२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

किसानका पीडा : आगोले गहुँबाली खायो, हामी के खाने ?

फाइल तस्बिर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए। त्यहीबेला गत साता एक्कासि आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो।

महिनौंको मेहनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर चिन्तित छन्। ‘महिनौं मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन। आगोले क्षणभरमै सबै खरानी बनायो’, मगर भन्छन्, ‘घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानु र कसरी बाँच्नु !’

मगर परिवारले १२ कट्ठा जमिनमा गहुँबाली उब्जाएको थियो। त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो। विगतका वर्षभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवार तुलनात्मक रूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो।

उनी भन्छन्, ‘यो वर्ष तीन-चार पटक सिँचाइ गर्‍यौं। उन्नत जातको बीउ र पर्याप्त मलखाद प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँ मात्रै होइन, हाम्रो आशा पनि खरानी बनाइदियो।’

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो। यतिबेला कुमाललाई सातजनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैंसीलाई वर्षभरि कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।

‘गहुँ काटेर मुठा बाँधिसकेका थियौं। आगोले पूरै जलेर खरानी भयो। अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन’, उनी भन्छन्, ‘घरभित्रको अन्न पहिल्यै खाएर सकिइसक्यो। अब खानका लागि अन्न छैन, कसरी गुजारा गर्ने होला ?’ कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहींबाट आएको पैसाले घर खर्च चलाउने गरेको थियो।

‘विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरिका लागि राखिन्थ्यो र बाँकी बिक्री गरेर घर खर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन, छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन’, उनले दुःखेसो पोखे।

गत बिहीबार रुखका हाँगा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयको भनाइ छ। आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो।

पसिना चुहाउँदै महिनौं मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन्।

तीन बिघा जमिनको गहुँबाली जलेपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर भन्छन्, ‘बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौं । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकोमा यसपटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ।’

आगलागीबाट जोगिएको एक बिघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उनको भनाइ छ। लालबहादुरले बाख्रा, भैंसी र बङ्गुरपालन पनि गरेका छन्। तीन बिघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैंसी र बङ्गुरपालनमा पनि धक्का लागेको उनको गुनासो छ।

‘गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन। चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ’, उनले भने, ‘आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो। दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो’, लालबहादुरको बुझाइ छ।

बाली भित्र्याउने समयमा परेको विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।

पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन्। दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्काल पाँच हजार वितरण गरेको छ। –रासस

प्रकाशित: १४ वैशाख २०८१ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App