६ पटक अभियान भइसकेको छ। अभियान पटकपटक हुँदा पनि निवारण नहुुनुमा सबैले सेवन नगुर्न मुख्य कारण रहेको उनको भनाइ छ। सरकारले यी जिल्लामा यो वर्षसहित साऔंपटक हात्तीपाइलेविरुद्धको आम औषधि अभियान सञ्चालन गरिनेछ। यो अवधिमा प्रत्येक वर्ष ८० प्रतिशत भन्दा बढीले औषधि सेवन गरेको हुनु पर्ने डा. दाहाल बताउँछन्। हात्तीपाइलको औषधि लगातार दुई वर्षसम्म खाएको हुनुपर्छ। सरकारले सन् २००३ देखि हात्तिपाइलेविरुद्ध आम औषधि अभियान सुरु गरेको थियो। सन् २०२० मा निवारण गर्ने लक्ष्य लिएको थियो । सन् २०२० मा निवारण हुन नसकेपछि सन् २०३० भित्रमा निवारण गर्ने लक्ष्य लिएको छ।

कसरी लाग्छ हात्तीपाइले ?  

‘क्युलेक्स’ नामक संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा हात्तीपाइले रोग लाग्छ। संक्रमित लामखुट्टेले अर्को मानिसलाई टोकेमा रगतमा ‘उच्चरिया ब्याङक्राप्टी’ नामक परजीवि छोड्छ । यो परजीवि मानसिको शरीरमा प्रवेश गरेपछि ६ देखि २० वर्ष जीवित रहन्छ। यसले सुरुमा कुनै लक्षण देखाउँदैन। रगतको माध्यम हुँदै हात, खुट्टा र पुरुषको हाइड्रोसिलमा पुगेर क्षति पु¥याउँ । यसको संक्रमण बढेपछि बढी मात्रामा खुट्टा सुन्निने र हाइड्रोसिलमा पानी भरिने समस्या आउँछ। हात्तीपाइले भन्नेबित्तिकै खुट्टा सुन्निएर हात्तीको जस्तो भएको अवस्था मात्र बुझ्ने प्रचलन रहे पनि यो रोगमा हातखुट्टाका औंला सुन्निने र पुरुषको हाइड्रोसिलमा पानी भरिने हुन्छ। रोगको असर नदेखिँदै औषधि सेवन गरेमा रोगबाट हुने थप क्षतिवाट बच्न सकिने डा. दाहाल बताउँछन् । नेपालमा सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगरेको कारण ४० हजारमा हात्तीपाइलेको समस्या छ। हात्तीपाइले जटिल बनेपछि मानिसमा अपांगताको समस्या हुन्छ।

वैशाख १६ देखि ७ जिल्लामा अभियान  

सरकारले आउँदो वैशाखदेखि हात्तीपाइले निवारण हुन नसकेको ७ वटा जिल्लामा हात्तीपाइलेविरुद्ध आम औषधि वितरण गर्दैछ। यसपटक सकेसम्म कोही नछुनेगरी औषधि सेवन गर्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ। गत वर्षहरूमा सबैले औषधि सेवन गरेको कारण सातओटा जिल्लामा हात्तीपाइले निवारण हुन नसकेको डा. दाहाल बताउँछन्। चिकित्सकका अनुसार हात्तीपाइलेको जीवाणु रगतमा हुने र त्यो जीवाणु रहेका व्यक्तिलाई औषधि सेवन गरेपछि केही समयका लागि केही अप्ठ्यारो हुने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छन्। औषधि सेवनपछि हात्तीपाइलेका जीवाणु मर्ने क्रममा रसायन उत्पन्न भई केही असरसमेत देखिने र आफैं हराउने हुन्छ।

प्रकाशित: ५ वैशाख २०८१ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App