१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एक 'बौद्धिक बेइमान'को इमानदारी

सुरेश प्राञ्जली

मृत्युपश्चात् जोकोही व्यक्तिको जीवनको मूल्य पनि ह्वात्तै बढ्न पुग्छ, जसरी शंकर लामिछानेको बढ्यो। सायद उनको मूल्य नबढ्दो हो त, आजसम्म पनि उनका राम्रा पक्षको खोजी पक्कै हुने थिएन। उनले जुन तहको साहित्यिक योगदान गरेका छन्, त्यसको कदर गर्नैपर्ने हुन्छ। त्यो आजको नेपाली साहित्यको ऐतिहासिक मूल्य हो। जसको अवमूल्यन गरेर लेखन अगाडि बढ्न नसक्ला!

०००

एक अन्तर्वार्तामा शंकरपत्नी रत्नाले भनेकी थिइन्, 'उहाँ कतिसम्म इमानदार हुनुहुन्थ्यो भने टिनेज छोराछोरीका नाममा आएका चिठी कहिल्यै खोलेर हेर्नुभएन, चिठी जसको नामको हो, उसले मात्रै हेर्ने भन्नुहुन्थ्यो।'

त्यसो त, नेपाली साहित्य लेखनमा बौद्धिक बेइमानीबारे मसिना घटना त बेलाबेला भएका छन्, भइरहेका छन्। कुनै बेला सनसनी मच्चाएर आजसम्म 'तातेकै अवस्थामा रहेको' 'प्लेजरिजम्' को घटना पनि शंकर लामिछानेकै नाममा दर्ता छ। उक्त बौद्धिक बेइमानीको घटना माइकल कर्बीको लेखसँग सम्बन्धित छ। जुन आजसम्म सबैको चासोको विषय बनेको छ। २१औं शताब्दीमा स्टेफ एम्ब्रोजजस्ता चर्चित इतिहासकार तथा बायोग्राफर पनि यसखाले हर्कतमा मुछिएका छन्। लामिछानेको समयको बौद्धिक बेइमानीबारेको चेत भने आजका पाठक तथा लेखकमा 'भए जति तिखो' थिएन होला। तैपनि, उनको बदमासी भनिएको हर्कतले भने पक्राउ खाएको थियो। हुन त शंकर लामिछानेले स्विकारेका पनि छन्, एक लेखकमा रूपमा नभए पनि उनी एक व्यक्तिका रुपमा इमानदार थिए।

यसै प्रसंगको एक अन्तर्वार्तामा शंकरपत्नी रत्ना लामिछानेले भनेकी थिइन्, 'उहाँ कतिसम्म इमानदार हुनुहुन्थ्यो भने टिनेज छोराछोरीका नाममा आएका चिठी कहिल्यै खोलेर हेर्नुभएन, चिठी जसको नामको हो, उसले मात्रै हेर्ने भन्नुहुन्थ्यो।'

शंकर लामिछानेलाई लागेको साहित्यिक चोरी आरोप सम्बन्धमा गरिएको एक सवालमा भनेकी थिइन्, 'शंकरलाई च्यालेन्ज गर्ने मान्छे बाहिर आउनुपर्छ। अगाडि आउन सक्नुपर्छ। आलोचना भनेको त जहिले पनि ओपन हुनुपर्छ।' हुन त रत्नाले भने जसरी त्यो ओपन हुन सकेको छैन। आखिर कुमुदिनी को हुन् त? धेरैका धेरै अड्कल मात्रै छन् तर खास ठम्याइ आजसम्म भएको छैन। न त 'कुमुदिनी मै हुँ' भनेर सप्रमाण कोही व्यक्ति सार्वजनिक नै भएको छ।

०००

नेपाली साहित्य लेखन खासगरी निबन्ध लेखनको अध्याय केलाउने हो भने शंकर लामिछाने त्यस्ता व्यक्ति हुन्, जो आत्मपरक शैलीका निबन्धमा आफूलाई अब्बल रूपमा उभ्याउन सफल भए र उक्त शैलीमार्फत उनी आफ्नो समयमा तहल्का मच्चाउन पनि सफल भए। निबन्धकार शंकरको खास गुण भनेकै उनीमा भएको 'इमानदारिता' हो। माइकल कर्बीको लेखमा आधारित 'आभा गार्देको सौन्दर्यशास्त्र' नामक लेखउपर बौद्धिक बेइमानीको आरोप कुमुदिनी 'नामकी' पाठकले लगाएपछि शंकर लामिछानेको लेखकीय जीवन कोमामा गएको थियो।

