रंगमञ्च

रंगमञ्चको लय

शनिबार, ०२ बैशाख २०७४, ११ : ३५ नागरिक

डा. अशोक थापा

'उत्कृष्ट पुस्तकालय र थिएटर हल छैन भने मान्नोस् त्यो सहर सभ्य छैन,' विद्वान् नोबलकिशोर राईले प्रदर्शनकारी कलाको कार्यशाला उद्घाटन गर्दै केही दिनअघि यस्तो अभिव्यक्ति दिए। यी दुवै कुरा चुस्त नभए पनि उपत्यकाका बासिन्दा भनिरहेका छन्, हामी सभ्य नै छौँ। थिएटर नदेखाएकै कारण असभ्य भइन्छ भन्ने कुरा उनीहरूलाई बेकार लाग्छ किनभने घरघरमा हिन्दी सिरियल हेरेकै छन्, काठमाडौंवासीले। यसबाट प्रस्ट हुन्छ, हाम्रो समाजमा रंगमञ्चलाई हेर्न दृष्टिकोण अनुपयुक्त र वातावरण प्रतिकूल छ। परिस्थितिका अनुकूल नभए पनि काठमाडौंमा रंगमञ्च क्रियाशील छ, सुस्तखालको आफ्नै लयमा।

जटिल परिवेश र सरकारी उदासिनता रहँदारहँदै पनि गत साल (०७३) झन्डै पाँच दर्जन नाटक मञ्चमा उतारिनु पक्कै पनि प्रशंसायोग्य हो। रंगमञ्चको पर्दामा यतिका नाटक चलायमान हुनु सन्तोषको कुरा हुँदाहुँदै पनि सालभर प्रस्तुत गरिएका नाट्यविषय र प्रस्तुतिशिल्प कमजोर मात्र देखिएनन्, दर्शकले बासी पनि ठाने।

काठमाडौंमा मात्रै सर्वनाम, शिल्पी, मन्डला, राष्ट्रिय नाचघर, थिएटर भिलेज, थिएटर मलजस्ता रंगघर विगत केही वर्षदेखि क्रियाशील छन्। यी थिएटरभित्र विभिन्न स्वाद र ढाँचाका नाटक वर्षभरि नै मञ्चन भइरहन्छन् र गत साल पनि भए। 'पाहुना घरकी साहुनी'बाट गत सालको नयाँ वर्ष थालनी गरेको शिल्पीले 'हरित तारा भृकुटी'मा पुगेर यो वर्षको रंगमञ्चीय गतिविधिलाई बिट मारेको छ। कार्लो गोल्डेनी, माधवी, कथादेश–३, थाङ्ला, दीक्षान्त, चिरिएका साँझजस्ता नाटक मञ्चन गरेको शिल्पीले रंगमञ्चमा हरियाली ल्याउने संकेत देखाउँदादेखाउँदै पनि नेपाली मौलिकतालाई केन्द्रमा राख्न असफल नै भयो। विदेशी कथालाई भिœयाउने, पुराना नाटकलाई पुनरावृत्ति गर्ने र नाटक विधाइतरका सामग्रीलाई प्रस्तुतिमा लग्ने काम सालभर नै चल्यो यहाँ। दर्शकले देख्ने भनेको मञ्चको कथा मात्रै हो, मञ्चका अन्तरकुन्तरका कथा उनीहरूको चासोको विषय होइन र बन्दैन पनि। सकेसम्म हाम्रै बारी, काल्ना र कन्दराका अन्तर्विरोधलाई रंगमञ्चमा हेर्न पाए दर्शक मख्ख पर्ने गर्छन्।

नाटक 'भीक्षाम् देही' बाट अघिल्लो सालको यात्रा थालनी गरेको सर्वनाम 'बुख्याचा मन' नाटकमा पुगेर एक सालको यात्रा टुंग्याएको छ। यसबीचमा झन्डै आधा दर्जनभन्दा बढी नाटक मञ्चन भएको सर्वनाममा आफ्नै प्रोडक्सनबाहेक 'अमर मातृत्व', 'खहरे घाट' जस्ता नाटक चर्चित भए। भुरभुरा रहर, जुनकीरी, चापको फूल, सरी मम, निर्वाण, दर्शन, सिँढी, शून्य डिग्रीजस्ता नाटक पनि गत साल सर्वनाममा दर्शकले हेरेका नाटक हुन्।

