१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी प्रदूषण जाँच प्रभावहीन

काठमाडौं-सरकारले सवारीसाधनको प्रदूषण जाँचलाई प्रभावकारी बनाउन सकेको छैन। राजधानीका सीमित क्षेत्रमा चल्ने सवारीसाधनलाई मात्रै प्रदूषण जाँच गर्नुपर्ने नियम भएकाले पनि यो प्रभावकारी हुन नसकेको देखिन्छ।

सवारीसाधन प्रदूषण ऐन, ०५४ ले राजधानीमा धेरै प्रदूषण गर्ने सवारीसाधनलाई विभिन्न ठाउँमा प्रवेश रोक लगाएको छ । सिंहदरबारदेखि पुतलीसडक चोक हुँदै कमलादी चोकसम्म, एयरपोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दरबारमार्ग र नारायणहिटी दरबार क्षेत्र, महानगरपालिका, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा अत्यधिक धुँवा निकाल्ने सवारीलाई प्रवेशमा रोक लगाइएको छ ।

राजधानी भित्रिने हजारौँ सवारीसाधनमा भने प्रदूषण जाँच हुँदैन ।

यातायात व्यवस्था कार्यालय, साना–ठूला सवारी कार्यालय वागमती प्रमुख वसन्त अधिकारी सवारीसाधनको प्रदूषण जाँच सबैतिर अनिवार्य नहुँदा प्रभावकारी नभएको बताउँछन् । ‘चक्रपथभित्र गुड्ने सीमित गाडीको मात्रै जाँच गर्दै आएका छौँ,’ उनले भने ।

यातायात कार्यालयले प्रदूषण जाँच पास गरेका सवारीलाई हरियो स्टिकर प्रदान गरिरहेको छ । प्रदूषण जाँच फेल भएका सवारीसाधनलाई रातो स्टिकर टाँसेर एक साताभित्रै सुधार गर्नुपर्ने व्यवस्था भए पनि त्यो कार्यान्वयनमा आउन नसकेको सवारी जाँच परीक्षण केन्द्रका कर्मचारी बताउँछन् ।

‘सवारीसाधनको धुँवा मात्रै जाँच गरेर हुँदैन । सुविधासम्पन्न उपकरणबाट एकीकृत रुपमा जाँच गर्नुपर्ने बेला भइसक्यो,’ प्रमुख अधिकारीले भने, ‘प्रदूषण जाँचमा फेल हुने सवारीलाई कारबाही गर्ने स्पष्ट कानुनको अभाव भएकाले पनि यो प्रभावकारी हुन सकेको छैन ।’

सवारी जाँचमा फेल भएका सवारीले सात दिनभित्र नसुधारे सवारी सञ्चालनमा रोक लगाउने व्यवस्था अझै कार्यान्वयन हुन नसकेको उनले बताए ।

साना–ठूला सवारी कार्यालय वागमतीमा एक लाख ४८ हजार ६ सय १६ सवारी दर्ता छन् । करिब ५० हजार सवारीसाधनले मात्रै बर्सेनि सवारी प्रदूषण जाँच गरिरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको छुट्टाछुटै प्रदूषण जाँच गर्दै आएको प्राविधिक शाखाका सुपरभाइजर सन्तोष कोइराला बताउँछन् ।

यसरी हुन्छ जाँच

पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनको धुँवाको मात्रा ग्यास एनालाइजरमार्फत मापन गरिन्छ । सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ । त्यस्तै, डिजेलबाट चल्ने सवारीसाधनको ‘डिजेल स्मोक मिटर’मार्फत धुँवाको मापन गरिन्छ । यसमा धुँवाको मात्रा २.४४ एचएसयु हुनुपर्ने मापदण्ड  छ ।

प्राविधिक शाखाका अधिकृत यमबहादुर क्षत्रीले सवारीसाधनको प्रदूषण जाँच गर्दा फेल हुने सवारीसाधनलाई कारबाही गर्ने संयन्त्र नभएको बताएका छन् । ‘प्रदूषण जाँचमा फेल हुने सवारीलाई कारबाही गर्ने संयन्त्र छैन,’ उनले भने, ‘दण्ड तथा जरिवानासम्बन्धी कानुन नहुँदा नियन्त्रण गर्न गाह्रो  भएको हो ।’

एकान्तकुनामा रहेको प्राविधिक शाखामा दैनिक डेढ सय सवारीसाधन प्रदूषण जाँच गर्न आउने जनाएको छ। प्रदूषण जाँच गर्न ३५ रुपैयाँ शुल्क लाग्छ।

‘अनुगमन टोली बनाउँदै छौँ’

सवारीसाधन प्रदूषण जाँचबारे अनुगमन हुन लागेको वातावरण विभाग प्रवक्ता मोहनदेव जोशीले बताए । ‘वातावरण विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको संयुक्त टोली बनाएर अनुगमन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘सवारीसाधनको ठाउँठाउँ प्रदूषण जाँच गर्ने सयन्त्र गराउन आवश्यक छ,’ उनले भने, ‘हरियो स्टिकर टाँसेका सवारीको समेत प्रदूषण जाँच गरिनुपर्छ । देशभर नै लागू नगरेसम्म सवारीसाधनको प्रदूषण नियन्त्रण गर्न कठिनाइ  हुने देखिन्छ ।’

हाल काठमाडौंमा यातायात व्यवस्था कार्यालय वागमती एकान्तकुना र सानो भ¥याङमा सरकारी तथा निजी गाडीको प्रदूषण जाँच हुँदै आएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभागका डिएसपी सविन प्रधानले सवारी प्रदूषण जाँच नै प्रभावकारी नभएको बताउँछन् । ‘सवारी प्रदूषण जाँच केन्द्र नै व्यवस्थित हुन सकेको छैन,’ उनले भने, ‘निषेध गरिएका ठाउँमा हरियो स्टिकर नभएका सवारी गुड्न दिएका छैनौँ।’ सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६० को ३ अन्तर्गत सवारी जाँच नगरेका सवारीसाधनलाई दुई सय देखि एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ।

 

 

 

प्रकाशित: ५ माघ २०७३ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App