६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

पानीमा दोब्बर असुली

काठमाडौं-बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी 'उपभोक्ता लुटेर कमाउने' मौका छोप्न थालेका छन्। धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरू अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन्।


सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्यवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन्। छिटो चाहिए बढी रकम चाहिने भन्दै बार्गेनिङ सुरु गर्छन् ।

सुरुमा २० दिन लाग्ने भने पनि बढी मूल्य तिरे तुरुन्तै पानी ल्याइदिने गरेको उपभोक्ताको भनाइ छ । कालिमाटीका दिनेश श्रेष्ठले एक ट्यांकर पानीलाई दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे । 'मैले पानी ल्याइदिन भन्दा एक हप्तासम्म झुलाइरहे,' उनले भने, 'बढी मूल्य तिर्छु भनेपछि बल्ल ल्याइदिए ।'

पहिले ६ हजार लिटर पानी १६ सयमा ल्याउने उनी अहिले ३ हजार रुपैयाँ तिर्नुपरेको बताउँछन् । '२५ सय रुपैयाँ दिन्छु भन्दा मानेनन्, अहिले पानीमा बार्गेनिङ नगर्नुस्, धेरै ठाउँमा कुरेर बसेका छन् भन्दै रकम लगे,' उनले भने । घट्टेकुलोका दामोदर पौडेल पनि पानी माग्न जाँदा ट्यांकरवालाले नाम लेखाएर १५÷२० दिन पालो कुर्न भनेको अनुभव सुनाउँछन् ।

उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघ अध्यक्ष विष्णु दाहालले अभावको मौकामा व्यवसायीले धेरै मूल्य लिने गरेको स्विकारे । 'केही व्यवसायीले धेरै मूल्य लिने गरेको सुनेको छु,' दाहालले भने, '१०–१५ दिन कुराउने, बार्गेनिङ गर्ने गरेको पाइएको छ ।'

दाहाल अहिले माग धेरै भएकाले ५–६ दिन कुर्नुपर्ने बताउँछन् । बार्गेनिङ गर्ने र धेरै पैसा लिनेलाई अनुगमन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ । 'सबैले इमानदारीपूर्वक काम गर्छन् भन्ने छैन,' उनले भने, 'फटाइँ गर्ने पनि छन् ।'

व्यवसायी भने पानी स्रोत सुकेकाले ट्यांकर भर्नै पालो कुनुपर्ने, त्यसै कारण उपभोक्तालाई तत्काल उपलब्ध गराउन नसकिएको दाबी गर्छन् । यद्यपि संघ अध्यक्ष दाहाल पानीको स्रोत नसुकेको, मागचाहिँ पहिलेभन्दा अत्यधिक बढेको बताउँछन् ।

उनका अनुसार ट्यांकरबाट दैनिक ५ करोड लिटर वितरण भइरहेको छ । 'ट्यांकरले दैनिक पाँच हजार ट्रिप गरिरहेको अवस्था थियो,' दाहालले भने, 'अहिले दैनिक १० हजार ट्रिप गर्दा पनि माग पूरा हुन सकेको छैन ।' अहिले उपत्यकामा ७ सय ट्यांकर चलिरहेको उनले बताए । पोहोरपरार पूर्ण रूपमा सञ्चालन हुँदा माग पूरा हुने गरेकामा यसपालि नधानेको उनको भनाइ छ ।

उपत्यकामा हाल तीनवटा ट्यांकर व्यवसायी संघ छन् । दाहाल अध्यक्ष भएको संघमा मात्र ४ सय ट्यांकर छन् । दाहालका अनुसार पाँचदेखि छ हजार लिटर पानीको मूल्य १ हजार ६ सय, ७ देखि ८ हजार लिटरको २ हजार र १२ हजार लिटरको २ हजार ५ सय रुपैयाँ पर्छ । यो मूल्यमा दुरीका आधारमा सय रुपैयाँभन्दा बढी तलमाथि नपर्ने दाहालको भनाइ छ । व्यवसायी २ सय हाराहारी छन् । एक जनासँग एकदेखि सात–आठवटासम्म ट्यांकर छन् । 'व्यवसायीले पानीजस्तो संवेदनशील विषयमा धेरै पैसा लिन हुँदैन,' दाहालले भने, 'उपभोक्तालाई पनि तोकिएको मूल्यभन्दा धेरै नतिर्न आग्रह गर्छु ।'

ट्यांकर व्यवसायीले पानी संकलनका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेलको स्रोतसमेत प्रयोग गर्दै आएका छन् । उपत्यकामा जोरपाटी, बालाजु, स्वयम्भू, मातातीर्थ, टौदह, गोदावरी र झ्याउखेल क्षेत्रका स्रोतबाट संकलन गरिरहेको दाहालले जानकारी दिए ।

लामो खडेरीका कारण यसपालि उपभोक्ताको इनार, ट्युबवेल सुकिसकेका छन्, धाराको पनि हप्तौंसम्म पानी आउँदैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार हाल उपत्यकामा दैनिक ३७ करोड लिटर खानेपानी माग छ । त्यसमध्ये सुक्खायाममा दैनिक ८ करोड र वर्षातमा १५ करोड लिटर मात्र वितरण भइरहेको केयुकेएलका प्रवक्ता मिलनकुमार शाक्यले बताए । पानीको धारा नपुग्ने ठाउँमा आफ्ना ट्यांकरबाट पानी उपलब्ध गराइरहेको उनले जानकारी दिए । केयुकेएलको प्राथमिकता भने धाराबाट वितरण गर्ने र धाराबाट नपुग्ने ठाउँमा मात्र ट्यांकर प्रयोग गर्ने छ । केयुकेएलसँग १२ वटा ट्यांकर छन्, माग भने दैनिक ५० ट्यांकरसम्मको आइरहेको छ । उपत्यकामा २ लाख धारा जडान गरिसकेको केयुकेएलले हाल ६ देखि १३ दिनको बीचमा पानी दिने गरेको छ ।