थिएटर मलमा मान भर्सेस मती, अवान्तर, उपियाँको निबन्ध, बेड नम्बर ९९, सारंगी गाउँको कथा, भोको घर, बौलाहा काजीको सपनाजस्ता नाटक मञ्चन भए। मन्डला थिएटरमा डिग्री माइला, लु, युमा, सिरुमा रानीजस्ता नाटकलाई मञ्चमा उतारियो। प्रायः सबै रंगघरका साझा समस्याको रूपमा रहेको व्यावसायिक हुनुपर्ने बाध्यताबाट मन्डला नाटकघर पनि अछुतो रहेन र नाटकको साख जोगाउन चर्चित उपन्यास 'लू' मा नै भर पर्नुपर्‍यो। नयनराज पाण्डेको प्रख्यात उपन्यास 'लू'लाई नवनिर्देशक सरिता साहले मञ्चमा उतारेकी हुन्। यसैगरी ह्याम्लेट, सान्दाजुको महाभारत, मकैको अर्कै खेतीजस्ता नाटक थिएटर भिलेजमा प्रदर्शन गरियो।

गत सालको रंग गतिविधिमा शैली थिएटरले आयोजना गरेको आठौँ बालनाटक महोत्सवलाई पनि उल्लेखनीय मान्नुपर्छ। रुसी सांस्कृतिक केन्›मा आयोजित यस महोत्सवमा १४ वटा विद्यालयका विविध शीर्षकका नाटक मञ्चन हुनाका साथै आयोजकका तर्फबाट 'चिसो यात्रा' शीर्षकको नाटक पनि प्रदर्शन गरियो। उक्त महोत्सवमा थुप्रै बालकलाकार पुरस्कृत भएका थिए।

उपत्यकाभन्दा बाहिर पूर्वी नेपालको झोराहटमा नाटक मञ्चन हुनाका साथै थिएटर घरको उद्घाटन भएको छ। नयाँ नाटकघर पाएर पूर्वाञ्चलका रंगमञ्च पारखीले खुसीको अनुभूति गरेका छन्। यसैगरी पोखरामा दुईवटा समूह रंगघर बनाउन जोडतोडले लागेको सुनिन्छ। पञ्चामृत नाट्य समूहले गैह्रापाटन र युथ क्रियसन थिएटरले नागढुंगा पोखरामा नाटकघर बनाउन सुरु गरिसकेका छन्। यसबाट के संकेत मिल्छ भने आगामी वर्षमा मोफसलमा पनि नाटक मञ्चनको गतिविधि बढेर जानेछ। व्यक्तिगत प्रयासबाट निर्देशक पुरु लम्सालको लेखन तथा निर्देशनमा लमजुङमा 'फड्के' शीर्षकको नाटक मञ्चन हुनु ज्यादै प्रशंसनीय छ। यसैगरी सुर्खेत जिल्लामा गणेश गौतमद्वारा लिखित तथा निर्देशित 'बाकास' शीर्षकको नाटक पनि मञ्चन भएको छ।

‘यज्ञवल्क्य’ नाटक पनि गत साल दुई कुराले चर्चित रह्यो, पहिलो यो संस्कृतिविद् सत्यमोहन जोशीको चर्चित नाटक हो भने वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलले यो नाटक मञ्चन गर्दागर्दै मञ्चमै ढलेर देहत्याग गरेका छन्।

रंगमञ्चका कलाकारले नेपाली फिल्म हिट हुने गरेका चर्चा पनि गत सालभरि सुनियो। फिल्म क्षेत्रमा काम गर्नेहरूले रंगमञ्चबाट सिक्न चाहेको र फिल्म लगानी गर्नेहरूले पनि रंगमञ्चका कलाकारलाई स्वागत गर्न चाहेको दुई दृश्य पनि पनि प्रस्ट देखियो गत साल। 

