१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रौढावस्थाका यौन समस्या

डा. सुबोधकुमार पोखरेल
पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो, जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषको भन्दा महिनावारी बन्द हुने बेला आसपासका महिलाहरूको यो उमेर बढी संवेदनशील हुन्छ ।
इस्ट्रोजेन हार्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तन आउँछन् । मानसिक परिवर्तनमा डिप्रेसनका लक्षण देखिन सक्छ भने शारीरिक परिवर्तनमा महिनावारी छिटो–ढिलो हुने, कमबेसी हुने जस्ता गडबडी हुन्छन् । यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुन सक्छ, जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनिबीचको सहज घर्षण सम्भव हुन छाड्दछ र यौनसम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन, पीडा पनि हुन सक्छ । यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो गर्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँघुरो बनाउन सक्छ । साँघुरो र ओभानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा वा अप्ठ्याराका डरले यौन चाहना नै घटेर जान्छ । अर्कातिर, डिप्रेसनसमेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुष साथी वा श्रीमान्ले माया चाहिँ गरोस् तर सम्भोग नगरोस भन्ने मानसिकताको विकास हुन्छ ।

पुरुषबाट समझदारी र आश्वासन नपाएका नारीहरूको मानसिक अवस्था अर्कै हुन्छ । उनीहरू निश्चित उमेरमा आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको हठात् परिवर्तनबाट किंकर्तव्यविमूढ मात्र होइन, कुण्ठा र ग्लानिबाट पनि ग्रस्त हुन पुग्छन् ।  


पति वा पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण हुन्छ । कतिपय पुरुष योनिबाट चिप्लो स्राव ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्छन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्य्राइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतरनाक भ्रमसम्म पाल्न पुग्छन् । जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बीजारोपण हुन सक्छ । यस्तो जटिलता स्वाभाविक भएको बुझेका पढेलेखेका समझदार पुरुषहरूले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको, बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरु बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन् ।
योनि ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेलहरू बजारमा बिक्री भइरहेका पाइन्छन् । तिनीहरूको विश्वसनीयताको मापन उपभोक्ता स्वयंले प्रयोग गर्दा आफूले गरेको अनुभव र गुणस्तरीय ब्रान्डको हो कि होइन भन्नेबाट गर्नुपर्ने हुन्छ । मानिसको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो लुब्रिकेन्ट अर्थात् चिप्लो पदार्थ हो ।
योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनासा भन्ने अंगमा यस्तो चिप्लो जेल वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेल वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भए पनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने, स्त्रीसँग प्रेमपूर्ण वार्तालाप गर्ने (खास गरी विगतका मधुर स्मृतिका प्रसंगहरू निकाल्ने) र कहिलेकाहीँ स्पस्ष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्राक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संवेदनशील अंगमा आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गरी आफ्नो अप्ठ्यारालाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्दछ र यौनजीवन पनि सुखद रहिरहन्छ ।
उता, पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका नारीहरूको मानसिक अवस्था अर्कै हुन्छ । उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यस हठात् परिवर्तनबाट किंकर्तव्यविमूढ मात्र होइन, कुण्ठा एवं ग्लानिबाट ग्रस्त हुन पुग्छन् । किनभने, नारीको सबैभन्दा प्रिय चिज उसको घर हो । अनि, नारीलाई राम्रोसँग थाहा हुन्छ– यौनको भोक शान्त पार्न नपाएको पुरुषबाट कुनै पनि बेला यस्तो काम हुन सक्छ, जसबाट घरको मर्यादा र गरिमा भंग हुन जान्छ । यस्तो त्रास बोकेकी नारीले कुनै यस्तो अकल्पनीय पाइला चाल्न सक्छे, जसले उसका अन्य सबै उपलब्धिलाई क्षतविक्षत पारेर भए पनि उसको घरको मर्यादा कायम राख्छ भन्ने विश्वास होस्, चाहे त्यो तात्कालिक विश्वास उसको जतिसुकै ठूलो भ्रम किन नहोस् !

 

प्रकाशित: ११ वैशाख २०७४ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App