सरकारी निकायबाट मागको धेरै कम मात्र वितरण भइरहेकाले बाँकी पानी निजी क्षेत्रले उपलब्ध गराउँदै आएको छ । सरकारले मागअनुसार पानी पु¥याउन नसकेपछि निजी व्यवसायीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

विभाग टुक्रेपछि अनुगमन ठप्प

नयाँ सरकार परिवर्तनसँग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभाग दुई टुक्रा हुँदा खानेपानी ट्यांकर अनुगमन तथा व्यवस्थापन कार्य ठप्प छ । उपत्यकामा सञ्चालित ७ सय खानेपानी ट्यांकर अनुगमनका लागि कुनै निकाय छैन ।

नाकाबन्दीअघि तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेको नेतृत्वमा खानेपानी ट्यांकर व्यवस्थापन तथा वर्गीकरण योजना अघि सारिए पनि काम सुरु भएको छैन ।

वाणिज्य मन्त्रालय टुक्रँदा वाणिज्य विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग भनी छुट्ट्याइएको छ । बेल्वासे अहिले वाणिज्य विभागमा छन् भने उनको नेतृत्वमा सुरु भएको काम अर्को विभागमा परेको छ । 'नेतृत्व गर्ने व्यक्ति नहुँदा ट्यांकर नियमन अलपत्र परेको छ,' बेल्वासेले भने, 'मैले अर्को विभागलाई त्यति बेलासम्म भएका कामबारे जानकारी गराइसकेको छु ।' बेल्वासे नेतृत्वमा उपत्यकामा संचालित ट्यांकर वर्गीकरण र व्यवस्थित गर्न साझा मस्यौदासमेत तयार भइसकेको छ ।

हाल खानेपानी, सरसफाइ र निर्माण कार्यमा पानी वितरण गर्न एउटै ट्यांकर प्रयोग हुँदै आएका छन् । खानेपानी र अन्य प्रयोजनका लागि छुट्टाछुट्टै पानी ट्यांकर प्रयोग गर्नुपर्ने व्यवस्था गरिए पनि पालना भएको छैन ।

हाल खानेपानी ट्यांकर गाडीका रूपमा यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गरेका छन् । 'खानेपानी ट्यांकर भनेर कतै पनि दर्ता छैन,' बेल्वासेले भने, 'नियमन पनि कसैले गरेको छैन । कसले कहाँको पानी बेच्छन्, कसैलाई थाहा छैन ।' त्यस्तै, पानीको स्रोत कस्तो प्रयोग भइरहेछ, त्यसको पनि अनुगमन छैन । अनुगमन गर्न व्यवसायी र सरकारबीच सहमति भए पनि कार्यान्वयन हुन सकेन ।

'खानेपानी ट्यांकर व्यवस्थित गर्न दस्ताबेज तयार भइसकेको थियो,' बेल्वासे भन्छन्, 'व्यवसायी पनि सरकारको यस कार्यमा सहमत थिए तर विभाग छुट्टिने, तराई आन्दोलन र नाकाबन्दीले सबै भताभुंग पारे ।'

संघ अध्यक्ष दाहाल खानेपानी ट्यांकर व्यवसाय व्यवस्थित पार्न आफूहरू तयार रहे पनि सरकारबाट ढिलाइ भइरहेको बताउँछन् । 'हामी यो व्यवसायलाई जिम्मेवार बनाउन तयार छौं,' उनले भने, 'हामीले जोड गरेर मात्र भएन, सरकारले गर्नुपर्यो'।'

जार र बोतलमा पनि समस्या

जार र बोतलको पानीमा पनि बेलाबखत गुणस्तरको विषय उठ्ने गरेको छ । ट्यांकरको पानी जारमा भरेर बिक्री गरेको समेत पाइएको थियो । जार र यसमा प्रयोग गरिने बिर्को सुरक्षित नहुँदा मनोमानी बढेको बेल्वासेको भनाइ छ। 'जारमा प्रयोग हुने क्याप राम्रो छैन । कसैले पनि आफ्नो नामको राखेका छैनन्,' उनले भने, 'कमसल क्याप लगाउने, नाम नलेख्ने, राम्रो जार प्रयोग नगर्ने, जसको जार पनि उठाउने समस्या छ।' अनुगमन वा कारबाहीको प्रक्रिया अघि बढाउँदा व्यवसायी आफ्नो जार होइन भन्दै पन्छिने गरेको अनुभव बेल्वासेले सुनाए। व्यवसायीले आफ्नो नामको जार छाप्न आवश्यक रहेको उनको भनाइ छ।

जार र बोतल बनाउने कच्चा पदार्थ कमसल हुने गरेको अनुगमनमा देखिएको थियो । जार र पानीको बोतल बनाउने कच्चा पदार्थ उच्च गुणस्तरको, बिर्को ए ग्रेडको हुनुपर्ने भए पनि लागू भएको छैन।

प्रकाशित: १९ वैशाख २०७३ १९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App