१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार गरेर चुनावी खर्च जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: भट्टराई

कोहलपुर (बाँके)-  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको बताएका छन्।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेस थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले नयाँ शक्तिले देखेको विकास र समृद्धिको सपनाको फेहरिस्त प्रस्तुत गर्दै ती सपना कुनै काल्पनिक नभएर योजनामा आधारित भएको बताए।

उनले देशमा पुरानै भ्रष्ट शक्तिहरु हावी भएको टिप्पणी गर्दै अरबौं भ्रष्टाचार गरेर चुनावी खर्चको जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। 'एनसेलको करछली प्रकरणमा ३७ अर्ब लाभकरबाट उन्मुक्ति दिएर सरकारले इतिहासकै सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार गरेको छ,' उनले भने, 'भ्रष्टाचारमा पुराना पार्टीहरुलाई पनि उछिन्दै माओवादी केन्द्र अगाडि आइरहेको छ।'

उनले समृद्ध नेपालको अवधारणा प्रस्तुत गर्दै पहाडी तथा हिमाली क्षेत्रमा पूर्व पश्चिम राजमार्ग, तराईलाई जोड्ने आवश्यक लिंक रोडहरु, फास्ट ट्याक, गाउँपालिकाहरुमा स्तरीय कलेज, बैंकहरु, स्वास्थ्य संस्थाहरु, प्रत्येक प्रदेशमा एक हजार मेगावाटको जलविद्युत परियोजना, ठूला सहर, पर्याप्त बाटोघाटो आदि निर्माण गर्ने सपना सुनाए।

'संसारभरका युवाहरु नेपालमा श्रम गर्न आउने अवस्था सिर्जना गरिनेछ, बालकालिकाहरुलाई उचित शिक्षादीक्षाका लागि उपयुक्त विद्यालयहरु संचालन गर्न चाहन्छौं,' उनले अगाडि थपे, 'वृद्धवृद्धाका लागि निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने, आवास गृहहरुको निर्माण गर्ने, छुवाछुत मुक्त समाज बनाउने, पेशागत सीप भएका दलितहरुका लागि निशुल्क कर्जा प्रवाह, आवासको व्यवस्था गर्ने, तेस्रो लिंगीहरुका लागि बराबरीका अधिकार दिने सपना नयाँ शक्तिले देखेको छ ।'

भट्टराईले आफूले देखेको सपना काल्पनिक नभएको तर्क गर्दै भने, 'यो संभव छ, हामीसँग प्रशस्त प्राकृतिक स्रोत साधनहरु छन्, तिनको उपयोग र जनशक्तिको परिचालन गर्न सकियो भने त्यो संभव छ ।' यी सपनाहरु कार्यान्वयन गर्नका लागि दृढ नेतृत्व आवश्यक भएको बताउँदै उनले नयाँ शक्ति त्यही सोचका साथ अगाडि बढेको बताए।

उनले देशमा पुरानै भ्रष्ट शक्तिहरु हावी भएको टिप्पणी गर्दै अरबौं भ्रष्टाचार गरेर चुनावी खर्चको जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। 'एनसेलको करछली प्रकरणमा ३७ अर्ब लाभकरबाट उन्मुक्ति दिएर सरकारले इतिहासकै सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार गरेको छ,' उनले भने, 'भ्रष्टाचारमा पुराना पार्टीहरुलाई पनि उछिन्दै माओवादी केन्द्र अगाडि आइरहेको छ।'

उनले महाकाली सन्धिको प्रसंग कोट्याउँदै भने, 'बिजुली स्याटलाइटबाट बेच्ने हावादारी कुरा गरेर जनतालाई झुक्याएर महाकाली नदी बेच्नेहरु आज रातारात राष्ट्रवादीको भेष धारण गरेर हिँडिरहेका छन्।' उनले एमालेको राष्ट्रवादलाई हजार मुसा मारेर बिरालो हज गएको उखानसँग तुलना गरे।

 

प्रकाशित: १२ चैत्र २०७३ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App