२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संक्रमित भारतीय बसेको मस्जिद आसपासका ६९ को स्वाव परीक्षण गर्न पठाइयो

उदयपुर- शुक्रबार १२ जना भारतीयमा कोरोना संक्रमण भेटिएपछि साँझदेखि नै ‘सिल’ गरिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपास बासिन्दाको स्वास्थ्य परीक्षण गर्न नमूना संकलन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले प्रदेश सरकारबाट विशेषज्ञ स्वास्थ्यकर्मी र औषधि उपकरण झिकाएर शनिबार ६९ जनाको नमूना संकलन गरेको हो।

                ७९ मध्ये ६० स्थानीय छन् भने ५ सुरक्षाकर्मी, ४ स्वास्थ्यकर्मी पुरुष तथा एकजना महिला रहेको बताइएको छ। उनी भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डामा तरकारी बेच्न आउने महिला हुन्।

                भुल्के मस्जिदमा रहदा संक्रमित भारतीयसँग घुलमिल गर्ने, सम्पर्कमा आएका र भेटघाट गर्नेहरुको स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए। नउका अनुसार विराटनगरबाट आएको टेक्निसिएन जयनिन्द्र यादवसहितको जिल्ला स्वास्थ्यकर्मीको टोलीले दिउँसो ३ बजेदेखि सुरु गरेको नमूना संकलन साँझ ६ बजेसम्ममा सकेको हो। नमूना संकलन सकेपछि शनिबारै स्वास्थ्यकर्मी टोली विराटनगर फर्केको छ। उनीहरुको रिपोर्ट आउन केही समय पर्खनु पर्ने सुबेदीले बताएका छन्।

                एकैचोटी १२ जनामा संक्रमण देखिएपछि उदयपुरमा भएको कम जनशक्तिले नभ्याउने भएकाले दक्ष टेक्निसिएन विराटनगरबाट झिकाउन परेको हो। पहिलो चरणमा भुल्के मस्जिद आसपास बसोबास गर्ने ५२ घरधुरी मुसलमान समुदायमा ‘नमूना संकलन’ गरिएको सुबेदीले बताए। उनीहरु मस्जिद नजिक बसोबास गर्ने तथा आउजाउ र संक्रमितसँग भेटघाट र घुलमिल गर्ने भएकाले पहिले मुसलमान समुदायको नमूना संकलन गरी परीक्षण गरेपछि मात्र अन्य समुदायको गर्ने नीति स्वास्थ्यले लिएको छ।

                ‘हामी दिउसोदेखि लगातार खटेर नमूना संकलन गर्ने काम भयो, सबैको गर्नेभन्दा पनि घुलमिल र भेटघाट गर्ने तथा मस्जिद आउजाउ गर्नेहरु ६९ जनाको स्वाव संकलन गरियो’ सुवेदीले भने ‘उनीहरुको स्वाव विराटनगर पठाइने छ, रिपोर्ट आउन केही समय कुर्नुपर्ला।’ भुल्केको परीक्षणपछि संक्रमितहरु घुमफिर र भेटघाट गरेको आशंका गएिका गाईघाट, बगाहा, शिवाई, हडियालगायत मस्जिदमा पनि अर्को चरणमा स्वाव संकलन गरिनेछ।

                सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले संक्रमितहरु घुमफिर गरेको मस्जिद र बस्तीको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर सबैतिर परीक्षण गर्ने योजना बनाइएको बताए। भुल्केमा बसेको भनिए पनि उनीहरु यो बीचमा धेरै ठाउँ घुमफिर गरेको वा सामाजिक अगुवाहरुसँग भेटघाट र भलाकुसारी गरेको हुनसक्ने अनुमानले ट्रेसिङ गर्ने काम भईरहेको उनले बताए।

                यता प्रहरीले भुल्केमा ‘सिल’ राखेको छ। सदरमुकाम नजिकै संक्रमण देखा परेका कारण आउजाउ खुकुलो पार्दा संक्रमणको जोखिम भएकाले रिपोर्ट नआएसम्म भुल्केमा सुरक्षा व्यवस्था कडा गरेर बाहिर आउजाउ रोक्ने निर्णय गरिएको जिल्ला प्रहरी प्रमख एसपी वीरबहादुर बुढामगरले बताए। भुल्के र आसपासमा अघिल्लो साँझदेखि नै प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

                जिल्लाबासीमा संक्रमणको त्रास बढेपछि सबैलाई घरमै बसेर लकडाउनको पूर्णपालना गर्न तथा नआत्तिन अपिल गरिएको छ। जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले मस्जिदका १२ जना भारतीयमा संक्रमण देखिनुले सतर्क हुनुपर्ने भन्दै लकडाउनमा घरै बस्न आग्रह गरेका छन्। त्यसैगरी त्रियुगा नगरप्रमुख तथा नेकपा जिल्ला इन्चार्ज बलदेव चौधरीले एक विज्ञप्ती प्रकाशित गरी लकडाउनको पूर्ण पालना गर्न, हतास नहुन तथा उच्च मनोबलका साथ घरभित्रै बसेर कोरोनाविरुद्ध लड्न अपिल गरेका छन्।

               

 

प्रकाशित: ६ वैशाख २०७७ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App