१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कमाइ गर्न चुनावी गीत

नेपाली काँग्रेसको चुनावी गीत रेकर्डिङ भइरहँदा सेल्फी लिँदै गायिका मनिषा पोखरेल तथा गायक एवम् संगीतकार राजनराज शिवाकोटी।

काठमाडौं- स्थानीय तह निर्वाचनको तयारी तीव्र भइरहेको बेला राजनीतिक दलहरू मतदाताको ध्यानाकर्षण गराउन चुनावी गीत तयार पार्ने काममा लागेका छन्। चुनावका लागि घोषित २०७४ वैशाख ३१ गते नजिकिँदै जाँदा दलहरू उम्मेदवार चयन गर्ने प्रक्रिया थालेसँगै पार्टीको चुनावी नारा र चिह्नप्रति मतदाताको ध्यान तान्न गीतको रेकर्डिङमा लागेका हुन्। चुनावी माहोललाई आफ्नो पक्षमा पार्न शब्द चयन, संगीत र स्वरका बारेमा अघिल्ला निर्वाचनभन्दा बढी सचेत देखिएका दलहरूले तुलनात्मक रुपमा अब्बल गीतकार, संगीतकार र गायकगायिकालाई चुनावी गीत तयार पार्न छनौट गरिरहेका छन्। तर, अधिकांश स्थापित कलाकारहरु भने चुनावी गीतमा स्वर र संगीत भर्न अनिच्छुक देखिएका छन्। यद्यपि केही नाउँ चलेकै कलाकारले पुग्दो पैसा र उत्कृष्ट शब्द पाइए आफूहरुले चुनावी गीत गाउने बताएका छन्। केही गायक र संगीतकार अहिले चुनावी गीतकै रेकर्डिङमा व्यस्त छन्। 

गायक शिव परियार चुनावी गीत गाएर आफ्नो छवि बिगार्न चाहँदैनन्। उनीजस्तै नाउँ चलेका थुप्रा गायकले पार्टीका लागि गीत गाउँदा पार्टीमा लागेको भ्रम छरिने हुँदा त्यस्ता गीतप्रति चासो नराख्ने बताउँछन्।

गत साता मात्रै गायिका मनिषा पोखरेलले गायक तथा संगीतकार राजनराज शिवाकोटीसँग मिलेर गीतकार विनय बञ्जाराले लेखेको नेपाली काँग्रेसको चुनावी गीत 'रुख छापमा भोट लगाउँ्क'मा स्वर दिइन्। धेरै वर्षअघि माओवादी र राप्रपाका लागि चुनावी गीतमा स्वर दिएकी मनिषाले देशको राजनीतिलाई लक्षित गरेर बनाइएका गीत गाउँदा नौलो अनुभव हुने बताइन्। 'चुनावी गीत राजनीति केन्द्रित हुन्छन्, विशेषतः यस्ता गीत वीररसमा गाइन्छ, त्यसकारणले फिल्म र सुगम संगीतका गीतभन्दा यसको धार नै फरक हुन्छ,' सुगम संगीत र पार्श्व गायनमा छुट्टै पहिचान बनाएकी मनिषाले भनिन्, 'अन्य पार्टीका गीतका लागि पनि कुरा भइरहेको छ, तर फाइनल भइसकेको छैन।' फिल्मको गीत गाउँदा कुन नायिकाका लागि गीत गाउँदैछु भन्ने सोच बनाएर गीत गाउने गरिए पनि चुनावी गीतमा त्यस्तो नहुने मनिषाको बुझाइ छ। 'फिल्मका गीत मायापिरती शैलीका हुन्छन्, जुन शैलीलाई पार्टीका गीतमा अपनाइँदैन,' उनले भनिन्, 'त्यसकारणले पनि पार्टी गीतमा भावनाका कुरा कम हुन्छन्।'

मनिषासँग सहकार्य गरेका संगीतकार तथा गायक शिवाकोटीले काँग्रेसको गीतपछि अन्य पार्टीबाट पनि कामको प्रस्ताव आइरहेको खुलाए। 'पाँच सातवटा अन्य पार्टीका गीत बनाइदिन प्रस्ताव आएको छ, तर हालको अवस्थामा काँग्रेसबाहेक अन्यको काम गरेको छुइनँ,' अघिल्लो पटक नेकपा एमालेका नेता बामदेव गौतमले लेखेको गीत रेकर्ड गराएका राजनराजले नागरिकसँग भने, 'काँग्रेसको गीतमा स्वर र संगीत दिने कारण चाहिँ गीतको शब्द मन परेर हो। त्योबाहेक अरू कारण छैन।'

'सुर्के थैली' र 'पूर्वपश्चिम रेल' जस्ता हिट गीतका गायक तथा संगीतकार राजनराजले फिल्मी गीत र पार्टीगत गीतमा खासै फरक नदेखिने दाबी गरे। 'दुवै गीतमा सकारात्मक कुरा हुन्छन्, अझ पार्टीका गीतमा त देशको विकास गर्नेदेखि राम्रो विचारले अघि बढौं भन्ने सन्देश दिनेखालका 'इनर्जेटिक' शब्द हुन्छन्,' राजनराजले भने। चुनावी गीत  तयार पार्दा रमाइलो हुने अनुभव भएको बताउने उनले विगतको संविधानसभा निर्वाचनअघि नै 'चुनाव गराउनुपर्‍यो' भन्दै 'हात्ती आयो हात्ती आयो फुस्सा' नामको एल्बम नै बजारमा ल्याएका थिए।

