१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

भक्तपुर- वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।

रामशेखर चिरपरिचित कलाकार हुन्। जसलाई अहिले पनि भक्तपुरका गल्लीगल्लीका बच्चाबच्चा पनि चिन्छन्। उनको धेरैमध्ये राजमति चर्चित फिल्म हो। मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) निर्मित '१५ गते' टेलिफिल्ममा रामशेखर शर्मिला मल्लको बुवाको भूमिकामा छन्। साथै चर्चित टेलिचलचित्र लक्ष्मीमा पनि उनको भूमिका छ।

भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित पुर्ख्यौली घर भत्किएपछि उनी बृद्धाश्रममा थिए। प्रहसन, नाटक, कथासंग्रह, उपन्यास लेखिरहने उनको कलम जीवनको अन्तिमसमयसम्म पनि चल्दै थियो। मुलुकमा राणाविरोधी आन्दोलन भित्रभित्रै चलिरहेको बेला विसं १९९४ माघमा भक्तपुरको इनाचोमा उनको जन्म भएको थियो।

उनले नेपाल भाषामा 'भजगोविन्द', 'जनताजनार्दन' लगायत दुई दर्जन जति नाटक लेखेका छन्। 'नसङ्फागु चा' (विहानीले चिरेको रात जुन जापानी भाषामासमेत उल्था गरी प्रकाशित छ), नामक उपन्यास र 'सिमातः फः फः स्व' (रुखहरु मोडिएका छन्) नामक कथासंग्रह उनले लेखेको चर्चित कथासंग्रह हुन्। उनको 'नसङ्फागु चा' ले गंकी–वसुन्धरा पुरस्कार नै पाएको थियो।

उनले नेपाल भाषाको चलचित्र '१२ बजे', 'झोकमनिम्हाः', 'न्हीसुतु' नामक टेलिफिल्मको लेखन तथा निर्देशन पनि गरेका छन्। जुन फिल्मको अहिले पनि भक्तपुरमा वाहवाही चल्छ। उनले 'धिन्ताल' जस्ता तीन दर्जन प्रहसन (ख्याल)हरू लेखेका छन्। 'राजमती' को पटकथा भने खोजी अनुसन्धानका साथ कवि दुर्गालाल श्रेष्ठसँग मिलेर लेखेका थिए उनले। ८० वर्षीय उनका दुई श्रीमती, चार छोरा र चार छोरी छन्। दुवै श्रीमतीको अगाडि नै निधन भइसकको छ।

प्रकाशित: १६ फाल्गुन २०७३ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App