१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पहेँलो कणले मेलम्चीको काम बिथोलियो

सिन्धुपाल्चोक- बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रमा पहेँलो रंगको चम्किलो पदार्थ भेटिएपछि पानी सुरुङमा छिराउनका लागि इन्टेक बनाउन जारी चट्टाने पहाड खन्ने काम रोकिएको छ। उक्त चम्किलो पहेँलो पदार्थ 'सुन' हुन सक्ने आशंका गरिएपछि त्यस क्षेत्रलाई सुरक्षाकर्मीले तीन दिनदेखि नियन्त्रणमा लिएका छन्। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले चट्टाने पहाडको सुरक्षा गरिरहेको छ।

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले पहाड खन्ने क्रममा चम्किलो पहेँलो पदार्थ भेटिएको पुष्टि गरे। 'त्यो सुन हो या अरु वस्तु हो भन्ने खुलेको छैन,' उनले नागरिकसँग भने। परीक्षणपछि मात्र पहेँलो पदार्थ के हो भनेर पत्ता लाग्ने उनले बताए। मेलम्ची खोलाको पानी खोलामा हाल्न आयोजनाको मुहानस्थल हेलम्बुको रिबर्मामा इन्टेक बनाउनको लागि पहाड खन्ने काम भइरहेको छ।

बिहीबार चट्टान काटी रहँदा चम्किलो पहेँलो पदार्थ भेटिएको थियो। बालुवा जस्तो देखिने चट्टानका कण–कण पहेँलो र चम्किलो भेटिएको कार्यकारी निर्देशक भट्टराईले बताए। 'सुन नै पो हो कि भन्ने आशंका उब्जिएपछि त्यस क्षेत्रलाई सुरक्षा दिनुपरेको हो,' उनले भने, 'यदि सुन नै हो भने त्यो राष्ट्रको सम्पत्ति हुने भएकाले तत्काललाई पहाड खन्ने काम रोकेका छौं।'

सय मिटर अग्लो पहाड शीर (टुप्पो) देखि खेन्दै फेदतिर झर्ने क्रममा ४० मिटरको तहमा पहेँलो कण भेटिएको हो। पहेँलो कण सुन भएको आशंकापछि तीन दिनदेखि पहाड खन्ने काम रोकिएको छ। त्यहाँ शक्तिशाली उपकरणसहित दैनिक २० भन्दा बढी कामदार परिचालित थिए। पहाड काट्ने काम रोकिएपछि सुरुङ खन्ने काम भइरहेको छ।

उक्त पहेँलो पदार्थ के हो भनेर फिल्डमै प्रारम्भिक परीक्षण गर्न कर्मचारीलाई निर्देशन दिए पनि त्यसबारे जानकारी नआएको भट्टराईले बताए। 'पहेँलो पदार्थको नमुना डढाएर हेर्न भनेको छु,' उनले भने, 'यसरी डढाउँदा नबलेमा त्यो पदार्थ सुन, तामा या यस्तै खालका खनिज पदार्थ हुन सक्छ। बल्यो भने अरु नै वस्तु हुन्छ।' खानी तथा भू–गर्भ विभागबाट उक्त पहेँलो पदार्थ परीक्षण गराइने उनले जनाए।

परीक्षणबाट उक्त वस्तु सुन, तामा या यस्तै खालका खनिज वस्तु भएको पुष्टि भएमात्र आयोजनाको काम प्रभावित हुने उनले औँल्याए। 'त्यसको सुनिश्चितता नभएसम्मका लागि सुरक्षा दिएर काम रोकिएको हो,' उनले भने।

असोजमै पानी खुवाउन प्रतिबद्ध

इन्टेक निर्माणका लागि पहाड खन्न थालिएको काम केही दिन रोकिँदैमा मेलम्ची ढिलाई नहुने आयोजनाले स्पष्ट पारेको छ। इन्टेक बनाउन उक्त पहाड फुटाएर १ लाख घनमिटर चट्टान फाल्नु पर्ने छ। कार्यकारी निर्देशक भट्टराई आगामी असोज महिनामै उपत्यकाबासीलाई मेलम्ची पानी खुवाउन दृढ रहेको बताउँछन्। आगामी वैशाखदेखि असारभित्र सुरुङ खन्ने काम सम्पन्न हुने उनले जनाए। भट्टराईका अनुसार कुल साढे २७ किलोमिटर सुरुङमध्ये अहिले २२ किलोमिटरमा काम भइरहेको छ। रिबर्मा–सुन्दरीजल मेलम्ची पानी बहने सुरुङ (वाटर कन्भेन्स) लम्बाई २५.९ किलोमिटर मात्र हो।

'अब पाँच किलोमिटर मात्र खन्न बाँकी छ,' भट्टराईले भने। दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याउने उद्देश्यसहित २०५५ बाट आयोजनाको काम हुँदै आएको छ। सुन्दरीजल पुगेको पानी दोस्रो चरणमा वितरण गरेपछि तेस्रो चरण अन्तर्गत नजिकैका लार्के र यांग्री खोलाबाट थप ३४ करोड लिटर पानी सोही सुरुङबाट राजधानी लगिने छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भने असोजमा नभएर आउँदो वैशाखमै नयाँ वर्षको उपहार स्वरुप उपत्यकाबासीलाई मेलम्ची पानी खुवाउन निर्देशन दिइरहेका छन्।

प्रकाशित: १९ मंसिर २०७३ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App