१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नाेट साट्न पटक–पटक आग्रह गर्दा पनि सुनेन भारतले

काठमाडौं– प्रतिबन्धित भारु नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतले सुनेको नसुन्यै गरेर बसेको छ । पछिल्लोपटक राष्ट्र बैंकले चैत ३१ गते भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई यस विषयमा पत्र पठाएको थियो । त्यसको जवाफ अझै आएको छैन ।

फेरि राष्ट्र बैंकले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार ग¥यो । त्यसको पनि भारतले कुनै जवाफ नदिएको राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानाले मंगलबार नागरिकलाई बताए । ‘पटक–पटक आग्रह गरेका छौं,’ उनले भने, ‘अप्रिल १४ तारिख (चैत ३१) मा आरबिआईलाई र २–३ दिनअघि परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाएका छौं, दुवैलाई पठाएको पत्रको अहिलेसम्म कुनै पनि जवाफ आएको छैन ।’
भारतले हरेक नेपालीबाट चार हजार पाँच सय रुपैयाँसम्म प्रतिबन्धित नोट साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको थियो । भारतको त्यही प्रस्तावलाई नेपालले पनि समर्थन गर्दै पत्राचार गरेको हो । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे पनि ऊ अझै प्रतिबन्धित पाँच सय र हजारका भारु साट्न तयार भएको छैन ।
प्रत्येक नेपाललीले २५ हजार भारुसम्म बोक्न पाउने अधिकार छ । तर, नेपालले त्यस्तो अधिकारको उपभोग गर्नबाट पन्छित हुनुपरेको त छँदै छ, भारत प्रतिव्यक्ति चार हजार पाँच सय भारु साट्ने विषयमा सहमत हुँदा पनि अझै प्रतिबन्धित भारु नोट सटही हुन सकेको छैन । ‘लचिलकताको पनि त हद हुन्छ नि,’ ढुंगानाले भने ।
वैशाखको पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा रहेको बेला भएको भेटमा भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही सम्बन्धमा आफूहरू सकारात्मक रहेको बताएका थिए । तर, अहिलेसम्म प्रतिबन्धित भारु नोट साट्ने विषयले मूर्त रुप लिन सकेको छैन् ।
यसअघि नेपाल राष्ट्र बैंक र आइबिआईका उच्च अधिकारीबीच छलफल भएको थियो । भारतीय पक्षले नेपालमा रहेको प्रतिबन्धित भारु प्रतिव्यक्ति चार हजार पाँच सय रुपैयाँसम्म साट्न सकिने बताएको थियो ।
उसले आफ्ना नागरिकलाई चार हजारसम्म मात्र भारु साट्ने सुविधा दिएको तर्क अघि सार्दै नेपालीलाई सोही अनुपातमा सुविधा दिन सकिने बताएको थियो ।
राष्ट्र बैंकका प्रतिनिधिले भने वैधानिक रुपमा नेपालीलाई २५ हजार रुपैयाँ बराबर भारु बोक्न दिइएकाले उक्त परिमाण बराबरका नोट साटिदिन आग्रह गरेका थिए । भारतीय पक्षले भने यस्तो प्रस्ताव अस्वीकार गरेको थियो ।
नेपाल सरकारले भारतीय पक्षले भने अनुसार नै भारु नोट साट्ने निर्णय गरेको थियो । सरकारको निर्णय पत्राचार मार्फतआरबिआई र परराष्ट्र मन्त्रालयलाई गराउँदा समेत पनि भारतीय पक्षले भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
राष्ट्र बैंकले प्रतिबन्धित भारु नोट खल्तीमा राखेर बस्ने कुरा पनि नभएकाले पनि साट्ने निर्णय गरे पनि भारतले भने बेबास्ता गर्दै आएको छ  । भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिइसक्दा पनि नेपालमा रहेका नोटबारे टुंगो लागेको छैन ।
नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित पाँच सय र हजार दरका पौने आठ करोड भारु छन् । यसअघि केन्द्रीय बैंकले तीन करोड ३६ लाख ९० हजार भारु नोट रहेको बताएको थियो थियो । होटल र मनी चेन्जरसँग भएको पैसा संकलन हुँदा प्रतिबन्धित भारु बढेको राष्ट्र बैंकको भनाइ छ ।
यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ । भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ मा सम्बोधन गर्दै राति १२ बजेदेखि पाँच सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए । भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ ।
नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो ।
नेपाल राष्ट्र बैंकले प्रतिबन्धलगत्तै आफूसँग भएका ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेको थियो ।
अढाइ वर्ष अघिसम्म नेपालमा पाँच सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो । भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा पाँच सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो । यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो ।

 

 

प्रकाशित: १३ वैशाख २०७४ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App