१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिस र आर्मी सेमिफाइनलमा

काठमाडौं- सुनिल धमलाको अलराउन्ड प्रदर्शन प्रेरित नेपाल पुलिस क्लबले शुक्रबार हिमालयन ह्वाइट हाउस कलेजलाई ८ विकेटले पराजित गर्दै रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। सुनिलले १ विकेट लिनुका साथै अविजित ६० रनको योगदान गरेपछि ह्वाइट हाउसले दिएको ९९ रनको लक्ष्य पुलिस क्लबले १३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन बनाएको थियो।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सुनिलले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६० रन बनाएका थिए। दिलिप नाथसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेका सुनिलले आरिफ शेखसँग दोस्रो विकेटका लागि ५८ रन जोडे।  ९ रन बनाएपछि दिलिप रनआउट भए। २१ बलमा ५ चौकासहित २७ रन बनाएका आरिफलाई हसिम अन्सरीले सुवेन्दु पान्डेबाट क्याच गराएका थिए।

त्यसअघि  ललित भण्डारी र दीपेन्द्रसिंह ऐरीलेे महŒवपुर्ण २/२ विकेट लिएपछि ह्वाइट हाउसले खुलेर खेल्न सकेन। ओपनर आकाश थापालाई १ रनमा एलबिडब्लु आउट गरेका ललितले ३३ रन बनाएका हसिम अन्सरीलाई बोल्ड गरेका थिए। हसिम ह्वाइट हाउसबाट सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। उनले ४२ बलमा ३ चौका प्रहार गरेका थिए।

दीपेन्द्रले मेहबुब आलमलाई १ र राहुलप्रताप सिंहलाई ६ रनमा पवेलियन फर्काएका थिए। उनले दुवै ब्याट्सम्यानलाई बोल्ड गरेका हुन्। हसिम बाहेक प्रनित थापामगरले २३ रन बनाए। प्रनितलाई ललित राजवंशीले आरिफको हातबाट क्याच गराएका थिए। पुलिसका अमरसिंह राउटेला १८ रनमा अविजित रहे। सुनिल र मञ्जित श्रेष्ठले पनि १/१ विकेट लिए।

शुक्रबारै दोस्रो क्वार्टरफाइनलमा अविनाश कर्णले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले रोयल पिसी फाइटरलाई १० विकेटले पराजित गरेको छ।  टस जितेर ब्याटिङ गरेको रोयल फाइटरले १७ ओभरमा सवै विकेट गुमाउँदा ४५ रन बनाएको थियो।

४ ओभरमा अविनाशले २ मेडन राख्दै ३ रन दिएर ४ विकेट लिएका थिए। सोमपाल कामीले ३ विकेट लिए। लोकेन्द्र चन्दले २ विकेट लिदाँ जितेन्द्र मुखियाको नाममा १ विकेट रह्यो।

रोयल फाइटरका ३ ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किए भने दुई जना १ रनमा आउट भए। विजय सुनारले सबैभन्दा धेरै ११ रन बनाए।

४६ रनको लक्ष्य आर्मीले ४ ओभरमा विना क्षति पूरा गरेको थियो। आर्मीका ओपनर सागर पुन २१ बलमा ७ चौका सहित ३६ रनमा अविजित रहँदा सोमपाल कामीले ३ रन बनाए। रोयल फाइटरका धिरज शाही महंगा सवित भए। उनले एकै ओभरमा १९ रन दिएका थिए।

प्रकाशित: १ माघ २०७३ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App