२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नवजात टुहुरीलाई अभिभावकत्व दिन हजारौं इच्छुक

मेर्लिन थोमस र नवाल एल मागाफी

सोमबार आएको भूकम्पका कारण उत्तर पश्चिम सिरियाको एक क्षतिग्रस्त घरको भग्नावशेषभित्र जन्मेकी एक बालिकालाई अभिभावकत्व दिन विश्वका हजाराैंले इच्छा देखाएका छन्। बेबी आया नाम दिइएकी ती बालिकालाई उद्धार गर्दा नाभी आमासँगै जोडिएको थियो। अरबी भाषामा आयाको अर्थ चमत्कार हो। ती बालिका रहेको जिन्दारिस सहरमा सोमबार सबेरै शक्तिशाली भूकम्प जाँदा उनका बुबा, आमा र ३ दाइ तथा दिदीहरूको मृत्यु भएको थियो। आया अहिले अस्पतालमा छन्।

 

‘अत्यन्त कमजोर अवस्थामा उनलाई सोमबार अस्पताल ल्याइएको थियो। शरीरभरि घाउ थिए र चिसोका कारण मुस्किलले सास फेर्न सक्ने अवस्थामा उनी थिइन्,’ हेरचाह गरिरहेका बालचिकित्सक हानी म्यारोफले भने।  

उनको अवस्था चिन्तामुक्त छ। उनलाई उद्धार गरिँदाको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा एक उद्धारकर्मीले क्षतिग्रस्त भवनबाट धुलोमा लतपत ती बालिकालाई लिएर दौडँदै आएको देखिन्छ। घटनास्थलमा रहेका बालिकाका टाढाको नाता पर्ने खलिल एल सुहादीले अफ्रिन सहरमा रहेको एक अस्पतालमा उनलाई पुर्‍याएका थिए।  

यो समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हजारौंले तिनलाई अभिभावकत्व दिन इच्छा गरेका छन्।  

‘म उनलाई अभिभावकत्व दिन चाहन्छु र उनलाई राम्रो जीवन बाँच्न लायक बनाउन चाहन्छु,’ एकजनाले सामाजिक सञ्जालमा भनेका छन्। 

कुवेतका एक टिभी प्रस्तोताले पनि त्यस्तै चाहना गरेका छन्। ‘कानुनी प्रक्रियाले अनुमति दिन्छ भने म उनलाई हुर्काउन चाहन्छु,’ उनले भनेका छन्।  

अस्पतालका प्रबन्धक खालिद अतिह विश्वभरबाट समान प्रकृतिका दर्जनांै अनुरोध आएका बताएका छन्। आयाभन्दा ४ महिना जेठी छोरीका बुबासमेत रहेका डाक्टर आतह भन्छन्, ‘तत्काल कसैलाई बालिका दिन्नँ। उनका आफन्त नफर्केसम्म मैले आफ्नै छोरीझैं रेखदेख गरिरहेको छु।’

डा. आतहकी श्रीमतीले आफ्नी छोरीसँग आयालाई पनि स्तनपान गराइरहेकी छिन्। आया जन्मेको सहर जिन्दारिसमा अझै पनि भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार कार्य जारी छ।

उक्त सहरमा रहेका पत्रकार मोहम्मम अल एदनानले बिबिसीलाई भनेका छन्, ‘यो अत्यन्त विकराल अवस्था छ। भग्नावशेषमा कैयन् मानिसहरू पुरिएका छन् र उद्धार गर्न सकिएको छैन।’

उक्त सहर ९० प्रतिशत क्षतिग्रस्त भएको र हालसम्म स्थानीयले मात्र उद्धारकार्य अगाडि बढाएको उनको कथन छ।  

द्वन्द्वग्रस्त उक्त क्षेत्रमा कार्यरत ह्वाइट हेलमेट्स नामक संस्थासँग आबद्ध उद्धारकर्ताकर्ता सो सहरमा उद्धारकार्य गरिरहेका छन्।  

‘क्षतिग्रस्त भवनको कमजोर अवस्थाका कारण उद्धारकर्मी आफै जोखिममा पर्ने गरेका छन्,’ मोहम्मद एल कमेल नाम गरेका एक उद्धारकर्मीले बताए।  

‘हामीले भर्खर ३ जना मृतकलाई भग्नावशेषबाट बाहिर निकाल्यौं। भग्नावशेषमा अझै पनि जीवित मानिसहरू रहेका हुन सक्छन्। हामीले उद्धारकार्य जारी राखेका छौं,’ उनले भने।

प्रकाशित: २८ माघ २०७९ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App