१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'कन्दरा'ले दियो 'नेपाल लिटरेचर फेस्टिभल'को निम्तो

काठमाडौं- साहित्यिक मेला 'नेपाल लिटरेचर फेस्टिभल'को पाँचौं संस्करण पोखरामा माघ १४ देखि हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक ब्यान्ड कन्दराले आफ्नो प्रस्तुतीमार्फत नेपाल लिटरेचर फेस्टिभलको निम्तो दिए। 

'नेपाली साहित्य, कला, संगीत र संस्कृतिलाई प्रवर्नद्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन सबैलाई निम्तो गरेका छौं,' कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने। १२ वर्षपछि नेपाली संगीतमा पुनार्गमन गरेको साँगीतिक ब्यान्ड कन्दराले कार्यक्रममा 'लेककी हे माया', 'जिन्दगी यो उत्सव', 'के पहाड के तराई' र 'तिमी पारी'लगायत गीतहरू पस्किए।  

'साहित्य र संस्कृतिको विकास भएको खण्डमा देश निर्माण सम्भव छ । नेपाली साहित्यलाई प्रोत्साहन गर्न सुरू भएको नेपाल लिटरेचर फेस्टिभलले पर्यटन विकासमा समेत योगदान पुर्याएको छ,' सांसद रविन्द्र अधिकारीले भने। पोखराको पार्दीस्थित नेपाल टुरिजम बोर्डमा हुन लागेको फेस्टिभल चार दिन अर्थात् माघ १७ सम्म चल्नेछ। 
 
'यो महोत्सवले साहित्यको शक्तिलाई आम मानिसहरुमा पुर्याउन र साहित्य क्षेत्रको विस्तार गर्नको निम्ति अभियान नै चलाएको छ । त्यसैले नेपाली साहित्यलाई देशभित्र विस्तार गर्ने र विश्व साहित्यमा पनि पुर्याउने अभियानका यी पाइलालाई हामी सबैले साथ दिन आवश्यक छ,' मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले भने। महोत्सवमा अन्तर्राष्ट्रिय लेखकहरू उदय प्रकाश, दुर्जोय दत्त र राम चन्द्र गुहासहित राष्ट्रिय विचारक, कलाकार र साहित्यकारको उपस्थिति रहनेछ। 

'विचार, साहित्य र कलाको यो महोत्सवमा सम्पूर्णलाई साथ दिन आह्वान गर्नको लागि म पोखरादेखि काठमाडौंसम्म आएको छु ,'कवि तीर्थ श्रेष्ठले भने। नेपाल लिटरेचर फेस्टिभलको यो छैठौं संस्करण हो । महोत्सवको आयोजना बुकवर्म फाउन्डेसनले गर्दैछ। 'पोखरालाई सांस्कृतिक सहरको रूपमा स्थापित गरेर साहित्यको माध्यमबाट पर्यटन क्षेत्रलाई उकास्न महोत्सवले सहयोग गर्ने आशा राखेको छु,'नेपाल लिटरेचर फेस्टिभलका महोत्सव निर्देशक अजित बरालले भने ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App