डिस्कोर्स

विचलित वंश-परम्परा

शनिबार, २९ माघ २०७३, ११ : ५३ नागरिक


विमल भौकाजी

नेपाली साहित्यमा ख्याति कमाएका, औपचारिक तवरले विशेषज्ञता समेत हासिल गरेका प्रायः सबै प्रबुद्ध साहित्यकारमाथि एउटा यस्तो विशेष प्रश्न उठ्ने गरेको पाइन्छ–

'तपाईंका नशामा बगेको साहित्यिक रगत किन तपाईंमै मात्र सीमित भयो? किन वंश–प्रक्रियामा गएन?'

स्पष्ट छ, तिनका लेखन–प्रक्रिया तिनकै सन्ततिमा नजानु आश्चर्यजनक छ भन्ने आशय यो प्रश्नभित्र निहित छ। खास गरी आफ्नो नामको अगाडि जोडिएको डा. (डाक्टर) को विशेषणधारी साहित्यकारहरूप्रति यो प्रश्न परिलक्षित हुने गरेको छ।

वास्तवमै, राम्रा साहित्यको रचना गर्ने साहित्यकारहरूमाथि पाठकले गर्ने विश्वास र भरोसाको द्योतक हो यो प्रश्न।

लेखकका छोराछोरी जसले स्वदेशमा रहँदा कुनै साहित्य सिर्जना गरेका हम्मेसी भेटिन्नन्, उनीहरू विदेशमा उच्च शिक्षाको अध्ययनार्थ गइसकेपछि मुस्किलले स्वदेश फर्किएका छन्। त्यसरी विदेश प्रवेश गरिसकेपछि नेपाल फर्केर आउनेलाई 'मूर्ख'को संज्ञा दिनु सामान्य हुन पुगेको छ। अब यस्तोमा साहित्य–लेखनको कुरो त झन् कहाँ हो कहाँ!

प्रश्न उठ्नु स्वाभाविक छ, 'राम्रा साहित्य लेख्ने डाक्टरसाब्हरूका सन्तानले चाहिँ किन लेख्दैनन् साहित्य? के तिनका शरीरमा बग्ने रगतमा आफ्ना अग्रजको जस्तो ऊर्जा नभएकै हो?'

'उच्च शिक्षा हासिल गर्ने उद्देश्य बोकेर विदेश गएपछि सम्भवतः नेपालीका छोराछोरी नेपाल फर्कंदैनन्। भनौँ फर्कन मान्दैनन्।' डा. दुर्गाप्रसाद भण्डारीको यत्ति सानो कथनले नै संकेत गर्छ कि विदेशमा उच्च शिक्षा हासिल गरेअनुरूप तिनले स्वदेशमा स्थान पाउँदैनन्। यस्तोमा, स्वदेशभित्रै प्राप्त गरेको शिक्षाको त झन् के अर्थ मानिन्छ र? यही स्थितिलाई हेरेर नेपाली लेखकहरूले आफ्नो 'ट्यालेन्ट' अनुसारको सम्मान नपाइएको महसुस गरिराखेको अवस्थामा आफ्ना सन्तानले पनि उही पीडा भोग्नु नपरोस् भन्ने दृष्टिले नै साहित्यिक बाटोमा तिनलाई लाग्न प्रेरित नगरेको हुन सक्छ।

तर, यहाँनिर फेरि आशंका उठ्छ, 'कदाचित् आफ्नो अग्रजको रगतबाट स्वतः प्राप्त योग्यता पछिल्ला सन्तानमा रहँदारहँदै त्यो कतै कुण्ठित भइरहेको त छैन?'

त्यसो हो भने यसको दोष कसलाई दिने त?

