१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डलर तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्म

काठमाडौं- गेरु वस्त्र लगाएकी भिक्षुणी र सेतो वस्त्रमा रहेका उनका तीन चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँचस्थल आइपुगे। धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्यान्ड फर्कंदै थिए। प्रहरीले अन्य यात्रुलाई झैं चारै जनामाथि सामान्य जाँच सुरु गर्‍यो।

एक्स–रे मेसिनले उनीहरुको ब्यागमा नोट देखायो। प्रहरीले सबै नोट बाहिर निकाल्न लगाएर गन्यो। २ लाख ८६ हजार अमेरिकी डलर (२ करोड ९१ लाख रुपैयाँ), २ लाख ७३ हजार भारतीय रुपैयाँ (४ लाख ३४ हजार रुपैयाँ) र ४६ हजार ८ सय भाट (१ लाख ३९ हजार रुपैयाँ) रहेछ।

पछिल्ला दिन हवाई मात्र होइन, स्थलमार्गबाट समेत डलर तस्करीको सञ्जाल मौलँदो छ।

कानुनअनुसार ५ हजार अमेरिकी डलरबराबर विदेशी मुद्रा मात्र बोकेर अन्य मुलुकतिर जान पाइन्छ। यही आधारमा उनीहरुको साथमा फेला परेको रकम अवैध थियो। तोकिएको भन्दा बढी रकम बोक्नु कानुनअनुसार दण्डनीय हुने र तस्करी ऐनअनुसार कारबाही हुने भएपछि विमानस्थल सुरक्षा गार्डका प्रहरीले चारै जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझाइदियो।

विमानस्थलका डिआइजी पञ्कज श्रेष्ठका अनुसार उनीहरुबाट बरामद रकम भारतको बोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा उठाएको दाबी गरेका थिए।

५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आफूसँगै लैजान नपाउने नेपालको कानुनबारे आफूहरुलाई जानकारी नभएको पनि दाबी थियो उनीहरुको।

'नोटसहित पक्राउ परेकाहरुको दाबी विश्वसनीय देखिएन', डिआइजी श्रेष्ठले भने, 'उनीहरुको साथबाट फेला परेको रकम र त्यसको स्रोतबारे अनुसन्धान गरिरहेका छौं।'

विमानस्थलमा अवैध विदेशी मुद्रा बरामद हुने यो नौलो घटना भने होइन। गत शनिबार मात्रै ३८ हजार ९ सय अमेरिकी डलरसहित नेपालीमूलकी हङकङकी नागरिक पेम्बा लामा पक्राउ परेकी थिइन्। हङकङ जान विमानस्थल पुगेकी उनले ह्यान्डक्यारीमा किताबका बीच अमेरिकी डलर लुकाएर राखेकी थिइन्।

हवाईमार्गबाट मात्र होइन, विदेशी मुद्रा तस्करीका लागि सडकमार्ग प्रयोगसमेत बढ्दो क्रममा देखिन्छ। स्थलमार्गबाट हुने अधिकांश तस्करीको गन्तव्य चीन देखिन्छ भने हवाइमार्गको दुबई।

गत माघ १ गते महानगरीय प्रहरी अपराध महाशाखाले बा१य १२३२ नम्बरको पर्यटक गाडीमा स्थलमार्ग हुँदै चीन हिँडेका तीन चिनियाँ र एक नेपालीलाई पक्राउ गर्‍यो। उनीहरुका सुटकेसमा २ लाख ७४ हजार अमेरिकी, एक लाख २८ हजार युरोसहित ४ करोड ७१ लाख नेपाली रुपैंयाँबराबरको विदेशी मु›ा फेला पर्‍यो। चिनियाँ नागरिक चाङ तोङ फाङ, चौ सुलियन, चाउ लियाङ फङ र नेपाली चालक त्यहाँ पक्राउ परेका थिए।

