६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

टेलिकमको दोस्रो स्वेच्छिक अवकाश असारभित्र

काठमाडौं- पहिलो चरणमा सात सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको नेपाल टेलिकमले असारभित्रै दोस्रो चरणको अवकाश दिने भएको छ। स्वेच्छिक अवकाश (भिआरएस) कार्यक्रम अर्न्तगत १४ सय कर्मचारीलाई अवकाश दिने योजना बनाएको कम्पनीले बाँकी कर्मचारीलाई यो कार्यक्रम ल्याउन लागेको हो।संस्था सुदृढ बनाउन सरकारी स्वामित्वको दूरसञ्चार प्रदायक टेलिकमले २५ वर्ष अवधि पुगेका उक्त कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको थियो। 'दोस्रो चरणको कार्यक्रम असार महिनाभित्र सम्पन्न गर्ने योजना बनाएका छौं,' नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले नागरिकसँग भने। टेलिकमले पहिलो चरणको स्वेच्छिक अवकाश कार्यक्रम माघको अन्त्यतिर सम्पन्न गरेको थियो।

जम्मा १४ सय कर्मचारीलाई भिआरएस कार्यत्रमअर्न्तगत अवकाश दिने निर्णय गरेको टेलिकमले दोस्रो चरणमा ६ सय चारजनालाई स्वेच्छिक अवकाश दिनेछ। स्वेच्छिक अवकाश पाएका कर्मचारीले एकमुष्ठ रकम 'गोल्डेन हेन्डसेक' पाउँनेछन्।

संस्थालाई पुनर्संरचनामा लैजाने र नयाँ प्रविधिमैत्री बनाउन भिआरएस कार्यक्रम ल्याइएको टेलिकमका प्रबन्ध निर्देशक आचार्यले बताए। 'समय परिवर्तनसँगै संस्था पुनर्संरचना आवश्यक छ,' आचार्यले भने। यसै योजनाअनुसार पछिल्लो समय टेलिकमले आफ्नो संरचनामा समेत परिवर्तन गरेको छ। नयाँ संरचनामा तीन वटामात्र विभाग रहनेछन्। यसअघि १२ वटा विभाग र निर्देशनालय रहने व्यवस्था थियो।

बुधबार कम्पनी सुधारको मार्गचित्र प्रस्तुत गर्ने क्रममा उनले संस्थाको संरचनामा सुधार र जिम्मेवारी तोकेर काम गर्ने जनाए। आर्थिक वर्ष २०७३/०७४ भित्र सबै कर्मचारीलाई उसको पद, योग्यता र कार्य विवरण खुलाई जिम्मेवारी तोक्ने टेलिकमले जनाएको छ। हाल अधिकृत स्तरसम्म कामको जिम्मेवारी तोकिए पनि त्यसभन्दा तल यस्तो छैन। 'एक तहमा पनि कामको जिम्मेवारी तोक्ने योजना अनुसार यो कार्यक्रम ल्याएका हौं,' प्रबन्ध निर्देशक आयार्चले भने, 'यो खासगरी जिम्मेवारी बोध गराउनको लागि हो।'

टेलिकमले स्वेच्छिक अवकाश (भिआरएस) मा भाग लिन इच्छुक कर्मचारीको लागि सूचना प्रकाशित गरेको थियो। त्यसैका आधारमा अवकाशको सूची पनि तयार गरिरहेको छ।।

यस कार्यक्रम अर्न्तगत २५ वर्ष पूरा गरेका तर नियमति अवकाश पाउन ६ महिनाभन्दा धेरै अवधि रहेका कर्मचारीमात्र सहभागी भएका छन्। टेलिकमले भिआरएस कार्यक्रमको सूचना प्रकाशित गर्दा पहिलो, दोस्रो र तेस्रो चरण गरी अवकाश दिने जनाउ दिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन इच्छुकले दिएको निवेदनमध्ये प्रक्रिया पूरा भएका कर्मचारीलाई पहिलो चरणमा अवकाश दिइएको हो।

पहिलो चरणमा अवकाश पाउनेमा एकदेखि ११औं तहसम्मका कर्मचारी छन्। टेलिकममा हाल पाँच हजार एक सय कर्मचारी कार्यरत रहेकोमा पहिलो चरणमा सात सय ९६ ले अवकाश पाएका थिए।

टेलिकमले पुराना कर्मचारी कटौती गर्ने योजना पहिलेदेखि बनाएको थियो। सूचना, सञ्चार क्षेत्र नयाँ प्रविधिमा आधारित हुँदै गएको र बजारमा प्रतिस्पर्धा पनि बढ्दै गएकाले संस्थालाई चुस्त बनाउन यसले सहयोग गर्ने टेलिकमले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७३ २२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App