१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सय भारु साट्न एक सय ७५

काठमाडौं- भारतले ५ सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँसम्म पुगेको छ। भारतले गत कात्तिक २३ मा ५ सय र एक हजार दरका भारु नोट प्रचलनमा प्रतिबन्ध लगाएको थियो। यसपछि  भारत जस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ।

व्यवसायीका अनुसार भारु अभावको यही मौका छोपी कालाबजारियाले एक सय भारु साट्न एक सय ७५ नेपाली रुपैयाँसम्मको सट्टा दर पुर्‍याएका छन्। राष्ट्र बैंकले एक सय भारुको सटही दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

भारतबाट सामान आयात गर्ने व्यवसायीका अनुसार  माग र आपूर्ति बीचको खाडलका कारण भारुको विनिमयदर अकासिएको हो। 'बजार भारतीय सामानले थेगेको छ,' न्युरोडका कपडा व्यवसायी रमेश ढुंगानाले भने, 'त्यसअनुसार भारुको आपूर्ति भएको छैन। एक सय ७५ रुपैयाँसम्म दिएर बजारबाट भारु किनेर काम चलाउन बाध्य छौं।'

उनका अनुसार एकतिर राष्ट्र बैंकले भनेजति भारु दिन सकेको छैन भने अर्कोतिर भारतमै अभाव भएकाले पछिल्लो समय त्यहाँबाट भारु आउने क्रम ज्यादै न्यून छ। 'यही माग र आपूर्तिबीचको असमानताकै कारण सट्टादर अकासिएको हो,' उनले भने।

भद्रकाली स्पोर्टस् वेयर चाइना टाउनका व्यवसायी कपिलदेव नेपालले भारु खोज्न दिनहुँ व्यापारी आउने गरेको जानकारी दिए। 'एक सय भारुको एक सय ७० देखि ७५ सम्म नेपाली रुपैयाँ दिन्छु भन्नेहरु आउँछन्,' नेपालले भने।  भारतीय पर्यटक चाइना टाउनमा आउने भएकाले भारु खोज्नेहरुको पहिलो रोजाइ यहाँ हुने गरेको उनले बताए। काठमाडौंमा आउने मध्यम र तल्लो स्तरका भारतीय पर्यटक सामान खरिद गर्न चाइना टाउन आउने गर्छन्।

चाइना टाउनकै अर्का व्यापारी पशुपति ट्रेर्डसका सुरजलाल जोशीले पनि भारु खोज्न दैनिक विभिन्न व्यक्ति आउने गरेको जानकारी दिए। 'एक सय ७५ नेपाली रुपैयाँ दिएर एक सय भारु लैजाने प्रशस्तै छन्,' उनले भने।

राष्ट्र बैंकका अधिकारी र निजी क्षेत्र दुबैले भारु अभावका कारण यसको विनिमयदर बढेको स्वीकार गर्छन्।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले पछिल्लो समय बजारमा भारु अभाव रहेको जानकारी दिंदै यसले विनिमय दरमा चाप पारेको स्वीकार गरे। भारतले ५ सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपालमा भारु आउने क्रममा केही कमी आएको भन्दै उनले भने ' यसले बजारमा अलिकति असर पारेको छ, सटही दरमा पनि चाप पारेको होला।' 

प्रवक्ता पौडेलले राष्ट्र बैंकसँग अहिले ४ अर्ब हाराहारी भारु रहेको जानकारी दिए। 'हामीसँग भएको भारुले कम्तीमा पनि ६ महिनासम्म पुग्छ,' पौडेलले भने।

पौडेलले राष्ट्र बैंकसँग पर्याप्त भारु रहेको दाबी गरे पनि त्यसअनुसार सर्वसाधारणले मागेबमोजिम दिन सकेको छैन।। 'सभासेमिनारमा जानेलाई १० हजारसम्म र बिर बैंकले पहिले एकजना व्यक्तिलाई ५ हजार भारु दिने गरेकामा अहिले घटाएर २ हजार भारुमा झारेको छ ामीलाई २५ हजारसम्म नगद भारु दिने गरेका छौं,' पौडेलले भने, 'सर्वसाधारणलाई दिने रकम भने ५ बाट २ हजार भारुमा झारिएको छ।' 

राष्ट्र बैंकले सर्वसाधारणलाई मात्र होइन, वाणिज्य बैंकहरुलाई पनि दिन सकेको छैन। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले राष्ट्र बैंकले पहिले साताको ५ लाख भारु दिने गरेकामा अहिले छोडेको जानकारी दिए। 'बजारमा भारुको चर्को अभाव छ,' उनले भने, 'हामीकहाँ माग्न आउनेलाई नगद भारु दिन सकेका छैनौं।' उनले बजारमा अभाव भए पछि स्वाभाविक रुपमा सटही दरमा चाप पर्ने बताए। 

नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरराकाले बजारमा भारुको सटही दर बढेको घुमाउरो किसिमले स्वीकार गरे। 'मागअनुसार आपूर्ति नभएपछि पैसा मात्र होइन, जुनसुकै कुराको पनि भाउ बढ्छ,' उनले भने।

उनले भारु अभावले व्यापारीलगायत सबैलाई समस्यामा पारेको बताए। 'हरेक काम चेक, डेबिट र क्रेडिट कार्डले गर्न सकिँदैन र सम्भव पनि हुँदैन,' अध्यक्ष मुरराकाले नागरिकसँग भने, 'तीर्थ जाँदा, घुम्न जाँदा, पढ्न वा अन्य किसिमले भारत जाँदा सबै सर्वसाधारणलाई भारु आवश्यक छ तर बजारमा छैन न त राष्ट्र बैंकले नै पर्याप्त दिन्छ।'