प्रहरी अनुसन्धानले उक्त रकम काठमाडौंबाट केरुङ हुँदै चीन लैजाने प्रयास भएको खुलायो। सुटकेसमा फल्सबटम बनाएर राखिएको डलरसहित समातिएका उनीहरुलाई प्रहरीले संगठित अपराधको अभियोगमा दुई महिनासम्म अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरुले सुरुमा समातिएको डलर व्यापारिक भएको दाबी गरे। प्रहरीलाई बयान दिँदा उनीहरुले 'व्यापारबापतको नेपाली रुपैंयाँ क्यासिनोमा गएर विदेशी मुद्रा साटेको' बताए पनि क्रसचेक गर्दा क्यासिनोको लगबुकमा विवरण फेला परेन।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार डलर संकलनका लागि चिनियाँ नागरिकले ठमेललगायत क्षेत्रमा एजेन्ट नै खटाउने गरेका छन्। ती एजेन्टले सानो–सानो परिमाणमा डलर संकलन गरेर उनीहरुलाई दिएपछि स्थलमार्गबाट तस्करी गरी चीन पुर्‍याइन्छ।

'नेपालमा मात्र होइन, अन्य देशमा पनि चिनियाँले अवैध रुपमा डलरलगायत विदेशी मुद्रा संकलन गरी अवैध रुपमा आफ्नो देश लैजाने गरेको देखिन्छ', अनुसन्धानमा संलग्न ती अधिकारीले भने, 'उनीहरुको गतिविधि निकै रहस्यमय देखिन्छ।'

शनिबार पक्राउ परेकी शेर्पाले समेत डलरको स्रोत खुलाउन सकिनन्। प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका चार भिक्षुणीले दाबी गरेको विदेशी मुद्राको स्रोतसमेत विश्वसनीय  देखिन्न।

बरामद विदेशी मुद्रा ठमेल, दरबारमार्ग र सुन्धारा क्षेत्रका मनी चेन्जरबाट महँगो दरमा सटही हुने गरेको खुल्ने गरे पनि अवैध रुपमा विदेशी मुद्रा सटही गर्ने मनी चेन्जर कारबाहीमा तानिने गरेका छैनन्।

'पक्राउ परेकाले डलर कहाँबाट ल्याएको हो, बयानमा खुलाउँदैनन्', महाशाखाका एक अधिकारीले भने, 'केही मनी चेन्जर निगरानीमा छन् तर प्रमाण नपुग्दा कारबाही दायरामा ल्याउन सकिएको छैन।'

सहजै निस्कन्छ धरौटी

करिब ५ करोड रुपैयाँबराबरको विदेशी मुद्राको स्रोत खुल्न नसके पनि नेपाली चालकसहित तीन चिनियाँमाथि प्रहरीले संगठित रुपमा विदेशी मुद्रा तस्करीमा संलग्न निष्कर्ष निकाल्यो। जिल्ला न्यायाधिवक्ताको कार्यालय, काठमाडौंले सोहीअनुसारको अभियोगपत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता गरे पनि चारै जना सहजै धरौटी बुझाएर मुक्त भए।

शनिबार पक्राउ परेकी शेर्पालाई विमानस्थल प्रहरीले आइतबार राजस्व विभागमा बुझायो। आइतबारै उनी बरामद डलरबराबरको धरौटी बुझाएर मुक्त भइन्। यसअगाडिका अवैध विदेशी मुद्राको मुद्दामा पनि पक्राउ अभियुक्त सहजै धरौटीमा मुक्त हुँदै आएका छन्।

गत असारमा डलर तस्करीमै पक्राउ परेका विमानस्थलका कर्मचारी भरत सञ्जेलसमेत ८ लाख धरौटी बुझाएर मुक्त भएका थिए।

जानकार अधिकारीका अनुसार राजस्व अनुसन्धान विभागले तस्करीलाई समेत राजस्व छलीसँग जोडेर मुद्दा प्रक्रिया अगाडि बढाउने र राजस्व छलीमा बरामद सामग्रीबराबरको धरौटी माग्ने प्रावधान रहेकाले पक्राउ अभियुक्त सहजै धरौटीमा छुट्छन्।

तस्करीमा सुन–डलरको सम्बन्ध

प्रहरी अनुसन्धानमा विदेशी मुद्रा तस्करीको 'कनेक्सन' सुन–वन्यजन्तुको अंग र लागूऔषध तस्करीसँग जोडिने गरेको छ। पछिल्लो समय बरामद अधिकांश तस्करीको डलरको सम्बन्ध सुनसँग जोडिन्छ।

