१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चित्रकार खड्काको निधन

काठमाडौं- चित्रकार पुरन खड्काको मंगलबार ६० वर्षको उमेरमा निधन भएको छ। निमोनियाको संक्रमणबाट उनको मेडिकेयर अस्पतालमा निधन भएको हो। आफैं हिँडेर अस्पताल पुगेका खड्कालाई आइसियुमा राखी उपचार गरिएको थियो। अछाममा जन्मिएका खड्काले सन् १९८० मा बम्बईको जेजे स्कूल अफ आर्टबाट चित्रकलामा स्नातक गरेका थिए। उनको एकल प्रदर्शनी आठवटा भइसकेको थियो।

कलामा नयाँ खोज र चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्ने उनी अध्ययनशील व्यक्तिका रुपमा समेत चिनिन्थे। उच्च रक्तचापका बिरामी समेत रहेका खड्काको निधनले नेपाली ललितकलाका क्षेत्रमा अपुरणीय क्षति पुगेको विगत २० वर्षदेखि संगत गरिरहेका कलाकार नवेन्द्र लिम्बुले बताए।

उनले थपे, 'कलाका अथक साधक, मृदुभाषी, सबैमा समान व्यवहार र नयाँ कलाकारलाई प्रोत्साहन प्रदान गर्ने स्वभाव खड्काको थियो। यो निधन अकल्पनीय छ। केही गर्छु भन्ने अडान लिएर काम गर्नुभएका खड्काका योगदान र कलाकृतिको कला क्षेत्र र राज्यले उचित सम्मान गर्न सक्नुपर्छ।'

राज्यले खड्कालाई समयै छँदै चिन्न नसकेपनि उनका सिर्जनालाई उचित संरक्षण गर्नुपर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ज्योतिप्रकाश बिकेले बताए। खड्काको निधनले समग्र कलाक्षेत्र नै शोकमा रहेका अर्का युवा कलाकार रविन्द्र श्रेष्ठले बताए। श्रेष्ठले भने, 'वहाँले हामीलाई जहिले पनि कलामा लाग्न हौसला प्रदान गर्नुहुन्थ्यो। विश्व कलामा देखापरेका विविध आयामका विषयमा बडो तर्क संगत छलफल गर्नुहुन्थ्यो। यी सब चीज अब स्मृतिमा मात्रै रहने भए।'

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले खडकाको निधन विश्वास गर्नै नसक्ने बताए। उनले भने, 'नेपाली कलामा अमूर्त धारको प्रतिनिधि कलाकारको रुपमा परिचित वहाँको कलाप्रतिको लगाव साँच्चिकै हाम्रा लागि प्रेरणाको स्रोत बनेर रहिरहनेछ।'

उनको पछिल्लो कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्युजियममा गएको मंसीर २९ मा भएको थियो। उनी केही समय ललितकला क्याम्पस भोटाहिटीमा समेत अध्यापन कार्यमा संलग्न भएका थिए।

उनको नेपाल लगायत विदेशमा समेत एकल तथा सामूहिक कला प्रदर्शनी भएको छ। उनले संस्कृति मन्त्रालय र नाफाबाट क्षेत्रीय प्रतिभा पुरस्कार समेत पाएका थिए। नेपाली कलामा अमूर्त कलाको सशक्त कलाकारको परिचय बनाएका उनले 'दि होलनेस' अर्थात 'सम्पूर्णता' शीर्षकको कला प्रदर्शनी भौतिक जगतका देखिने र नदेखिने रहस्यलाई माथि आफ्नो सिर्जनात्मक धारणा प्रस्तुत गरेका थिए।

खड्काको पार्थिव शरीरलाई बिहीबार बिहान ७ः३० बजेदेखि एक घन्टा श्रद्धाञ्जलीका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) प्रांगणमा राखिने प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले बताए।   

प्रकाशित: २३ असार २०७३ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App