१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

काठमाडाैँ – सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ ।

सरकारबाट संसद्मा प्रस्तुत संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत जुटाउन सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले शनिबार दिनभर दौडधुप र बैठक गरे । दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बैठक बस्यो । कांग्रेसँगको बैठकपछि बालुवाटारमै माओवादी केन्द्रका नेताहरूको छुट्टै अनौपचारिक बैठक बसेको थियो ।

बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रको बैठक बस्नुअघि संशोधनको विपक्षमा उभिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट पुगेका थिए । ओलीसँगको भेटमा देउवाले संशोधनको पक्षमा समर्थन गर्न आग्रह गरेका थिए । ओलीले भने संशोधन पक्षमा एमाले उभिन नसक्ने बरु  त्यसलाई असफल बनाउने जबाफ दिएका थिए । ओलीले एमालेबिना संशोधन पारित गराउन दुईतिहाइ बहुमत पुग्न नसक्ने पनि बताए । ओलीले बजेटपछि निर्वाचन गर्न आचारसंहिताले पनि नदिने भएकाले वैशाख ३१ मै देशभर एकचरणमा चुनाव गराउन पहल गर्न देउवालाई आग्रह गरेका थिए । 

ओलीसँगको वार्ता सकारात्मक नभएपछि देउवा त्यहाँबाट हिँडेका थिए । यसअघि शुक्रबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि ओलीलाई भेटेर संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । दाहाल र थापालाई पनि ओलीले आफ्नो पार्टी संशोधनको विपक्षमा उभिने जबाफ दिएका थिए । ओलीसँगको भेट सकारात्मक नभएपछि शनिबार बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रको बैठकमा एमालेबिना पनि दुईतिहाइ पु¥याउनेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । कांग्रेस र माओवादी केन्द्रको बैठकपछि प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेतासँग सम्पर्क गरेका थिए । मोर्चाका नेताले सरकारले  इमानदार  प्रयास गरे संविधान संशोधनका पक्षमा दुईतिहाइ बहुमत पुग्ने बताएका थिए । मोर्चाका संयोजक संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष उपेन्द्र  यादवले सरकारले इमानदार प्रयास गरे संशोधन पक्षमा दुईतिहाइ पुग्ने बताएका थिए । ‘सकारले चाहने हो भने एमालेबिना पनि दुईतिहाइ बहुमत पुग्छ । पक्षमा दुईतिहाइ पुग्ने स्थिति छ’, यादवले नागरिकसँग भने ।

मोर्चाको ठूलो घटक राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संशोधन पक्षमा दुईतिहाइ बहुमत पु¥याउने सरकारको प्रयासमा आफ्नो दलको सहयोग र समर्थन रहने बताए । ‘संशोधन पक्षमा दुईतिहाइ बहुमत जुटाउन हामीले पनि प्रयास गर्छौं,’ महतोले भने । 

कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले एमालेले सहयोग नगरे पनि संशोधन विधेयक पारित हुने संकेत गरेका थिए । उनले संशोधनका पक्षमा उभिन एमालेलाई आग्रह गर्ने पनि बताए । एमालेलाई लक्षित गर्दै देउवाले भने, ‘मन नलागे विपक्षमा मतदान गर्नुहोस् तर संसद्को प्रक्रिया अवरोध गरेर मुलुकलाई बन्धकमा राख्ने काम नगर्नुहोस् ।’
 
बालुबटार स्रोतका अनुसार संशोधन पक्षमा दुईतिहाइ बहुमत जुटाउन प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले निर्णायक मानिएका साना दलका नेतासँग पनि सम्पर्क गरेका छन् । प्रधानमन्त्रीले परिवार दलका अध्यक्ष एकनाथ ढकालसँग निरन्तर सम्पर्क गरिरहेको स्रोतको भनाइ छ । ढकालले अझैं स्पष्ट निर्णय दिन सकेका छैनन् । संसद्को अकंगणित हेर्दा संशोधन पक्षमा दुईतिहाइ बहुमत पु¥याउन सरकारले थप पाँचदेखि सात सांसदलाई आफूतर्फ तान्नुपर्छ । मतदानको दिनसम्म विधेयकका पक्षमा दुईतिहाई पुग्ने सरकारी पक्षको विश्वास छ । 

प्रकाशित: १७ वैशाख २०७४ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App