१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कस्तो मान्छेलाई कस्तो सनग्लास ?

गर्मी मौसम सुरु भएसँगै भीड लाग्ने पसलमध्ये एक हो, चस्मा पसल । धुलोधुवाँ, घामको किरणबाट बच्न र स्टाइलिस देखिन धेरैले सनग्लास लगाउने गर्छन् । जाडो यामको तुलनामा गर्मी याममा सूर्यको पराबैजनी किरण तीन गुणाले बढी हुने गर्छ जसले आँखामा असर पुर्याउँछ । विशेष गरी गर्मीमा धुलोधुवाँ र घामका कारण आँखा चिलाउने, पोल्ने, आँशु बग्नेलगायत समस्या देखिने गर्छ । यी समस्याबाट बच्नका लागि भए पनि सनग्लास लगाउनुपर्छ ।
बजारमा रेबन, फुजी, भग, भर्सासी, प्राडा, गुचीलगायत ५० भन्दा बढी ब्रान्डका सनग्लास पाइन्छन् । नेपाली बजारमा दुई सयदेखि २०/२५ हजारसम्म मूल्य पर्ने सनग्लास पाइन्छन् । सस्तो मूल्यमा बेचिने सनग्लास ब्रान्डेड सनग्लासका कपिड वा नक्कली भएको व्यापारीहरू बताउँछन् । सक्कली सनग्लासको मूल्य सामान्यतया १० हजारबाट सुरु हुने काठमाडौँ, सिभिल मलस्थित सेलिब्रेसन सनग्लासका अर्जव नेपालले बताए । ‘डुप्लिकेट सनग्लास लाउनुभन्दा नलगाएको बेस,’ उनी भन्छन्, ‘यस्ता नक्कली सनग्लासले केही दिन फेसनेबल देखाए पनि पछि आँखाको समस्या निम्त्याउन सक्छ ।’ चस्मा किन्दा निकै ध्यान दिनुपर्ने नेपाल बताउँछन् । ‘बढी पैसा तिर्दैमा सक्कली सनग्लास आउँछ भन्ने पनि छैन । महँगो दाममा नक्कली सनग्लास बेच्नेहरू पनि छन् यहाँ ।’ जहाँ पायो त्यहाँबाट सनग्लास नकिनी राम्रो स्टोरबाट किन्ने सल्लाह नेपाल दिन्छन् । ‘आँखाका सुरक्षाका लागि सनग्लास लगाइन्छ । त्यसले नै आँखा बिगार्ने काम गरेपछि के मतलब भयो र ! त्यसैले सनग्लास किन्दा विचार पु¥याउनुपर्छ,’ उनी भन्छन् ।
काठमाडौँ मलकै अर्का एक सनग्लास व्यापारी नवीन लामा जाडो यामभन्दा गर्मीमा सनग्लास किन्नेको भीड बाक्लिने बताउँछन् । ‘जाडोमा भन्दा गर्मीमा चस्मा किन्नेहरू बढी आउँछन्,’ उनी भन्छन् ।
सनग्लास छान्दा...  
–अनुहारको बनोटअनुसार सनग्लास छान्नुपर्छ ।
–गोलो अनुहार भएकाले चारपाटे फ्रेम भएको सनग्लास किन्नुपर्छ ।
–लाम्चो अनुहार हुनेलाई गोलो फ्रेम भएको सनग्लास सुहाउँछ ।
–मुटु सेपको अनुहार भएकाहरूले रेट्रो स्क्वायर फ्रेम भएको सनग्लास छान्नुपर्छ ।
–नाक चुच्चो हुनेलाई चारपाटे र गोलो दुवै खाले फ्रेम भएको सनग्लास सुहाउँछ ।
–अण्डाकार आकारको अनुहार भएकाले धेरै ठूला वा सानो फ्रेम भएको सनग्लास छान्नु हुन्न । ग्ल्यामरस लुक पाउन स्क्वायर फ्रेम भएको सनग्लास छान्न सकिन्छ ।
–सनग्लास छान्दा छालाका रङलाई पनि ध्यान दिनुपर्छ । गहुँगोरो वर्णका मानिसले रंगिन फ्रेम भएको चस्मा नछान्दा राम्रो । यस्ता व्यक्तिलाई हलुका रङका चस्मा सुहाउँछन् ।

‘सुरक्षाका लागि सनग्लास’
डा. आशिक प्रधान
, दृष्टि विशेषज्ञ
सनग्लास फेसनभन्दा सुरक्षाका लागि रोज्दा फाइदा पुग्छ । दिउँसोको चर्को घाममा रोड टल्किन्छ, कतिपय अवस्थामा त आँखै खोल्न नसकिने पनि हुन्छ । यस्तो अवस्थामा पोलोराइज लेन्स भएको सनग्लास लगाउनुपर्छ । त्यस्तै, धुलोधुवाँबाट बच्न कर्भ लेन्स भएको सनग्लास लगाउन सकिन्छ । हावाहुरी लागेको बेलामा भने र्याप अराउन्ड सनग्लासले आँखाको सुरक्षा गर्छ । लामो समयसम्म टिकाउ हुने सनग्लास चाहनेले टेम्पर्ड सनग्लासलाई रोज्न सक्छन् । टेम्पर्ड सनग्लास खस्यो भने पनि हतपत फुट्दैन र स्क्र्याच पनि हुँदैन । यसलाई अहिले डायमन्ड हार्ट कोटिङ सनग्लास पनि भन्न थालिएको छ । हावाहुरीका साथै धुलोबाट जोगिन पनि यो सनग्लास निकै प्रभावकारी छ । आजभोलि ‘कपिड सनग्लास’ धेरैले लगाउँछन् । यस्ता सनग्लासले आँखालाई खासै सुरक्षा दिन सक्दैनन् ।

प्रकाशित: २७ वैशाख २०७४ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App