जटिल परिवेश र सरकारी उदासिनता रहँदारहँदै पनि गत साल (०७३) झन्डै पाँच दर्जन नाटक मञ्चमा उतारिनु पक्कै पनि प्रशंसायोग्य हो। रंगमञ्चको पर्दामा यतिका नाटक चलायमान हुनु सन्तोषको कुरा हुँदाहुँदै पनि सालभर प्रस्तुत गरिएका नाट्यविषय र प्रस्तुतिशिल्प कमजोर मात्र देखिएनन्, दर्शकले बासी पनि ठाने। दर्शकले श्रम, समय र स्रोत खर्चेर रंगहलभित्र पस्दा मञ्चमा साजी स्वाद नपाउनु दुःखद पक्ष मात्र होइन, उनीहरूप्रतिको घोर अन्याय पनि हुन गएको छ। विषयवस्तु पुरानै ढर्राका हुनु, विचार आयातीत प्रकृतिको छानिनु दुःखद् पक्ष बनेको छ। दुई–चार शताब्दीअगाडिका युरोपका आउट डेटेड विषय समातेर रिहर्सल थालिनु मौलिकताप्रतिको बेइमानी, दर्शकप्रतिको गैरजिम्मेवारी र सिर्जनाप्रतिको घातक प्रहार पनि हो। जुन कुरा नेपाली रंगमञ्चमा देखाइएको छ, जहाँ दर्शकलाई छनोटको स्वतन्त्रताबाट वञ्चित मात्र गरिएको छैन 'खाए खा नखाए घिच्'को परिस्थिति सिर्जना गरिएको छ।

गत साल आयातीत बासी कथाले आतंकित बन्यो नेपाली रंग क्षेत्र। तार्तुफ झलेन्द्र प्रसादको लीला, पिलर अफ दि सोसाइटी, ह्याम्लेट, पाहुन घरकी साहुनी काठमाडौंमा गएको साल देखाइएका आयातीत र बासी कथा हुन्, जसलाई थिएटरमा हेर्नैपर्दैन, एक क्लिक युट्युबमा थिचिदिए पुग्छ, त्यो पनि विविध भर्सन र स्वादमा। तैपनि विदेशी कथालाई हामीले किन भिœयाएको? यस प्रश्नको उत्तर गोलमोटोल तरिकाले दिने गरिन्छ र त्योभित्र लुकेको एउटै सत्य हो, खर्चको प्रबन्ध।

अर्का एकथरी निर्देशक नेपालमा नाटक नै छैनन् भन्दै नाटककारले जे लेख्छन्, त्यो देखाउन लायक नै छैन। जुनकुरा समाजमा लोकनाटकका रूपमा रहेका छन्, तिनलाई थिएटर घरमा प्रवेश गराउन आइडिया र लगाव दुवै नभएरको स्विकार्छन्, एकथरी रंगकर्मी। युरोप, अमेरिका, हिन्दूस्तानमा इतिहास बनिसकेका नाटकलाई रूपान्तरण गरेर नेपाली थिएटर चलाउने अभ्यास 'नल गोडेर फल लाग्छ' भन्नेजस्तै महामूर्ख काम हो, जुन हाम्रो रंगमञ्च सम्बद्ध व्यक्तिहरूले गरिरहेका छन्।

पुरानैमा नयाँ रोगन लगाउने प्रचलन नेपाली रंगमञ्चमा झन् विस्तार भएको छ। नयाँ खोज गर्न समय र साधन दुवै लाग्ने भएकाले गत साल पुरानै नाटक पुनर्मञ्चनको क्रम देखियो। पुरानै नाटक जो अतीतमा देखाइएको हुन्छ, त्यसलाई फेरि दोहोर्‍याएर देखाउनुपर्ने बाध्यतामा नेपाली रंगमञ्च गुजि्ररहेको स्विकार्छन् नाट्य निर्देशकहरू। यस प्रकृतिका नाटकमा थाङ्ला, चिरिएका साँझ, खहरेघाट, मान भर्सेस मती, भोको घर, कथादेश– ३ दृष्टान्त बनेर आए। नयाँ बाटो नखोजेर पुराने मार्गबाट काम चलाउँदा नेपाली रंगमञ्च पुरानै ढर्रामा रुमलिन्छ जुन नियति नेपाली रंगमञ्चले भोगिरहेको छ। पुनर्मञ्चनको प्रचलनलाई निरन्तर प्राथमिकता राख्ने हो भने नेपाली रंगमञ्चमा नयाँ नाटकले प्रवेश पाउन पनि मुस्किल पर्छ भने अर्कातिर रंगमञ्चीय सिर्जना नष्ट भएर बञ्जर बन्छ।

