१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियालको पक्षमा उपाधिहोड

बार्सिलोना(एएफपी)– स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना बुधबार डेपोर्टिभो ला कोरुनाविरुद्ध ६–२ को सहज जित हासिल गरेको रियाल मड्रिडले स्पेनिस ला लिगा उपाधिहोड आफ्नो पक्षमा पारेको छ।

समान ७८ अंक बटुलेको बार्सिलोना क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तथापि एक खेल कम खेलेकाले उपाधिहोडमा रियालको सम्भावना बढी भएको हो। तर अंक बराबरी भए ‘हेड टु हेड’ मा बार्सिलोना बलियो स्थितिमा छ।

लियोनल मेसी, आन्द्रे गोमेस र पाब्लो एल्कासरको समान २÷२ गोलप्रेरित बार्सिलोनाले बुधबारै  रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ओसासुनालाई ७–१ ले पराजित गरेको थियो।

रियालका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बार्सिलोनाविरुद्ध खेलेको टोलीमा ९ खेलाडी परिवर्तन गरेका थिए। रियाल बार्सिलोनासँग ३–२ ले पराजित भएको थियो।

रोनाल्डो, करिम बेन्जेमा र घाइते भएका गारेथ बेल लगातार तीन अवे लिग खेलमा रियालको टोलीमा अटेनन् । तर फेरि पनि उनीहरूको अनुपस्थिति टोलीमा खड्केन ।

‘प्रशिक्षकका लागि यो निकै कठिन कार्य हो । जब खेलाडीले आजको जस्तो प्रदर्शन गर्छन् र उनीहरूलाई अर्को खेलमा खेलाउन सकिँदैन,’ रियालका प्रशिक्षक जिदानले भने, ‘हामीसँग असाधारण खेलाडीहरूको समूह छ र अहिले सबै चुनौती पेस गर्न सक्षम छन् ।’

एक मिनेट बित्न नपाउँदै अल्भारो मोरटाले गोल गर्दै घरेलु टोलीमाथि दबाब सिर्जना गरेका थिए। लुकास भाजक्वेजको क्रसमा हामेस रोडरिग्वेजले १४औं मिनेटमा अग्रता दोब्बर पारे । फ्लोरिन एन्डोनले ३५औं मिनेटमा ला कोरुनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा भाजक्वेजले अर्को गोल थपे । ६६औं मिनेटमा रोडरिग्वेजले चौथो गोल गरे भने इस्कोले ७७औं मिनेटमा पाँचौं गोल थपे । खेल सकिन तीन मिनेट बाँकी छँदा कासेमिरोले अर्को गोल थपे । त्यसअघि ८४औं मिनेटमा जोसेलुले ला कोरुनाका लागि गोल गरेका थिए ।

शनिबार एल क्लासिकोमा बार्सिलोनाका लागि विजयी गोल गर्दै ५ सयौं गोल पूरा गरेका मेसीलाई घरेलु मैदान क्याम्प नोउमा समर्थकले सम्मान प्रकट गरेका थिए ।

पाँच पटकका विश्व वर्ष खेलाडी बनिसकेका मेसीले ओसासुनाको रक्षपंक्तिले गरेको गल्तिमा फाइदा लिँदै १२औं मिनेटमा बार्सिलोनालाई अग्रता दिएका थिए । इभान राकेटिकको क्रसमा आन्द्रे गोमेसले अग्रता दोब्बर पारे । बार्सिलोनामा प्रभावकारी प्रदर्शन गर्न नसकेका गोमेसका लागि बुधबारको रात भने सुखद रह्यो ।

‘हामीसँग धेरै खेलाडीलाई प्रयोग गर्ने अवसर छ,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘यो यस्तो खेल हो जसले खेलाडीको व्यक्तिगत प्रदर्शन देखाउने मौका दिएको छ । र यस्तो जितले सिजनको अत्यसम्म आशा जगाउँछ ।’

दोस्रो हाफको सुरुमै रोबर्टो टोरेसले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै भ्रमणकारी टोलीलाई आशा जगाएका थिए। तर त्यसको १० मिनेट बित्न नपाउँदै गोमेसको अर्को गोल थपे ।

६१औं मिनेटमा मेसीले पुनः अर्को गोल थप्दै खेल बार्सिलोनाको पक्षमा पारेका थिए । त्यसको तीन मिनेट बित्न नपाउँदै फ्रान्सिको एल्कासरले अर्को गोल थपे भने ६७औं मिनेटमा हाभियर मास्केरानोले पेनाल्टीमा गोल गरे । खेल सकिन ८६औं मिनेटमा एल्कासरले व्यक्तिगत दोस्रो गोल थप्दा बार्सिलोनाले ओसासुनामाथि सहज जित निकाल्दै महŒवपूर्ण ३ अंक जोड्यो।

लेगानेसले लस पाल्मसलाई ३–० ले हराएपछि ओसासुना रेलिगेसनमा पर्ने पक्का भएको छ । लिगमा ४ खेल बाँकी रहँदा ओसासुना १८ अंकका साथ पुछारमा छ । रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको लेगानेससँग ३० अंक छ।

बुधबारै रियाल सोसिसाडले भ्यालेन्सियालाई ३–२ ले हराउँदै युरोपा लिग खेल्ने आशा कायम राखेको छ । सोसिडाड ५८ अंकका साथ छैटौं स्थानमा छ भने सातौं स्थानको एथलेटिक बिल्बाओसँग ५६ अंक छ । तथापि बिल्बाओले १ खेल कम खेलेको छ । ४० अंक जोडेको भ्यालेन्सिया भने १२ औं स्थानमा छ ।

एक खेल कम खेलेकाले उपाधिहोडमा रियालको सम्भावना बढी छ । तर अंक बराबरी भए ‘हेड टु हेड’ मा बार्सिलोना बलियो स्थितिमा छ ।

 

 

 

 

प्रकाशित: १५ वैशाख २०७४ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App