३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोरोना संक्रमितको संख्या २८

उदयपुर- बुधबार थप ३ जनामा कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ। वैशाख ५ गते भुल्के मस्जिदमा रहेका १२ भारतीयमध्ये ११ र एक नेपालीमा पहिलो संक्रमण पुष्टि भएको थियो। एकैचोटी दर्जनमा संक्रमण देखिएको  भोलिपल्ट थप १ जनामा पुष्टि भएपछि ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदका भारतीय धर्मप्रचारक १२ सहित १६ जना सबैमा संक्रमण प्रमाणित भएको छ।     

सुरुवाती संक्रमित भेटिएपछि मस्जिद आउजाउ गर्ने तथा उनीहरुसँग भेटघाट र घुलमिल गर्ने थप ६९ को स्वाव पहिलो चरणमा संकलन गरी विराटनगर पठाइएकोमा ८ जनामा संक्रमण पाइएको थियो। दोस्रो चरणमा नेपाली सेनाको स्वास्थ्य टोलीले आईतबार संकलन गरेको १ सय ५२ मध्ये ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सोमबार सेनाकै टोलीले गरेको थप १ सय स्वावको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए। उनका अनुसार मस्जिदमा बस्ने १२ भारतीय र मोरङका ४ धर्मप्रचारकसँगै आसपासका ६९ तथा आईतबार १ सय ५१ मुस्लिम समुदाय र सोमबार थप १ सय अन्य समुदाय गरी ३ सय २० को स्वाव काठमाडौं पठाइएको छ।

विराटनगर र धरान पठाइएका सुरुवाती १६ सबैमा संक्रमण पुष्टि भएको छ भने पछिल्लो ६९ मध्ये २४ मा संक्रमण भएको छ। जसमध्ये १२ भारतीय, ४ मोरङ र उदयुरका १४ जनामा संक्रमण देखिएको सुवेदीले बताएका छन्।

भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी विशेष अस्पताल खोल्न माग

यसैबीच त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोविड–१९ महामारीको केन्द्र बन्दै गएको भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी तत्काल दक्ष जनशक्ति र औषधि उपकरणसहितको विशेष अस्पताल खोल्न माग गरेका छन्। मेयर चौधरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी देशभरीकै कोरोना केन्द्र बनेको भुल्केलाई लक्षित गरी तत्काल जिल्लामा विशेष अस्पताल खोलेर उपचार र प्रतिकारमा लाग्न संघ र प्रदेश सरकारसमक्ष माग गरे।

मेयर चौधरीले देशकै सबभन्दा धेरै संक्रमित फेला परेको भुल्के र सो सँग जोडिएको सदरमुकामलगायत सिंगो जिल्ला कोरोनाको अत्याधिक खतराराभित्र परेकाले प्रदेश र संघीय सरकारले उपचार र रोकथामको कदम चालिहाल्नुपर्ने माग गरे। उदयपुरमा आवश्यक दक्ष जनशक्ति र औषधि उपकरण कमी रहेको तथा महामारीको केन्द्र बन्दै गएको देखिएकाले प्रदेश र संघीय सरकारले तत्काल त्यसप्रति ध्यान दिनुपर्ने बताए।

 ‘देशभरका संक्रमितमध्ये २८ जना भुल्केभित्रकै भेटिएको छ, यस्तो भयावह अवस्थामा जिल्लाबासीलाई थप संक्रमणबाट बँचाउन हामीसँग पर्याप्त जनशक्ति र औषधि उपकरण छैन’ मेयर चौधरीले भने ‘त्यसैले यसप्रति तत्काल भुल्केलाई मोस्ट डेन्जर जोन घोषणा गरेर उपचार र नियन्त्रणको कदम चाल्न म प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

मेयर चौधरीले यति धेरै संक्रमितहरु भेटिइसक्दासम्म संघ र प्रदेश सरकारले तत्काल चाल्नुपर्ने कदमप्रति चासो नदिएकोप्रति गुनासो गरे। १३ जनामा सुरुवाती संक्रमित भेटिएलगत्तै प्रदेश र संघीय सरकार तथा सम्बन्धित मन्त्रीलाई भनेर थप समस्या निम्तिन नदिन नगरपालिकाले अनुरो गरेको भए पनि आवश्यक्ता अनुसार दु्रत सेवा नपाएकोमा उनको गुनासो थियो। मेयर चौधरीले भौतिक पूर्वाधार तयार नभएसम्म जिल्ला अस्पताललाई नै अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्न सकिने भन्दै तर, सो काम छिटो गर्न उनको आग्रह छ।

               

प्रकाशित: १० वैशाख २०७७ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App