१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपति क्षेत्र सिसिटिभी निगरानीमा

काठमाडौं- पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। पशुपति मन्दिर परिसर अब सिसिटिभीको निगरानीमा रहने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए।

पशुपति मन्दिर तथा गुठी व्यवस्थापन महाशाखा प्रमुख एवं निर्देशक भोलाप्रकाश सिटौलाका अनुसार पशुपतिनाथ मन्दिर परिसरमा १३ वटा सिसिटिभी जडान गरिएको छ। तीमध्ये ३ वटा पिटिजेड (चारैतिर घुमाउन मिल्ने) छन् भने बाँकी १० वटा फिक्स क्यामरा जडान गरिएको छ। नेपाल एसबिआई बैंकको सहयोगमा जडान गरिएका क्यामराको लागत १८ लाख रुपैयाँ रहेको उनले बताए।

सिसिटिभी क्यामरा भेटी गणना कक्ष र फूलप्रसाद चढाउने ठाउँमा एक/एक वटा, पशुपतिनाथ मन्दिरका चारवटै द्वार बाहिर प्रांगणका गतिविधि निगरानी गर्न दुई वटा, बासुकीनाथ मन्दिर, पूर्व ढोकाबाट आर्यघाट झर्ने सिँढी, मुक्तीमण्डल क्षेत्र (भजन कीर्तन गर्ने ठाउँ) र कीर्तिमुख भैरव क्षेत्रमा एक/एक वटा क्यामेरा जडान गरिएको महाशाखा प्रमुख सिटौलाले जानकारी दिए।

सिसिटिभीको अनुगमन र नियन्त्रण कक्ष पशुपति क्षेत्रस्थित नेपाल प्रहरीको महानगरीय प्रहरी पहरागणमा राखिएको महाशाखा प्रमुख सिटौलाले बताए। उनका अनुसार पशुपतिनाथ मन्दिरको पश्चिम ढोकासँगै रहेको सशस्त्र प्रहरीले सिसिटिभी अनुगमनमा सघाउनेछ भने गुठी व्यवस्थापन महाशाखा प्रमुखको कार्यकक्षबाट पनि अनुगमन गरिनेछ।

क्यामेराको परीक्षण भइरहेको महाशाखा प्रमुख सिटौलाले बताए। उनका अनुसार सिसिटिभी अनुगमन गर्न महानगरीय प्रहरी पहरागण, सशस्त्र प्रहरी र महाशाखा प्रमुखको कार्यकक्षमा ४५ इन्चको मनिटर राखिएको छ।

कोषका सदस्यसचिव टण्डनका अनुसार चालु आर्थिक वर्षमा पशुपति क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गर्न छलफल भइरहेको छ। पशुपतिनाथ मन्दिर परिसरमा थप सिसिटिभी क्यामेरा जडान गर्न भइरहेको छलफल छिटै टुंगो लाग्ने र सिसिटिभी जडान गरिने उनले प्रष्ट्याए।

प्रकाशित: २० मंसिर २०७३ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App