जो गाउन चाहँदैनन्

चुनावी प्रचारप्रसारमा नाउँ चलेका गायकगायिकाको स्वरमा आउने गीत प्रमुख आकर्षण हुने भए पनि चुनावी गीत गाउन नाउँ चलेका गायकहरू हच्किन्छन्। गीत गाउने कुरा व्यवसायिक भए पनि पार्टीका लागि गीत गाउँदा त्यही पार्टीमा लागेको हो कि भन्ने भ्रम छरिने हुँदा अप्ठ्यारो पर्ने गरेको उनीहरूको बुझाइ छ।

'हारे हारे', 'तिमीलाई के भनुँ', 'तिम्रा डोला डोला', 'टुंगनाको धुनमा' जस्ता गीत गाएका गायक युवराज चौलागाईं पार्टीगत गीत गाउँदा पार्टीमै प्रवेश गर्‍यो भन्ने आक्षेप लाग्ने डरले चुनावी गीत नगाएको बताए। 'म अहिलेसम्म स्वतन्त्र गायकका रुपमा श्रोतादर्शकमाझ परिचित छु। यसै रुपमा फिल्म र संगीत क्षेत्रले मलाई चिनेको छ। चुनावी गीत गाउँदा यिनी फलानो पार्टीका मान्छे हुन् भन्ने दोष लाग्छ,' युवराजले भने, 'चुनावी गीत गाउनका लागि अफर त आएका छन्, तर कुनै पनि गीत गाउने प्रस्तावलाई स्वीकारेको छुइनँ। आफूलाई पार्टीको नभएर राष्ट्रको कलाकार भएको बताउने उनले अहिलेसम्म कुनै पनि पार्टीको गीत नगाएको दाबी गरे।

'हेरेको हेरेकै', 'मस्ती', 'तिम्रा डोला डोला' लगायतका गीत गाएर चर्चामा आएकी गायिका सहिमा श्रेष्ठले पनि चुनावी गीत गाउनु आफ्ना लागि उपयुक्त नहुने जनाइन्। 'अहिलेसम्म चुनावी गीत गाएको छैन, प्रस्ताव आए पनि स्वीकार गर्दिनँ,' उनले भनिन्।

फिल्मी र सुगम संगीतका गीत गाउन रुचाउने सहिमाले फिल्मी र सुगम संगीतका गीतमा नै आफ्नो भविष्य देखेको बताइन्।

लण्डनमा रहेका गायक शिव परियारले आफूलाई पार्टीगत गीत गाउन मन नपर्ने जनाए। 'म पार्टीका गायकजस्तो भएर कहिल्यै पनि गीत गाउँदिन,' शिवले भने, 'मेरो आफ्नै पहिचान छ, त्यो पहिचानलाई बिगार्न चाहन्न।'

संगीतकारको व्यस्तता

फिल्मी संगीतमा चर्चा कमाएका संगीतकार बसन्त सापकोटालाई पार्टीगत गीतभन्दा पनि सरकारी कामले व्यस्त बनाएको छ। संविधानसभा निर्वाचनका बेला निर्वाचन आयोगको गीत 'गरौं मतदान' तयार पारेका बसन्तले स्थानीय तहको निर्वाचनका लागि चुनावी सन्देशसहितका गीत तयार गनर्ेे काम आयोगले आफूलाई नै दिन लागेको खुलाए। 'पार्टीहरूले गीत पठाएका छन्। त्यसमा संगीत भर्ने सुरसार गर्दैछु। बजेटको कुरा नमिल्दा टुंगो लागेको छैन,' सापकोटाले भने, 'मैले पार्टीका गीतभन्दा पनि सरकारी कामलाई प्राथमिकता दिएको छु।’ राम्रो कमाइ हुने भए र उत्कृष्ट गीत आएको खण्डमा पार्टीगत गीत तयार गर्नबाट परहेज नगर्ने उनको कथन छ।

संगीतकार तथा एरेञ्जर टंक बुढाथोकी झण्डै हप्ता दिनअघिदेखि नेकपा एमालेको गीत एरेञ्ज गरिरहेका छन्। 'एमालेका दुईवटा गीत एरेञ्ज गरिरहेको छु। मैले संगीत बनाउने काम मात्र गरेको छु, गाउने काम गीत ल्याउनेेले नै गर्छन्,' बुढाथोकीले भने, 'फिल्मका जस्तो चुनावी गीत मेलोडियस हुँदैन।’

परिवेशअनुसार लेखिएका शब्दलाई हेरेर संगीत भर्ने गरिन्छ। विशेषतः चुनावी गीतको संगीत लोकलयमा आधारित  हुन्छ। पार्टीका कार्यकर्ता तथा लोकदोहोरीका गायकगायिकाले यस्ता गीत गाउने गर्छन्।' उनले यसअघि भएका दुवै संविधानसभाको निर्वाचनमा झापाका सांसदहरुको आग्रहमा एमालेकै गीत तयार पारेको स्मरण गरे।

व्यस्त संगीतकार अर्जुन पोखरेलले आफू कहाँ चुनावको गीत रेकर्ड गराउने कुरा आए पनि गम्भीर रुपमा काम अघि नबढेको उल्लेख गरे। 'एक दिनअघि गीत रेकर्ड गराउने कुरा हुन्छ, भोलिपल्ट कुरा सेलाउँछ,' उनले भने, 'कसैले राम्रो कन्सेप्ट ल्यायो भने मात्र म त्यसमा काम गर्छु। केवल झारो टार्नकै लागि मात्र हो भने त्यसमा मेरो संलग्नता हुने छैन।'

प्रकाशित: २८ चैत्र २०७३ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App