उपत्यकामा भएका रंगमञ्चमा पनि एकरूपताको कमी छ। प्रविधि प्रयोगमा पनि यिनीहरूमा समानता देखिँदैन। हलको डिजाइनदेखि रंगमञ्चमा खुलेर अभिनय गर्न मिल्ने स्पेसको कमी पनि देखिन्छ। हलहरू एक्टर फ्रेन्ड्ली त छँदै छैनन्, दर्शकको चाहनाअनुरूपका पनि छैनन्। प्रकाश, ध्वनि र मल्टिमेडियाको प्रयोगका लागि उत्कृष्ट ठाउँ देखिँदैन। रंगमञ्चका लागि स्टेज निर्माणका लागि व्यापक चुनौती छ। विदेशमा विकास गरिएको प्रोटेबल सेटको सुविधा हाम्रोमा भित्रिन सकेको छैन।

नेपाली रंगमञ्चमा विदेशी नाटक र पुराना नाटकको पुनरावृत्तिको मात्र समस्या छैन बरु विधा रूपान्तरणको जबर्जस्त संस्कार पनि बस्न थालेको छ। अन्य विधाका कृतिलाई नाटकमा रूपान्तरण गरेर देखाउँदा एकातिर ज्यादा परिश्रम पर्छ भने अन्य विधाको पहिचान पनि मेटिन सक्छ। उपत्यकामा 'लू', 'चिसो यात्रा', कथादेश– ३, मकैको अर्कै खेतीजस्ता नाटक जो अन्य विधाबाट नाट्य रूपान्तरणसहित मञ्चमा प्रस्तुत भएका छन्।

मौलिकताको सवाल उठाउँदा नेपालमा सिर्जित नाटकउपर नै प्रश्न उभ्याउनु कतिको जायज कुरा हो? नाटकलेखनमा उदासीनताको मूल कारण के हो? यस प्रश्नको जवाफ पनि सजिलै भेटिँदैन। नाट्य स्रष्टा भन्ने गर्छन्– हाम्रा निर्देशकले आफ्ना नाटक मञ्चमा लानै हिच्किचाउँछन् र सँगै अर्को बहस पनि यदाकदा सुनिन्छ, विश्वाविद्यालयले नाटक पढाउँछ, पाठ्यसामग्री जस्तै, यो सत्य हो।

अर्का एकथरी भन्छन्, नाटक सर्जक र निर्देशकबीच संयोजनकारी भूमिकाको खडेरी छ र सबैभन्दा तीतो सत्य के स्थापित छ भने नेपालको रंगमञ्चको विकासका लागि सरकारी उदासीनता छ। सबै कुरा सरकारले गरिदिँदैन भन्ने कुरामा नेपाली थिएटरका सञ्चालक अब प्रस्ट हुनुपर्ने हो।

विषयगत विविधतामा नेपाली रंगमञ्च देखियो। वैदेशिक रोजगार, महिलावाद, प्रेमयौन, राजनीति, यस वर्षभरिका नाटकमा देखिए। रंगमञ्चमा विचारलाई कलाले छोपेर सभ्य र भव्य तरिकाले पस्कने जादुमय कला रंगमञ्चमा भित्रिन सकेन। धिकिरधिकिर चलेको नेपाली रंगमञ्चले उठाएको विषयको प्रभावकारिता, महŒव र उत्तरदायित्वको घनीभूत बहस नभएरै पनि ०७३ भरि पाँच दर्जनभन्दा बढी नाटक खेलिए। यद्यपि राजधानीको रिङरोडबाट बाहिर पाइला राख्न नसक्नु नेपाली रंगमञ्चको दुःखद पक्ष बन्ने पुगेको छ।

यतिका नाटक लेखिनु, खेलिनु, बहसमा आउनु सकारात्मक पक्ष हुँदाहुँदै पनि सरकारी क्षेत्रबाट कुनै पनि रंगमञ्चीय गतिविधि हुन नसक्नु, हुन नदिनु दुवै गत सालको मात्र होइन, समग्र नेपाली नाटकको दशकौँदेखिको रोग भएको बुझिन्छ।