माघ १ मा महानगरीय प्रहरी वृत्त, बालाजुको टोलीलेे बिहान साढे १ बजे चःमतीमा गोसाइँकुण्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा–काठमाडौं चल्ने टाटासुमोको इन्जिनको ब्याट्री राख्ने ठाउँमा १५ किलो सुन फेला पारेको थियो।

भक्तपुरको पाटन हिँडेको सुमो र अर्का एक व्यक्ति थानकोटमै ओर्लिएको खुल्यो। प्रहरीले चालक रवीन्› भुजेललाई पक्राउ गरेर फरार रहेकाहरुको नाम खुलाएर संगठित अपराधमा अनुसन्धान अगाडि बढायो। अनुसन्धान अधिकारीका अनुसार सो सुन तस्करीमा कुमार राना मगर, निरञ्जन थापा र होमबहादुर थापासमेत संलग्न रहेको खुल्यो तर यी तीन जनामध्ये सुन कसको हो खुलेन।

सुन तस्करीका लागि आवश्यक विदेशी मुद्रा तेस्रो देश पुर्‍याउन नेपालबाट अमेरिकी डलर तस्करी हुने गरेको यसअगाडिका अधिकांश अनुसन्धानमा खुलेको थियो। वैध रुपमा ५ हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा मात्रै बोक्न पाउने कानुन रहेकाले तस्करीको सुनबापतको रकम भुक्तानीका लागि तस्कर समूहले नेपालबाट विदेशी मुद्रा तस्करी गरेर चीन र दुबई पुर्‍याउने र उताबाट सुन ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको २०६८ को अनुसन्धानमा खुलेको थियो।

५ करोड नेपाली रुपैयाँसहित केरुङ हिँडेका तीन चिनियाँ र एक नेपाली पक्राउ परेकै दिन महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रहरीले केरुङ हुँदै तस्करी भएर काठमाडौं आइपुगेको थियो।

डलरसहित पक्राउ परेका चिनियाँ नागरिक र नेपाली सहयोगीबारे जानकारी दिन महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालिन प्रमुख एसएसपी सर्वेन्द्र खनालले'डलरको सम्बन्ध सुन तस्करीसँग हुनसक्ने' बताएका थिए। तर अनुसन्धानको निचोडमा त्यसको पुष्टि हुन सकेन।

'विदेशी मुद्रा तस्करीको सम्बन्ध सुन तस्करीसँगै देखिन्छ', अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, 'केही घटनामा यसको पुष्टिसमेत भएका छन्।'

प्रहरीदेखि भन्सार कर्मचारीसम्म संलग्न

२०६९ असोजमा सुन तस्करीका लागि दुबई लैजान एक करोड ५४ लाखबराबरको विदेशी मुद्रासहित विमानभित्रै पुगेको घटना अनुसन्धानमा सुन तस्कर र प्रहरीको सेटिङमा मुद्रा तस्करी भएको खुलेपछि विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको जागिरै गएको थियो।

घटना अनुसन्धानमा ब्युरोले ट्राभल्स एजेन्सीदेखि सुन कारोबारीसम्मको नाम खुलाएर सुन र डलर तस्करीसँगै हुन्डीसम्मका अनुसन्धानको सिफारिस गरेको थियो।

असार ७ मा टर्मिनलमा क्लिनर्सको काम गर्ने सिन्धुपाल्चोकका सञ्जेल ८ हजार अमेरिकी डलरसहित पक्राउ परेका थिए। अनुसन्धानमा उनले म्यानपावर एजेन्सीसँग मिलेर भिजिट भिसामा कुवेत, कतारलगायतका मुलुकमा जान हिँडेकाबाट उक्त डलर संकलन गरेको खुलेको थियो।

भिजिट भिसामा जान कम्तीमा एक हजार डलर देखाउनुपर्ने प्रावधानका कारण प्रारम्भमा कामदारले अध्यागमनमा पैसा देखाएर सबै सुरक्षा पार गरेपछि सञ्जेल विमानस्थलभित्र गएर डलर संकलन गरेर बाहिर ल्याउने गरेको खुलेको थियो।

प्रकाशित: १२ चैत्र २०७३ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App