१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद बैठकमा सांसदहरूले के के भने ?

काठमाडौँ व्यवस्थापिकासंसद्को आजको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्याहिंसाका घटना बढेको बताए।

सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए। सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न सरकारसँग माग गरे। सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरोन्नतिका निम्ति ध्यानाकर्षण गराए।

सांसद गौरीशङ्कर चौधरीले मुक्तकमैयाको पुनःस्थापना पूर्णरुपमा नभएको र पुनःस्थापना भएकाले पनि जग्गाधनी प्रमाणपत्र नपाएको गुनासो गरे। नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा सार्वजनिक बिदाका दिन पनि कर्मचारीको व्यवस्था हुनुपर्ने माग गरे।

सांसद जमिन्द्रमान घलेले शून्य समय र विशेष समयमा उठाइएका विषय राज्यबाट सम्बोधन हुने व्यवस्थाका लागि सभामुखबाट विशेष प्रयास हुनुपर्नेमा जोड दिए। सांसद चूडामणि विकले पोखराका जनताले स्वच्छ पेयजल नपाएकाले ध्यान दिइनुपर्ने बताए। सांसद जेबी टुहुरेले संसद्को आफ्नै भवन कहिले निर्माण हुन्छ त्यसको जवाफ तत्काल राज्यले दिनुपर्ने माग गरे। सांसद टीकाराम चेम्जोङले धनकुटा जिल्ला अस्पतालको स्तरवृद्धि नहुँदा धनकुटावासीले सहज रुपमा स्वास्थ्यसेवा प्राप्त गर्न नसकेको बताए।

सांसद डिल्ली काफ्लेले उमावि शिक्षालाई निःशुल्क गर्न माग गरे। सांसद तुलसा रानाले बिजुलीको महसुल बढाएर जनताको ढाड सेक्न पाइँदैन भने।

त्यसअघि बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर आन्दोलनरत मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातावरण बनाउने चेष्टा सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनःलेखनको माग गरिन्। 

सङ्घीय गठबन्धनका २६ बुँदे माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिँदै उनले आजको बैठकको कारबाही गठबन्धन सम्बद्ध आठ दलले बहिष्कार गर्ने बताइन्। उनको घोषणासँगै गठबन्धनमा आबद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए। रासस

प्रकाशित: २५ असार २०७३ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App