१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इनिस्पेक्टर र सईमा जागिर लगाएको भन्दै लाखौं ठग्ने पक्राउ

कोहलपुर- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जागिर लगाएको भन्दै लाखौ रकम ठग्ने व्यक्ति प्रहरी फन्दामा परेका छन्। प्रहरी निरीक्षकमा जागिर पक्का गरेको भन्दै एकै व्यक्तिबाट आठ लाख बढी रकम असूल्ने कोहलपुर निवासी विराट आचार्यलाई कोहलपुर प्रहरीले मंगलबार दिउँसो १ बजे न्यूरोडबाट पक्राउ गरेको हो।

मुगु कार्कीबाडा–७ का प्रकाश रोकायलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी निरीक्षकमा जागिर पक्का बनाएको भन्दै आठ लाख रुपैँया ठगी गर्ने आचार्य पक्राउपछि प्रहरीले अनुसन्धान थालेको छ। अहिले सम्म दुई व्यक्ति प्रहरी आफ्नो रकम ठगिएको भन्दै सम्पर्कमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। आचार्य विरुद्ध यसअघि नै प्रहरी भर्ना बनाउने भन्दै ठगिएको उजूरी काठमाडौं हनुमानढोका प्रहरीमा परेको छ। अहिलेसम्म दुई जना सम्पर्कमा आएको र अन्य पनि ठगिएको भएको हुनसक्ने काफ्लेले बताए। ‘अनुसन्धानका लागि हामीले नियन्त्रणमा लिएका छौ,’ उनले भने, ‘ठगिएका अन्य पीडितलाई उजूरीका लागि आग्रह गर्छौ।’ आचार्य विरुद्ध काठमाडौंमा ४२ जना ठगिएको उजूरी परेकोले अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। कोहलपुर एनसीएन बस्दै आएका आचार्यले प्रहरी निरीक्षक बनाएको भन्दै २०७१ सालमा रोकायसंग आठ लाख रुपैँया असूलेका थिए। जागिर पक्का भएको र मासिक तलब २० हजार रुपैँया भन्दै तीन महिनासम्म तलव समेत आईएमई गरि पठाएको थियो, पीडित रोकायले बताए।

प्रहरी  निरीक्षकमा जागिर पक्का भएको भन्दै नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोमा भर्ना भएको गोप्य कोड समेत उपलब्ध गराएको उनले भने। तीन महिना तलव बन्दै ६० हजार रुपैँया बुझेको र पछि सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयमा बुझ्दा झुटा भएको थाहा पाएको उनले बताए। प्रहरीमा सूचना दिएपछि मंगलबार आचार्य पक्राउ परेका हुन्। आचार्यले दिएको कोड नम्बर झुटो भएपछि उनी ठगिएको पुष्टि भएको थियो। सम्पर्कमा आएका अर्का व्यक्तिले आफूलाई प्रहरी सहायक निरीक्षकमा जागिर गराएको भन्दै ठगिएको प्रहरीमा जानकारी दिएका छन्। उनी फोन सम्पर्कमा आएकोले उजूरीपछि मात्र विस्तृत जानकारी थाहा हुने प्रहरीले जनायो।

प्रकाशित: ४ माघ २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App