६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

अत्यधिक बढ्यो तरकारीको भाउ

काठमाडौं–स्थानीय उत्पादन नभएपछि बजारमा तरकारीको भाउ अत्यधिक बढेको छ । पोहोर साल यसै समयको तुलनामा यसपालि अधिकांश तरकारीको मूल्य बढेको हो । दैनिक उपभोगमा आउने तरकारीको मूल्य अकासिँदा उपभोक्ता मारमा परेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मंगलबार (वैशाख १४) को मूल्य पोहोर यसै दिनको तुलनामा अत्यधिक बढेको छ । दैनिक प्रयोग हुने अधिकांश तरकारीको मूल्य शतप्रतिशतसम्म बढेको देखिन्छ । आलु, बन्दा, स्थानीय काउली, सेतो मूला, मटरकोसा, घिउसेमी, लौका, हरियो फर्सी, भिन्डी, रायो साग लगायत तरकारीको मूल्य तीन सय प्रतिशतसम्म बढेको छ ।

सुक्खायाम लाग्दै गएपछि स्थानीय उत्पादन कम हँुदा तरकारीको मूल्य बढेको समितिका योजना अधिकृत रमेश डंगोलले बताए । 'तरकारीको मूल्य केही मात्रामा बढेको छ,' उनले भने, 'सुक्खायाम भएकाले स्थानीय उत्पादन नहुँदा मूल्य बढेको हो ।' उनले यस सिजनमा तरकारीको मूल्य प्रायः बढ्ने गरेको बताए ।

डंगोलले यस सिजनमा केही मात्रामा मूल्य बढ्ने बताए पनि तथ्यांकमा भने दैनिक प्रयोग हुने धेरै तरकारीको मूल्य शतप्रतिशतसम्म बढेको देखिन्छ । पोहोर वैशाख १४ को तुलनामा बन्दाकोपीको मूल्य एक सय १५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष बन्दाको मूल्य १३ रुपैयाँ थियो भने सोमबार २८ रुपैयाँमा बिक्री भयो ।

पोहोर ११ रुपैयाँ प्रतिकेजी रहको हरियो फर्सीको मूल्य यसपालि तीन सय प्रतिशतभन्दा धेरैले बढेको छ । पोहोर साल प्रतिकेजी ११ रुपैयाँमा बिक्री भएको हरियो फर्सी सोमबार ४५ रुपैयाँ पुगेको छ । त्यस्तै, २८ रुपैयाँ भएको लाम्चो भन्टा सोमबार ४५ रुपैयाँ, प्रतिकेजी ३८ रुपैयाँको मटरकोसा एक सय पाँच रुपैयाँ, ३८ रुपैयाँको घिउ सिमी ९५, २३ रुपैयाँको लौका ४५ रुपैयाँ पुगेको समितिले जनाएको छ ।

उपत्यकाको माग धान्ने अधिकांश तरकारी तराईबाट आउने गरेको छ । त्यसबाहेक स्थानीय रुपमा उत्पादन हुने तरकारीले पनि उपत्यकाको माग पूरा गर्छ । हाल उपत्यकाको माग धान्न तराईबाट आउने तरकारमिा भर पर्नुपरेको छ । तराईबाट ल्याउनु परेकाले तरकारीको मूल्य बढेको डंगोलको भनाइ छ । केही तरकारी भने भारतबाट पनि आउने गरेको छ । सिमी, काँक्रो, च्याउ, टमाटर आलु जस्ता परम्परागत रुपमा खेती गर्दै आएको तरकारी पनि भारतबाट आउने गरेको सरकारी तथ्यांकमै उल्लेख छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भारतबाट दुई लाख ६९ हजार सात सय ८१ केजी फर्सी नेपालमा आयात भएको थियो ।

डंगोलका अनुसार उपत्यकामा ६ सय ५० मेट्रिक टन तरकारी दैनिक माग हुन्छ । त्यसमध्ये पाँच सय ५० टन आपूर्ति भइरहेको उनको भनाइ छ । तरकारीको अभाव नभए पनि मूल्य भने दिनप्रति दिन बढ्दै गएको छ ।

तरकारीसँगै केही फलफूलको मूल्य पनि बढेको छ । पोहोर यो बेला ७५ रुपैयाँ दर्जन रहेको केरा सोमबार ९५ रुपैयामा किनबेच भयो । प्रतिकेजी ८५ रुपैयाँको सुन्तला एक सय ५५, सुकेको खुर्सानी एक ९५ को ठाउँमा दुई सय ७५ रुपैयाँमा किनबेच भयो ।

सुक्खायाम बढ्दै जाँदा उपत्यकामा पानीका स्रोतसमेत सुक्दै गएका छन् । खानेपानीको अभाव भइरहेको बेला तरकारी उत्पादनमा समेत यसले असर गरेको छ । भूकम्पपछि उपत्यकामा पानीमा मात्रा बढेको भए पनि पछिल्लो समय सुक्दै गएको स्थानीयको भनाइ छ । स्थानीय स्रोत, ट्युबवेल सुक्दै जाने र अकासे पानी नपर्दा तरकारी उत्पादनमा असर परेको छ ।

प्रकाशित: १४ वैशाख २०७३ २२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App