१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चुरे दोहनमा चोर–पुलिस खेल

चुरे उत्खनन्‌बाट निकालिएका ढुंगा अापूर्ति गरिँदै। तस्विरः मिथिलेश

लहान— चार दिनदेखि जमदह–२ चोरपानेको चुरेक्षेत्रबाट निरन्तर ढुंगा उत्खन्न भैरहेपनि नियन्त्रणकारी निकाय चुपचाप छ। चुरेमै पसेर गैरकानुनी ढुंगा उत्खन्न र निकासी भैरहेको स्थानीयले जानकारी गराउँदा समेत नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेछ।

जिल्ला वन अधिकृत शिलानाथ झाका अनुसार चुरेबाट गैरकानुनी ढुंगा उत्खन्न र निकासी भैरहेको स्वीकार्छन्। भन्छन्, ‘नियन्त्रणका लागि टोली पठाउन सकिएको छैन। चुरेमा गैरकानुनी उत्खन्न नियन्त्रण गर्नु सबैको साझा सरोकार हो वनमात्रैको सरोकार होइन।’

प्रहरी, प्रसाशन र वन तीनवटै निकाय चुरे दोहन नियन्त्रणमा उदासिन भएपछि माफियाको रजाइँ भएको छ। दिन दहाडै वनपैदावारको गैरकानुनी दोहन भैरहँदा पनि जिल्लास्थित नियन्त्रणकारी निकाय मौन छन्।

गैरकानुनी चुरे उत्खनन्प्रति जिल्ला विकास, प्रसाशन, प्रहरी चुपचाप रहेको उनको आरोप छ। ‘वनको एकल प्रयासले मात्र चुरे उत्खन्न नियन्त्रण सम्भव छैन्’, उनले भने। चुरे उत्खन्न गरी प्रहरीको आँखै अगाडिबाट गाडी हुइँकिँदा समेत पक्राउ नगरिएको उनको गुनासो छ। इलाका वन, सेक्टर वन कार्यालयका कर्मचारीहरुबाट पनि प्रयाप्त सहयोग नभएको उनको गुनासो छ।

चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तान भन्छन्,‘चार दिनदेखि चुरेमा व्यापक दोहन भैरहँदा वनले नियन्त्रण टोली नपाउनु शंकास्पद हो। पहिला स्थानीयले खबर गर्दा तरुन्त जिल्लाको टोली आइपुग्थ्यो’ उनले गुनासो पोखे,‘चार दिनदेखि वनको रबैया पनि प्रहरी प्रसाशन जस्तै उदासिन देखिएको छ।’

प्रहरी, प्रसाशन र वन तिनवटै निकाय चुरे दोहन नियन्त्रणमा उदासिन भएपछि माफियाको रजाइँ भएको उनको भनाइ छ। दिन दहाडै वनपैदावारको गैरकानुनी दोहन भैरहँदा पनि जिल्लास्थित नियन्त्रणकारी निकाय मौन बस्नुले शंका पैदा भएको स्थानीय भेष बहादुर ठकुरी बताउँछन्।

जमदहको चुरेक्षेत्रबाट उत्खन्न गरिएको ढुंगा गोलबजार क्षेत्रमा भण्डारण गरी यहाँबाट अन्यत्र आपूर्ति गरिँदै आइएको छ। जिल्लास्थित ढुंगा,गिट्टी, बालुवा व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्ष समेत रहेका कायममुकायम प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठ भन्छन्,‘चुरेबाट भैरहेको ढुंगा उत्खन्न नियन्त्रण गर्नु मेरो काम होइन। यो काम वनको हो हामीले आवश्यक सुरक्षा व्यवस्था मात्र बन्दोबस्त गरिदिने मात्र हो ।’

जिल्ला फेकोफनका अध्यक्ष दिलिप लामा भन्छन्,‘चुरे उत्खन्न नियन्त्रणमा चोर पुलिसको खेल बिडम्बना हो । प्रहरी प्रसाशन मेरो काम होइन भन्छन वनले हामी मात्रबाट नियन्त्रण सम्भव छैन भन्छ ।’ नियन्त्रणकारी निकाय आफ्नो जिम्मेवारी अर्कामाथि थोपर्दै चुरे दोहनलाई मलजल गरिरहेको उनको आरोप छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App