'आजका पिँढी, खास गरेर झन् लेखकका परिवारले त साहित्यप्रति रूचि नै राख्दैनन्।' प्रायः साहित्यनुरागीहरूकै मत यस्तो छ। यस्तो मतलाई अलिकति ध्यान दिएर हेर्ने हो भने सहमत हुनुपर्ने निकै ठूलो ठाउँ भेटिन्छ। किनकि, यो देखासिकीको युग हो। आफ्नो उमेरको या आफूसमानका मान्छे प्रशस्त धनसम्पत्तिका साथ निजी मोटरगाडीमा गुडेर उच्चस्तरको जीवनयापन गरिरहेको देखेर अर्को यस्तै व्यक्तिलाई हीनताबोध हुनु मानवीय स्वभाव नै हो। संयोगले त्यो स्वभाव लेखकका छोराछोरीमा पनि भेटिनुलाई आश्चर्य मान्न सकिन्न। किनकि, महँगा शिक्षालयहरूमा मेडिकल डाक्टरका छोराछोरी पढ्छन्, इन्जिनियरका छोराछोरी पढ्छन्, उपल्लो दर्जाका प्रहरी/सेनाका छोराछोरी पढ्छन्, अधिकृत लेबलका प्रशासकका छोराछोरी पढ्छन्, व्यापारी/उद्योगीका छोराछोरी पढ्छन्, मन्त्री–सांसदका छोराछोरी पढ्छन्। तर, सामान्यतयाः लेखकको घर वा डेरामा हुने भनेको सम्पत्ति केवल किताब र पत्रपत्रिकाहरू मात्रै हुन्।

'के किताबले पेटको भोक निर्मुल गर्छ? या देखिएका सुनौला सपनाहरू वा सुसुप्त इच्छा–आकांक्षा किताबका पन्नाहरूले पूरा गरिदिन्छन्?' हरेक लेखकका परिवारभित्र प्रत्येक सदस्यहरूबीच अप्रत्यक्ष रूपमा उठ्नेे खुल्ला प्रश्न हुन् यी। यसै कारणले पनि हुन सक्छ साहित्यमा विशेषज्ञता हासिल गरेका अधिकांशतः साहित्यकारका सन्तान लेखनप्रति उत्प्रेरित छैनन्। आफ्नो घरमा थुप्रिएका किताबका डंगुर देखेरै उनीहरूलाई साहित्य 'अपच' भइसकेको हुन सक्छ। तिनले आफ्ना माता–पिता/अग्रजले लेखेका रचना पनि पढ्ने चाहना राख्दैनन्।

के, साँच्चै वास्तविकता यही नै हो?

यदि यही नै हो भने डा. तारानाथ शर्मा, डा. भण्डारी, डा. बासुदेव त्रिपाठी, डा. वानिरा गिरि, डा. रामदयाल राकेशजस्ता साहित्यिक विशेषज्ञ मात्रै होइन आफ्नो विधामा सर्वथा लोकप्रिय रत्नशमशेर थापा, हेम हमाल, द्वारिका श्रेष्ठ, मदन रेग्मी, पुष्कर लोहनी, भुवन ढुंगाना, परशु प्रधान, शैलेन्द्र साकार, राजवजस्ता अघिल्ला पुस्ताका कसैका पनि सन्ततिको नाम साहित्यको क्षेत्रमा देख्न/सुन्न नपाइने यो स्थितिलाई कुनै प्रकारको विडम्बना नमाने हुन्छ।

अर्कोतर्फ, लेखकका छोराछोरी जसले स्वदेशमा रहँदा कुनै साहित्य सिर्जना गरेका हम्मेसी भेटिन्नन्, उनीहरू विदेशमा उच्च शिक्षाको अध्ययनार्थ गइसकेपछि मुस्किलले स्वदेश फर्किएका छन्। त्यसरी विदेश प्रवेश गरिसकेपछि नेपाल फर्केर आउनेलाई 'मूर्ख'को संज्ञा दिनु सामान्य हुन पुगेको छ। अब यस्तोमा साहित्य–लेखनको कुरो त झन् कहाँ हो कहाँ!

'यस्तो किन?'

भनिन्छ, 'पढिसकेर त्यहीँ कमाउन लागेपछि साहित्य सिर्जनाजस्तो अनुत्पादक काम गर्न किन पो स्वदेश फर्किरहने? त्यसै पनि, विकासोन्मुख देशहरूमा साहित्य भन्ने विषय अनुत्पादक मानिने मात्रै होइन, अपहेलित नै छ। यसकारण पनि, लेखकका सन्तान होऊन् वा अन्य जोकोही होऊन्, विदेश खास गरेर अमेरिका र अस्ट्रेलिया प्रवेश गरिसकेपछि कोही पनि फर्किंदैनन्। कदाचित् फर्किहाले पनि त्यो फर्काइ अस्थायी हुन्छ। निश्चय पनि त्यहाँको कमाइ नै तिनको आकर्षण हो।' 