जुन दिन गीतकारलाई दुत्कारेर संगीतकारले कनिकुथी गीत लेख्न थाल्छ, त्यही दिनबाट गीतको मर्म एकोहोरो शंखजस्तो हुन पुग्छ, मलाम जाँदाको एकोहोरो टुउँउँउँउँ जस्तो। योभन्दा भिन्न हुँदैन, जब निर्देशकले नाट्यस्रष्टाको अपमान गरी इम्प्रोभाइजेसनलाई मात्र नाटक ठान्छ। झन्डैझन्डै यस्तै मार्ग अनुशरण गर्दै छ, नेपाली रंगमञ्चले पनि।

अमौलिक नाटकलाई नेपाली मौलिक भनेर प्रचारबाजी गरिनु नेपाली रंगकर्ममाथि लादिएको धोकाधडीपूर्ण साहित्यिक प्रतिगमन हो। नाट्यकर्मी प्रवीन पुमाले भनेजस्तै यसको कुनै महŒव र तुक छैन। यो रोगबाट नेपाली रंगकर्मी, निर्देशक र स्रष्टा सचेत मात्र होइन, गम्भीर बन्नुपर्छ। नेपाली रंग गतिविधि बढ्नुलाई यसको विकासको कसीमा हेर्न सकिँदैन र हुँदैन पनि। नाटक गर्न गैरनाटक विधाबाट जबर्जस्त सामग्री तान्नुपर्ने परिस्थिति नै दुःखद् हो। यत्रो बहुसांस्कृतिक मुलुकमा नाटक मञ्चनका लागि विषयवस्तु पाइएन भन्नु सागरमा यात्रा गर्नेले पानी देखिने भन्नु जत्तिकै हो। हाम्रा बहुजातीय संस्कारभित्र रहेका सयौँ नाटकीय आख्यान उपाख्यानको मात्र नाटकीकरण गर्ने हो भने हामीलाई मात्र होइन, पूरै एसिया महादेशलाई पुग्ने रंगमञ्चीय विषयवस्तु हामीसँग छन्। सोरठी, घाँटु, बालन, कर्खा, मालश्री, गोपिचन, होरी, लीला, कार्किक नाच, विविध जात्रा, झाँकी आदिभित्र लुकेका सयौँ नाटकीय विषयवस्तुका कुरा प्रदर्शनयोग्य छन्। यसको अर्थ हो, सांस्कृतिक रंगमञ्चको सम्भावना हामी यति अनुपम छौँ, जुन संसारमै छैन। त्यसको खोजी गर्न छोडेर युरोपका गल्लीमा मिल्किएका बासी विषयवस्तुको पूजन हुनु कदापि रंगकर्मका लागि सकारात्मक कुरा होइन। यस्तैयस्तै आयातीत, रंगमञ्चीय गोलचक्करमा गएको साल बिते पनि आगामी दिनमा नेपाली रंगमञ्चमा एक प्रकारको पुर्जागरण आओस्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

विदेशमा बस्ने नेपालीलाई केन्द्रित गरेर हाम्रो मुभि डटकमले नयाँ र पुराना नेपाली फिल्महरुलाई अनलाइनमार्फत ३० दिने विशेष प्याकेज सुरु गरेको...

'पशुपति' पछि 'धनपति'

'पशुपति' पछि 'धनपति'

अघिल्लो फिल्ममा फिल्म 'पशुपति' बनेर दर्शक रिझाएका खगेन्द्र लामिछाने लगभग उही टिमका साथ 'धनपति' बनेर आएका छन्। 'पशुपतिप्रसाद' बाट सहकार्य...

किताब यात्रामा  'हरिबहादुर'

किताब यात्रामा  'हरिबहादुर'

हास्य कलाकार हरिवंश आचार्य पुस्तक यात्रामा निस्किएका छन्। आचार्य गत साता सार्वजनिक उपन्यास 'हरिबहादुर' लाई आम मानिससम्म पुर्‍याउने उद्देश्यले यात्रामा...

तेरियाका गुरु

तेरियाका गुरु

तीन वर्ष अघि रुपन्देही रुद्रपुरकी १२ वर्षीया तेरिया फौजामगर भारतको मुम्बईमा धेरै प्रतिस्पर्धीलाई उछिन्दै डिआइडी लिटिल मास्टरको उपाधि जित्न सफल...