२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको विकल्प छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शैक्षिक गुणस्तर वृद्धिका लागि विश्वविद्यालयहरूमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको विकल्प नभएको बताएका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट उपकुलपति नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्न थालिएकोमा अब पूर्वाञ्चल विश्वविद्यालयमा पनि त्यही प्रक्रियाबाट गरिने र शैक्षिक गुणस्तरमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरे।

‘शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको छ,’ प्रधानमन्त्री दाहालले शुक्रबार मोरङको गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा भने, ‘त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयमा पनि खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ती गर्दै जाने योजना सरकारको छ।’ उनले उपकुलपतिसँगै अन्य पदाधिकारी पनि खुल्ला प्रतिस्पर्धाबाट गर्ने सरकारको तयारी रहेको उनले बताए।

प्रधानमन्त्री दाहालले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।  ‘पूर्वाञ्चल विश्वविद्यालयमा ऐन कार्यान्वयनमा बाधा-अड्चनमा आएमा त्यसलाई  समायानुकुल परिमार्जन गर्न सरकार तयार रहेको छ,’ उनले भने, ‘नीतिगत अस्पष्टतालाई पनि सरकारले स्पष्ट पार्नेछ।’

उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आगामी दिनमा अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक छ,’ उनले भने, ‘खास गरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको संवर्द्धन गर्नुपर्छ। कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पु¥ याउनुपर्छ।’

उनले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई पनि समय सान्दर्भिक बनाउनुपर्ने बताए। ‘पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरुरी देखिन्छ।’

युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री दाहालले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिनुपर्ने बताए।

१२ औं दीक्षान्त समारोहमा २०७९ पुस १७ गतेदेखि २०८० पुस १५ सम्म सञ्चालित स्नातक तह, स्नातकोत्तर तह र एमफिल तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा सात हजार ८५६ जना दीक्षित भए। 

प्रकाशित: १४ वैशाख २०८१ १९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App