मानिसको मृत्युपश्चात् उसका असल गुणलाई अघि सारिन्छ, टिठाइन्छ। उसका खराब कार्य वा आचरण स्वतः ओझेलिन्छन्। समाजको अभ्यास यही नै हो। लामिछानेको हकमा भने 'साहित्यिक बेइमानी' पनि उनका अब्बल कामसँगै गाँसिएर आउने गरेका छन्। त्यसो त उनीसँग भएको लेखकीय नैतिकताकै कारण आफूमाथि लागेको 'प्लेजियरिजम्'को आरोप स्विकारे।

खासमा कुमुदिनी पक्ष भने छिपेको छिपै छ। शंकर लामिछानेको वैचारिक धरातल नै धर्मराउने गरी उनको खरो कलममा ठेस लाग्ने गरी छापिएको कुमुदिनीको आरोप पत्रको जवाफमा लामिछानेले लेखेका थिए, 'शंकर लामिछाने स्वयंलाई लेखक ठान्दैन। यस पाँच वर्षभित्र उसले चार–पा“चवटा विश्वका महान् इतिहास र लेखनशैली समेत चोरेको छ। यो उसले गर्न परेको कारण हो– उसको जागिर थिएन र उसलाई बाँच्नु थियो। तपाईंले एउटा मात्र पाउनुभयो, बा“च्नका निमित्त मैले त त्यस्ता पा“च–छ बदमासी गरेको छु। ...म सायद साहित्यिक क्षेत्रबाट संन्यास लि“दै छु र अब म लेख्ने पनि छैन...।'

यो चिठीको मूल्य ऊ बेला सम्भवतः थोरै थियो। सामयिक व्याख्यानले यसको मूल्य पक्कै अभिवृद्धि गराउनेछ, जसरी गराएको छ।

शंकर लामिछाने आफूलाई लेखक नठाने पनि आजका नेपाली पाठकले उनलाई नेपाली चेस्तोभ, जेस्पर मात्रै होइन, नेपाली अल्बेयर कामु र सोरेन किर्केगार्ड देख्छन्। यी दार्शनिकका दर्शनको राम्रो प्रभाव शंकर लामिछानेमा देखिन्छ पनि। उनी 'भर्सटायल' लेखक थिए। किनभने धेरै विधामा फरकफरक कोणबाट उनको कलम चल्यो। बौदीलार्द र लियोटार्डद्वारा अभ्यास गरिएको शैली र सीपको अभ्यास थोरबहुत लामिछानेले पनि अभ्यास नगरेका होइनन्, त्यसकारण नेपाली साहित्यको उन्नयन र त्यसलाई बहुआयामिक तुल्याउनुसँग बढी सम्बन्धित देखिन्छ। उनले निबन्ध लेखनमा नयाँ तरिकाको थालनी गर्न सके। नयाँ शैलीको विकास गर्न सके। जसकारण पाठकलाई उनको लेखाइले आकर्षित गर्‍यो।

पारिजातको उपन्यास 'शिरीषको फूल'बाहेक पिटर जे कार्थकको उपन्यास 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे'मा भूमिका लेखेका छन्, लामिछानेले। कार्थक उक्त भूमिका लेखनको समय सम्झन्छन्, 'मैले पाण्डुलिपि देखाएँ। शंकरदाइले सरसर्ती हेर्नुभो र भन्नुभयो– अच्छा पिटरभाइ, तिमीले लेख्न त लेखेछौ। म यसलाई हेर्छु। म अहिले नै भन्देको छु कि यो लैनसिंह वाङ्देल, बालकृष्ण सम, माधवप्रसाद घिमिरेले जस्तै तीन वाक्य लेख्नेवाला छैन। उपन्यासमा केही छ भन्ने लाग्यो भने म भूमिका जमेर लेखिदिन्छु, नत्र भने म भूमिका लेख्दिनँ। पिटर भाइ, डोन्ट माइन्ड।'

