१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

खाँडी कपडामा रङ र बुट्टा भर्दै आस्तिक

काठमाडौं- आस्तिक शेरचन खाँडीका कपडामा फेसनको चमक भर्न व्यस्त छन् अचेल। उनले डिजाइन गरेका खाँडी रेसमका कपडाझैं चम्किला छन्। रङ संयोजन गर्दै ब्राइडल वेयर अर्थात् दुलहीले लगाउने रातो पहिरन झनै सुन्दर बनाउँछन् उनी। उनले तयार पारेका कुर्तासुरुवाल, लेहेंगा, ब्राइडल वेयर, वान पिसलगायत डिजाइन हेर्दा खाँडीजस्ता लाग्दैनन्।

'यहाँ त्यति राम्रो खाँडी पाइँदैन,’ आस्तिक भन्छन्, 'त्यसैले भारतबाट ल्याउँछु।’  डिजाइन गर्ने र बुट्टा भर्ने काम भने उनी नेपालमै गर्छन्। खाँडीसँगै उनी मखमल, बनारसी, चन्देरी, सुती, रेशम र जालिदार कपडाको डिजाइन गर्छन्।

भारतीय बजारमा फेसनका लागि चाहिने आधुनिक प्रविधि भित्रिएको उनले बताए। नेपालमा त्यहाँका जस्तो बजार र प्रविधि नभएको आस्तिकको बुझाइ छ।

उनले फ्रान्समा फेसन डिजाइन पढेका हुन्। 'उताको फेसनमा गुणस्तर बढिसक्यो, नेपालमा त्यो छैन,’ उनले भने, 'उता धेरै रङ र बुट्टा मन पराइँदैन, यताचाहिँ रङ र बुट्टामा जति खेल्न सक्यो, उति मन पराइन्छ।’

उनका अनुसार पहिरनमा हातले बुट्टा भर्ने काम दुई हजार वर्ष पुरानो हो। एउटा सानो र राम्रो बुट्टा भर्न एक साता लाग्न सक्छ।

आस्तिकले फेसन जगत्मा राम्रो काम गर्दै गए पनि उनका बुबालाई भने छोराको पेसामा चित्त बुझेको थिएन। अचेल छोराको प्रशंसा सुन्दा मख्ख पर्छन्, उनका पिता धनबहादुर। 'छोराले लुगा सिलाएको देख्दा म सधैं गाउँका दर्जी सम्झन्थें, अनि यो काम नगर आफ्नै व्यापार सम्हाल भन्थें,' धनबहादुरले भने, 'तर उसको काम देखेपछि विचार बदलिएको छ।'

सधैं हौसला दिने साहित्यकार आमा उषा शेरचन भने छोराको डिजाइनको प्रशंसाले निकै मख्ख छिन्। 'हरेक पाहुनाले तपाईंको छोराको डिजाइन निकै राम्रो लाग्यो भन्दा म दंग पर्छु’, उषाले भनिन्। उनको डिजाइन नेपालका बैंकर अनिल शाह, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठसहितका सेलीब्रेटीले रुचाउँछन्। उनको डिजाइनको कपडा पहिरेर पूर्वमिस नेपाल सृष्टि गत महिना र्‍याम्पमा उत्रिइन्। 

सगरमाथाको प्रथम आरोही एडमन्ड हिलारीकी नातिनी पनि उनको पहिरन नेपालबाटै लैजान्छिन्। आस्तिकले पुल्चोक– ३ नामको बुटिक सञ्चालन गरेका छन्। जहाँ पाँच हजारदेखि डेढ लाख रुपैयाँसम्मका फेसनेबल कपडा तयार हुन्छन्। यस क्षेत्रमा आउनुपहिले लगानी सुनिश्चित गर्नुपर्ने उनको अनुभव छ।

'बाहिरबाट सामान ल्याउँदा न राजस्व छुट पाइन्छ, न त बैंकबाट सहुलियतमा ऋण पाइन्छ,’ आस्तिक गुनासो गर्छन्।

प्रकाशित: २ फाल्गुन २०७३ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App