१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधनबारे दूतावासमा छलफल

काठमाडौं- सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहीबार फेरि भारतीय दूतावास गएका छन्। त्यहाँ उनले राजदूत रञ्जित रेसँग संशोधन विधेयकबारे छलफल गरेको स्रोतले बतायो।

राजदूत रेलाई भेट्न महतो बिहान करिब ११ बजे लैनचौरस्थित दूतावास पुगेका थिए। त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए। बानेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको पार्टीको बैठकअघि महतो दूतावास गएका थिए।

दूतावासबाट निस्केपछि महतो सोझै पार्टी कार्यालय गएका थिए। पार्टी संगठन विस्तार, संविधान संशोधन प्रस्तावलगायत विषयमा छलफल गर्न पार्टीको आन्तरिक बैठक बोलाइएको थियो।

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न महतो दूतावास गएको पार्टी स्रोतले बताएको छ। यसबारे प्रतिक्रिया लिन खोज्दा महतोसँग सम्पर्क हुन सकेन। पार्टी स्रोतका अनुसार संशोधन प्रस्तावमा लचिलो भई प्रस्तुत हुन राजदूत रेले महतोलाई सुझाव दिएका छन्।

केही दिनअघि मधेसी मोर्चामा आबद्ध ५ दलका अध्यक्ष भारतीय दूतावास पुगेर संशोधन प्रस्तावबारे छलफल गरेका थिए। त्यतिबेला पनि राजदूत रेले मधेसवादी दलका नेतालाई संशोधन प्रस्तावमा लचिलो हुन सुझाव दिएका थिए।

प्रकाशित: २४ मंसिर २०७३ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App