तर, यसखालको विश्लेषणलाई त्यति सही मान्न सकिन्न। किनकि, नेपालका राम्रा साहित्य लेख्ने जो–जति साहित्यकार छन् र जानकारीमा रहेमुताविक तिनका सन्तति जो विदेशमा उच्च शिक्षा हासिल गरिसकेपछि पनि आर्थिक उपार्जनका निम्ति उतै बसेका छन्, तिनको आर्थिक स्थिति स्वदेशमा नाजुक छैन, बलियो नै छ। यस्तो स्थितिमा उनीहरू आर्थिक अभावका कारण विदेशबाट नफर्केका भन्ने तर्क युक्तिसंगत देखिन्न।

'त्यसो भए वास्तविकता के हो?'

केही वर्ष अघिदेखि सपरिवार अमेरिका बस्दै आएका युवाकवि लालगोपाल सुवेदीको मत छ– 'हाम्रो देशमा प्रतिभा–शोषण चरम छ। राजनीतिक क्षेत्रको भन्दा पनि बढी गुट–उपगुट धेरै छ साहित्यिक क्षेत्रमा। यही 'ग्रुपिज्म'अन्तर्गत, सम्भावना लिएर उदाउँदै गरेकाहरूलाई उज्यालो छर्न नपाउँदै तथाकथित 'वाद', 'जात' या 'वर्ग' भित्र हुलेर तिनको सम्पूर्ण सम्भावनालाई नष्ट गरिन्छ। यस्तो अवस्था देख्दादेख्दै हामीले आफ्ना छोराछोरीलाई त्यस्तो क्षेत्रमा प्रवेश गराएर तिनको भविष्यमाथि किन खेलबाड गर्ने?'

यसै सन्दर्भमा कवि हेम हमालको धारणा छ– 'आजको यो ग्लोबलाइजेसनको युगमा संसारका सबै मान्छेसँग आआफ्नो अधिकार सुरक्षित छ। आफ्नो कर्तव्य के हो भन्नेमा पनि सबै सुसूचित छन्। तसर्थ, लेखकको सन्तान लेखक नै हुनुपर्छ भन्ने मान्यताबाट जसरी म पृथक् छु त्यसरी नै लेखकका सन्तान पनि लेखक नै बन्नुपर्ने वा हुनुपर्ने बाध्यताबाट मुक्त छन्।'

कवि हमालको यो दृष्टिकोणबाट हेर्ने हो भने अब साँच्चै नै मान्नुपर्छ कि कसैले पनि साहित्यको क्षेत्रमा मात्रै होइन, अन्य प्रकारका कुनै पनि आफ्नो पुर्ख्यौली धन्दामै अलमलिइरहन आवश्यक छैन।

वास्तवमा आजको युग राजाको छोरा राजा नै हुनुपर्ने (हुन पाउने) युग होइन। यस अर्थमा, अघिल्लो पुस्ताको पेशाको सिलसिला पछिल्लो पुस्तासम्मै कायम रहिरहनुपर्छ भन्ने नियम संविधानको कुनै धारा–उपधारामा उल्लेख छैन। यस दृष्टिले हेर्दा न त जुत्ता सिलाउनेका सन्तानले जुत्तै सिलाउनुपर्ने पेशा अँगाल्नुपर्ने स्थिति छ न त कपडा सिलाउने बाबुका छोराछोरीले कपडै सिलाउने पेशा अपनाउन बाध्य छन्! अथवा न आरनमा काम गर्नेका सन्तानले आरनबाट उठेर हिँड्न नपाउने भन्ने कुनै निरंकुश निर्देशन आजका मान्छेमाथि लादिएको नै छ!

वास्तविकताले यही नै पुष्टि गर्दै गएको छ कि 'जन्मजात जर्नेल' भन्ने वंशानुगत परम्परा पक्कै पनि मेटिँदै गएकै हो। तर, जहाँसम्म 'साहित्य' को सन्दर्भ छ, त्यसमा भने वंश–परम्पराको धार नबस्नु भनेको साहित्यिक क्षेत्रका लागि अवश्य पनि घाटाको विषय हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...