१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'सिम्पल र प्य्राक्टिकल' जोडी

प्रमोद खरेल र दीपा खरेल

अनिल यादव
प्रेम जोडीहरूका लागि गायक प्रमोद खरेलले थुप्रै गीत गाएका छन्। उनका थुुप्रै गीतले प्रेम अभिव्यक्त गरेका छन्। तर, उनले बिहे चाहिँ प्रेम होइन, मागी बिहे गरे। सात वर्षअघि प्रमोदले दीपा सिटौलासँग लगनगाँठो कसे। दुवैको मूल घर झापा हो। प्रमोद भन्छन्, 'हाम्रो बिहेअघि प्रेम भएन, बिहेपछि भयो। अझै भइरहेको छ। यसमा छुट्टै रमाइलो रैछ।'

प्रमोद र दीपाको जोडी कसरी बाँधियो त?

यसरी बाँधियो... 

त्यो रोचक भेट

२०६६ सालको कुरा हो। संगीतमा संघर्ष गरेरै प्रमोदका १० वर्ष बितिसकेका थिए। 'पल पलमा', 'लागि लागि', 'हे माया' बोलका गीत बजारमा हिट भइसकेका थिए। त्यतिबेला प्रमोद काठमाडौँमा भाइसँग डेरामा बस्थे। जेभियर इन्टरनेसनल कलेजमा विज्ञान विषय पढाउँथे उनी। प्रमोदको संघर्षमा सहयोगी बनेका थिए, उनका भाइ।  त्यही साल भाइ पढाइको सिलसिलामा अस्ट्रेलिया उडे। त्यसपछि प्रमोद एक्लै भए। 'छोरो जवान भयो' भन्दै घरबाट बिहेको कुरा चल्न थाल्यो। 'त्यसपछि जोडी खोज्ने शृंखला सुरु भयो,' प्रमोदले सुनाए, 'भनेजस्तो केटी मिलिरहेको थिएन। त्यही क्रममा अंकलको छोरीले आफन्त पर्ने एक जना दिदी हुनुहुन्छ भन्दै डेरामा बोलाई। शिवरात्रिको अघिल्लो दिन थियो क्यारे। म टाउकोमा हेल्मेट र मास्क लगाएर उनको डेरामा पुगेको थिएँ। त्यहीँनेर हो मैले पहिलोपल्ट उनलाई देखेको।'

त्योबेला दर्शक/स्रोतामाझ प्रमोद अलिअलि छाइसकेका थिए। 'कतै आफूलाई नचिन्लान् कि' भन्ने डर उनको मनमा रहेछ। 'नचिन्लान् भन्ने डरले आफ्नो परिचय अशोक शर्मा भनेर दिएँ,' प्रमोदले भने, 'त्यति नभन्दै उनले 'उहाँ त प्रमोद खरेलजस्तै हुनुहुँदो रैछ' भनिन्। त्यसपछि त हाम्रो संवाद नै भएन। म चुपचाप, उनी पनि चुपचाप।'

बिहेको कुरा चल्दा

प्रमोदसँग पहिलो भेटको मुख्य कारण दीपालाई थाहा थिएन। प्रमोद आफूलाई हेर्न पो आएको कुरा उनले धेरैपछि थाहा पाइन्। यता, प्रमोद त्यो दिनपछि तीन महिनासम्म गायब भए। 'अरूतिर पनि केटी हेर्ने क्रम चलिरहेको थियो,' दीपाकै छेउमा बसेका प्रमोदले सम्भि्कए, 'काममा पनि निकै व्यस्त भएँ। त्यसैले तीन महिना कुरै अघि बढेन। पछि, दीपासँगै बिहे गर्ने पक्का गरेँ। '

परिवारसँग कुरा पनि चलाइयो। सुरुमा दीपाले 'नाइँ' भनेकी रहेछिन्। किन? दीपाले मुस्कुराउँदै जवाफ दिइन्, 'उहाँले मलाई तीन महिनासम्म वास्तै नगर्ने अनि लास्टमा 'ओके' भन्ने? त्यसैले मैले हुँदैहुँदैन भनेँ। पछि चाहिँ उहाँसँगै बिहे गर्न तयार भएँ।'

'सिम्पल' दीपा, 'प्रोफेसर' प्रमोद

प्रमोदले दीपालाई किन मन पराए त? 'दीपा एकदमै सिम्पल लागिन्। उनलाई संस्कारी र अनुशासित देखेँ,' प्रमोदले भने, 'बिहे किन गर्ने भन्दा पनि किन नगर्ने? भन्ने प्रश्नले पिरोलिरह्यो। त्यसैले दीपासँग बिहेका लागि 'ओके' भनेँ।' अनि, प्रमोदसँग बिहेका लागि पहिला 'नाइँ' भन्ने दीपा चाहिँ पछि कसरी मानिन् त? 'उहाँ गायक भएकाले बिहे गरेको होइन। यति चर्चित गायक बन्नुहोला भन्ने पनि मलाई लागेको थिएन। मेरो श्रीमान् शिक्षित होस् भन्ने चाहना मात्र थियो। उहाँ कलेजमा पढाउनुहुन्छ भन्ने थाहा पाउनेबित्तिकै उहाँप्रति सम्मान बढेको थियो। नढाँटीकन भन्नु पर्दा उहाँलाई प्रोफेसर प्रमोद ठानेर बिहे गरेकी हुँ।'