पटकपटकको पुनर्लेखन तथा परिमार्जनले लेखनलाई प्रभावशाली तुल्याउने उपागम ठान्थे, लामिछाने। कार्थक पनि उक्त पक्षलाई जोड दिन्छन्। भन्छन्, 'शंकरदाइले भन्नुभएको थियो– तिमीले यसलाई (पाण्डुलिपि) पुनर्लेखन गर, जतिपटक पुनर्लेखन गर्छौ, त्यति नै पटक म हेर्दिन्छु। आइ एम गेम विथ यु। तिमी पाँचपटक पुनर्लेखन गर, म पाँचैपटक हेर्दिन्छु।'

त्यसो त मध्यम वर्गीय एक जिउस परिवारमा हुर्किएका तथा बोहेमियन साहित्यमा तहल्का मच्चाएका लेखक फ्रान्ज काफ्काको दर्शनको छहारीमा पनि लामिछाने पक्कै बसेका छन्। त्यो छनक आजका पाठकले उनको लेखनीबाट पाउँछ।

०००

पत्नी रत्नाका अनुसार एकदम रमाइलो गर्न रुचाउने खुला स्वभावका व्यक्ति थिए, शंकर। प्रगतिशील पनि थिए, धेरथोर। एउटा आफैमा कठोर ढर्राको समयमा पनि अन्तर्जातीय विवाह गरेका थिए, उनै रत्ना राईसँग उनले। नरम स्वभाव थियो। बच्चाबच्ची जन्मेपछि उनीहरूको गृहकार्य पनि उनैले गराइदिन्थे। जहिले पनि रत्नालाई घरमा लेख्न प्रेरित गरिरहन्थे। गोरखापत्रले प्रतिलेख ३५ रुपैयाँ दिने बेला लामिछानेको लेख्ने बेला थियो। २००८ सालमा रत्ना नेपाल–भारत छात्र सम्मेलनको मेम्बर भएर दार्जीलिङबाट काठमाडौं आएका बेला रत्ना र शंकरको चिनजान भएको थियो। पछि त्यही चिनजान नै वैवाहिक जीवनमा परिणत भयो। बिहे हुँदा रत्ना जम्मा १८ मा कुद्दै थिइन्। शंकर माछा खुबै मन पराउँथे। अझ रत्नाले बनाएको माछामा विशेष चाख थियो। शंकर फलफूलमा चाहिँ आँप खुबै मन पराउँथे, आँप पाइने सिजनमा त बेलुकीको खानामा धेरैजसो आँप छुट्दैनथ्यो। लामिछानेको पारिवारिक जीवनको पाटो भने खासै एकनासे रहेन। विविध आरोहअवरोह आइरहे। परिवारप्रतिको जिम्मेवारीबाट भने उनले कहिल्यै हात झिकेनन्।

०००

शंकर लामिछानेले बाँचेको युगको समाप्ति भइसकेको छ। निबन्ध लेखनको आधुनिक शैली पच्छाएका शंकर लामिछानेले खासगरी नेपाली निबन्ध साहित्यको आधार निर्माण गर्नमा निर्णायक भूमिका खेलेका छन्। लामिछाने नेपाली निबन्धमा 'स्ट्रिम अफ कन्सिअसनेस' शैलीलाई स्थापित गराउन भ्याए। विश्व साहित्यको क्षेत्रमा लेखक जेम्स जोयसले किताब 'युलिसिस' लेखेर यस शैलीलाई स्थापित गराउने पहल थालेका थिए। लामिछानेले पनि 'एब्स्ट्रयाक्ट चिन्तन :  प्याज'मार्फत यो शैलीलाई पाठकसित परिचित गराए।

उनका निबन्धले नेपालको भूगोल पर गएर पहिचान खोजेका छन् भनेर कतिपय जानकार टिप्पणी गर्ने गर्छन्। १९८४ चैतमा यस धर्तीमा ओर्लिएका लामिछानेको मेनेन्जाइटिसका कारण ०३२ माघ १० मा निधन भयो। उनको निधन रक्सीकै कारणले भएको टिप्पणी गर्ने गरिन्छ। रक्सीका कारण उनको मृत्यु नभएको ठोकुवा पिटर जे कार्थक गर्छन्। उनै कार्थक भन्छन्, 'गत जेठ २५ मा यस धर्तीबाट बिदा भएका अम्बर गुरुङले खाएजति रक्सी शंकर लामिछानेले कहिल्यै पनि खाएनन्, खानै सकेनन्। किनभने उनी जँड्याहा थिएनन्, थिँदै थिएनन्।'

प्रकाशित: ५ चैत्र २०७३ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App