उनका अनुसार भारतमै नोट अभाव भएपछि नेपाल आउने व्यक्तिहरुले बैंकिङ प्रणाली प्रयोग गरेर पैसा पठाउने प्रचलन बढेको छ। यस्तै ५ सय र हजार दरको भारुको प्रतिबन्धले डराएका सर्वसाधारणले भारतबाट आउँदा बोर्डरमा नै भारु साटन थालेका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि बजारमा भारुको अभाव भएको र यसले जताततै समस्या पारेको बताए। 'एउटा कपाल काट्ने मधेसी व्यवसायीलाई समेत भारु अभावले पिरलेको छ,' उनले भने, 'अभाव भए पछि चाहिनेले बढी तिरेरै भए पनि किन्नुपर्‍योे।'

अध्यक्ष श्रेष्ठले जसरी भए पनि भारुको व्यवस्थापन गर्न राष्ट्र बैंकसमक्ष माग गरे। भारतले निष्कासन गरेको २ हजार रुपैयाँको भारु नेपालमा पनि प्रचलनमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग पनि श्रेष्ठको छ।  

उद्योगी व्यवसायीका अनुसार अनौपचारिक रुपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक भारतीय रुपैयाँ नपाएपछि सट्टादर १ सय ७५ रुपैयाँसम्म पुगेको हो।

भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउने व्यापारीले त्यो सामानको भारतमा नगदमा भुक्तानी गर्नुपर्छ। व्यवसायीले उदाहरण दिँदै भने, 'कुनै व्यापारीले भारतमा एक हजारमा किनेको सामान भन्सार छल्ने प्रयोजनले ५ सयमा किनेको बिल बनाएर ल्याएमा राष्ट्र बैंकले त्यही बील अनुसार ५ सयको मात्र भुक्तानी दिन्छ। हजारमध्ये बिलमा नदेखाएको बाँकी ५ सय रुपैयाँ व्यवसायीले यहाँ बजारबाट उठाएर नगदै तिर्नुपर्छ। यसैका लागि व्यवसायीलाई ठूलो मात्रामा भारु चाहिन्छ।'

वर्षौंदेखि भारतीय सामान आयात गर्दै आएका एक व्यवसायीका अनुसार अनौपचारिक व्यापारको भुक्तानी अहिलेसम्म हुन्डीबाट हुँदै आएको थियो। 'भन्सार छलेर वा न्यूनबिजकीकरण गरेर भारतबाट ल्याएका सामानमध्ये ९० प्रतिशतको भुक्तानी हुन्डीबाट भइरहेको थियो,' ती व्यवसायीले भने 'भारतमा नोटबन्दी पछि हुन्डीबाट हुने भुक्तानी रोकिएको छ।' उनका अनुसार काठमाडौंमा नेपाली रुपैयाँ बुझाएर भारतमा भारु दिन सक्ने हुन्डी व्यापारी कोही छैनन्।    

उनले हुन्डी व्यापार सेलाएको र अहिले नेपाली बजारमा आवश्यक मात्रामा भारु पाउने अवस्था नभएकाले यसको सोझो चाप विनिमय दरमा परेको बताए। अहिले बजारमा नै भारु अभाव भएकाले १५ रुपैयाँसम्म बढी तिरेर यस्तो भुक्तानी गर्नुपरेको छ।

वैधानिक बाटोबाट गरिएको व्यापारको भुक्तानीका लागि भने राष्ट्र बैंकले भारु उपलब्ध गराउँछ। 'प्रतीत पत्र खोलेर वा टिटिलगायत अन्य वैधानिक माध्यमबाट सामान आयात गर्नेलाई आवश्यक भारु राष्ट्र बैंकले सधै दिँदै आएको छ,' राष्ट्र बैंकका प्रवक्ता पौडेलले बुधबार नागरिकसँग भने, 'अवैधानिक कारोबार गर्ने व्यवसायीले अभावका कारण भारु किन्न बढी मूल्य तिरेका हुन सक्छन्।' 

राष्ट्र बैंकले केही वर्षअघि गरेको अनुसन्धानले मुलुकको कुल व्यापारको ४० प्रतिशत हिस्सा अनौपचारिक व्यापारले ओगटेको देखाएको थियो। गत वर्ष मुलुकमा ८ खर्ब ५२ अर्बका सामान आयात भएकामा भारतको हिस्सा ४ खर्ब १२ अर्ब छ। यो तथ्यांकलाई हेर्दा करिब २ खर्ब रुपैयाँ अनौपचारिक व्यापारका लागि भारतमा नगदमै बुझाउनुपर्छ।   

अर्कोतिर दुवै मुलुकका प्रधानमन्त्रीबीच 'वान टु वान' वार्ता भए पनि नेपालमा रहेको अर्बौं रुपैयाँ बराबरको ५ सय र हजार दरको भारु नोटको भविष्य अझै अन्योलमै छ। अहिले बंैकिङ प्रणालीमा पाँच र हजार दरका साढे तीन करोड भारु छ भने उद्योगी व्यवसायी र सर्वसाधारणसँग गरेर दश अर्ब रुपैयाँभन्दा बढी यस्ता दरका नोट रहेको अनुमान व्यवसायीको छ।

प्रकाशित: २१ पुस २०७३ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App