एकअर्काका मन पर्ने बानी 

प्रमोद–दीपाको बिहे भएको सात वर्ष भइसक्यो। 'एकअर्काप्रतिको प्रेम, विश्वास र समझदारी नै सम्बन्धलाई बलियो बनाउने आधार हो' भन्ने मान्यता दुवैको छ। 'उनको सरल व्यवहारले मलाई सधैँ लोभ्याउँछ,' प्रमोदले भने, 'घर, परिवार, आफन्त र पाहुना सबैलाई राम्रो सत्कार गर्छिन्। केयरिङ र संस्कारी छिन्।' आफ्नो प्रशंसा सुन्नासाथ दीपाले पनि प्रमोदको प्रशंसा गर्दै भनिन्, 'एकदमै सहयोगी हुनुहुन्छ, उहाँ। अरूको दुःखमा मलम लगाउन खोज्ने उहाँको स्वभाव मलाई एकदमै मन पर्छ। एकदमै संवेदनशील हुनुहुन्छ। कम बोल्नुहुन्छ। तरकारीमा नुन हाल्न बिर्सेको छु भने पनि 'नमीठो' भन्नुहुन्न। मलाई धेरै विश्वास गर्नुहुन्छ। अनि, हरेक कुरा सेयर गर्नुहुन्छ।'

यता, प्रमोद आफ्नो सफलताको श्रेय श्रीमतीलाई पनि दिन चाहन्छन्। 'मेरो जिन्दगीमा दीपा नभएको भए म आज यहाँसम्म आइपुग्थिनँ सायद। संघर्षको समयमा उनले मेरो साथ दिइन्,' प्रमोदले भने, 'जतिबेला उनी मेरो जिन्दगीमा आइन्, त्यतिखेर म डेरामा बस्थेँ। अहिले डेराबाट घरमा सरिसकँे।' ललितपुर, हात्तीवनमा प्रमोद–दीपाको अढाई तले आफ्नै घर छ।

झडंग्याहा प्रमोद

सुरिला स्वरका धनी प्रमोद रिसाएको सुन्नुभएको छ? 'उहाँको छिट्टै रिसाउने बानी छ,' श्रीमती दीपाले भनिन्, 'उहाँ स–सानो कुरामा पनि चाँडै अतालिनुुहुन्छ। अलिअलि लापर्बाह पनि हुनुहुन्छ। हतार–हतारमा काम गर्ने बानी छ, उहाँको। यो बानी चाहिँ सुधार्नुपर्छ।'

उता, प्रमोदलाई सधैँ समयको चिन्ता हुन्छ! 'स्टेज कार्यक्रम र रेकर्डिङले गर्दा घरपरिवारका लागि समय निकाल्न निकै गाह्रो हुन्छ,' प्रमोदले भने, 'दीपालाई समय दिने हरसम्भव प्रयास गर्छु। मैले भनेजति समय दिन नसक्दा उनलाई चित्त पनि दुख्दो होे।'

दीपा श्रीमान्को पेशासँग राम्ररी परिचित छिन्। 'काम गर्ने बेला यही हो। उहाँको कामप्रतिको लगावलाई सम्मान गर्छु,' दीपाले भनिन्, 'तर, कहिलेकाहीँ गीतबाहेक अरू केही कुराको वास्ता नगरेको देख्दा नमज्जा लाग्छ।'

प्रमोद र दीपाको पाँच वर्षको एउटा छोरो छ। 'बिहेअघि एउटा वित्तीय संस्थामा काम गर्थेँ,' दीपाले भनिन्, 'छोरो सानो भएकाले काम गरिनँ। अब चाहिँ काम गर्ने सोच बनाइरहेकी छु।'

व्यावहारिक जोडी

प्रमोद र दीपा दुवै आफ्नो जोडीलाई व्यावहारिक भन्न रुचाउँछन्। 'हामी देखावटी जोडी होइनौँ,' प्रमोदले भने, 'एकदम नेचुरल जोडी हौँ। ग्रासरुटबाट आएकाले होला हामी तडकभडक गर्न रुचाउँदैनौँ। हाम्रो जीवन एकदमै सामान्य छ। हामी प्य्राक्टिकल छौँ।'

दुवै जथाभावी पैसा खर्च गर्दैनन्।  'हामी दुवै बचत गर्ने टाइपका छौँ। सपिङ गर्दा पनि निकै विचार पुर्‍याएर गर्छौं,' दीपाले भनिन्। 

श्रीमती नै पहिलो स्रोता

तपाईंका प्रायः गीतको पहिलो स्रोता को हो? भन्ने प्रश्नमा प्रमोदले जवाफ दिए, 'बिहेअघि भाइ थियो, बिहेपछि श्रीमती।' प्रमोदका अनुसार उनी हरेक बिहान रियाज गरिरहेका हुन्छन्। श्रीमती भान्छामा खाना पकाउँदै उनले गाएको सुनिरहेकी हुन्छिन्। 'गीतमा यो भएन, त्यो भएन भन्दै प्रतिक्रिया पनि दिन्छिन्,' प्रमोदले भने, 'गीतलाई रामोसँग बुझ्ने क्षमता उनमा छ।'

दीपालाई प्रमोदका अधिकांश गीत मन पर्छन्। 'त्यसमध्ये पनि 'लाग्छ तिमी सागरसरी' र 'किन शंका' अलि बढी नै मन पर्छन्,' उनले भनिन्। प्रमोदको एउटा गीत बजारमा चाँडै सार्वजनिक हुँदैछ। 'मेरै लागि गाइदिएको हो कि जस्तो लागेको छ। 'जीवनसंगिनी' बोलको त्यो गीत मलाई नै फिल गरेर गाउनुभएको जस्तो लाग्छ। साह्रै मन छुने छ,' दीपाले भनिन्।

नागरिक परिवारबाट

प्रकाशित: २६ चैत्र २०७३ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App