१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माण अधूरै, यात्रु समस्यामा

काठमाडौं-चावहिल, गोपीकृष्णदेखि सरस्वतीनगर हुँदै भृकुटी चोकसम्म पाइप बिछ्याउने कार्य १७ महिना पुग्दा पनि अधूरै छ।

१३ सय मिटर क्षेत्रमा पाइप बिछ्याउने काम पूरा नहुँदा सर्वसाधारण मर्कामा छन्। धुलो र खाल्डाखुल्डीका कारण सडकमा सवारीसाधन त परै जाओस, पैदल हिँड्नसमेत यात्रुलाई मुस्किल छ।

२०७२ मंसिरमा सडक खन्न सुरु भएको हो । त्यसयता हिँडडुल गर्न निकै समस्या परेको सर्वसाधारण बताउँछन् । ‘सडक चौडा पार्न सुरु गरिएसँगै सडकमा हिँडडुल गर्नै निकै समस्या भइरहेको छ,’ स्थानीय शिवहरि दाहालले भने, ‘बर्खामा हिलो र हिउँदमा धुलोले यात्रुलाई आवतजावत गर्न निकै सकस भएको छ।’ सडकमा आवतजावत गर्न नमिल्ने गरी निर्माण सामग्री थुपारिने गरेको उनी बताउँछन् ।

वल्लोबाट पल्लो घर जानसमेत घुमेर जानुपर्ने अवस्था आएको उनको दुखेसो छ । उनका अनुसार कपनबासीले ‘नाकाबन्दी’कै मार खेप्न परेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् रमन कन्ट्रक्सन कम्पनीले मेलम्चीको पानी वितरणका लागि पाइप ओछ्याउन थालेको हो । १३ सय मिटरमा पाइप ओछ्याउने काम पूराअझै सकेको छैन । जसले गर्दा कपनबासीले समस्या खेप्न बाध्य छन् । ‘प्राविधिक समस्याले पाइप ओछ्याउन ढिला भएको हो,’ निर्माण कम्पनीका पवन महतोले भने, ‘अहिले भने पाइप ओछ्याउने काम सकेका छौं ।’ उनका अनुसार १३ सय मिटरमध्ये सात सय मिटरमा पूर्णरूपमा पाइप बिछ्याउने काम सकिएको छ । पाँच सय मिटरमा पनि पाइप बिछ्याउने सकिएको छ । परीक्षणका क्रममा चुहावट देखिएपछि पाँच सय मिटर क्षेत्रमा काम पूरा हुन नसकेको महतोले बताए । ‘पानी परीक्षण गर्दा चुहावट देखिएपछि २५ ठाउँमा खनेर हे¥यौं । तर, चुहावट भएको ठाउँ पत्ता लागेन,’ महतोले भने, ‘अब पाइपभित्र नै छिरेर चुहावट भएको ठाउँ पत्ता लगाउने तयारी भइरहेको छ ।’ यसै हप्ताभित्रमा चुहावट भएको ठाउँ पत्ता लगाएर पाँच सय मिटरमा पनि चाँडै पाइप बिछ्याउने काम सक्ने महतोले बताए ।

‘पाइप ओछ्याएर सकेको ठाउँमा कालोपत्रे गर्न डिभिजन सडक कार्यालय १ लाई पत्राचार गरिसकेका छौं,’ निर्देशनालयका उप–निर्देशक हिमेश वैद्यले भने, ‘तर, डिभिजनले किन गरिरहेको छैन हामीलाई जानकारी भएन ।’ उप–निर्देशक वैद्यका अनुसार काम सकिएको ठाउँमा निर्देशनालयले कालोपत्रेका लागि डेढ महिनाअघि डिभिजन एकलाई पत्रचार गरिसकेको छ ।

यता, सडक डिभिजन कार्यालय १ले भने पत्र नपाएको जनाएको छ । तर, डिभिजनले सबै खण्ड एकैपटक कालोपत्रे गर्ने तयारी गरेकाले पत्र नपाएको बहाना गर्दै आएको स्रोत बताउँछ । ‘पत्र आएको मलाई जानकारी छैन,’ डिभिजन कार्यालय १ का प्रमुख मुकुन्द अधिकारीले भने, ‘निर्देशनालयले काम नसकाउँदा कालोपत्रे हुन रोकिरहको छ ।’ निर्देशनालयले काम सकाएर कालोपत्रेको लागि जिम्मा लगाएको खण्डमा भने तुरुन्तै कालोपत्रे हुने अधिकारीले बताए ।

उक्त सडक स्वास्थ्य मन्त्री रहेका गगन थापाको निर्वाचन क्षेत्रमा पर्छ । सडक लथालिंग भएपछि यसअघि मन्त्री थापाले पनि व्यवस्थित ढंगले तत्काल काम सक्न निर्देशन दिएका थिए।

प्रकाशित: ३० चैत्र २०७३ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App