छुल्ठिमको भिलेन रेखा

बुधबार, ०३ जेठ २०७४, ०९ : ०१ नागरिक


काठमाडौं – यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘डायरी’मा एउटा अनौठो संयोग भएको छ । नायिका छुल्ठिम गुरुङ निर्मात्रीका रुपमा र सनी सिंह नायकका रूपमा फिल्मबाट डेब्यु गर्दैछन् भने नायिका रेखा थापा पहिलो पटक भिलेन चरित्रमा देखिँदैछिन्।

फिल्मका लेखक छेतेन गुरुङको कथा मन पराएपछि आफ्नो लगानीसँगै प्रमुख भूमिकामा देखिएकी छुल्ठिमलाई नायिका र निर्मात्रीको भूमिका निर्वाह गर्न निकै गाह्रो परेको रहेछ । ‘फिल्मको लगानीकर्ता र नायिका दुवै जिम्मेवारी लिँदा निकै गाह्रो हुँदोरहेछ,’ हालैको भेटमा छुल्ठिमले भनिन्, ‘तर काम गर्दा पाएको प्रशंसाले दुःख भुलिसकेकी छु । फिल्मको टिम राम्रो भएर पनि काम गर्न सजिलो भयो ।’

फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिकामा अभिनय गरेर दर्शकमाझ चिनिएकी छुल्ठिमले ‘डायरी’मा दर्शकले रोमान्स, एक्सन र कमेडीको सम्मिश्रण पाउने बताइन् । ‘म फिल्ममा चुलबुले चरित्रमा छु,’ छुल्ठिमले भनिन् ।

छुल्ठिमले ‘डायरी’ को अनुभव सुनाइरहँदा उनकै छेउमा बसेका नवनायक सनी मौन रहन सकेनन् । बहराइन, श्रीलंका, भारतपछि नाइजेरियामा इलेक्ट्रिकल इन्जिनियरिङको काम गरिरहँदा सनी फिल्मका लागि छानिएका रहेछन् । ‘मलाई अभिनय र मोडलिङ निकै मनपथ्र्यो । यो फिल्मका लागि अडिसन भइरहेको छ भन्ने थाहा पाएपछि मैले पनि अडिसन दिएँ र पास भएँ,’ सनीले भने, ‘नेपाली फिल्म पहिल्यैदेखि हेरिरहेकाले पनि अभिनयको बारेमा केही जानकारी थियो । अडिसनमा पास भएपछि अभिनय, द्वन्द्व, नृत्य विषयका कक्षा लिएँ ।’

म्यानहन्ट इन्टरनेशनल नेपाल २०१३ को उत्कृष्ट पाँचमा पर्दै मिष्टर फोटोजेनिकको विधागत अवार्ड पनि पोल्टामा पारिसकेका सनीलाई फिल्ममा लिनका लागि छुल्ठिमले सनीका पितालाई फकाउनुपर्याे । ‘आधा घन्टासम्म फिल्मको कथा र सनीको भूमिकाका बारेमा बताएपछि मात्र बुबा सहमत हुनुभयो । त्यसपछि उसलाई नाइजेरियाबाट तुरुन्तै नेपाल बोलायौं,’ छुल्ठिमले भनिन् ।

लभरब्वाय र रिसाहा पात्रको भूमिकामा फिल्ममा देखिने सनीले आफूले कडा मिहिनेत गरेको बताए । भविष्यमा राम्रो कथाको फिल्ममा काम गर्ने योजना बुनेका उनले पेशालाई पनि सँगै लैजाने खुलाए ।

फिल्ममा भिलेन चरित्रमा देखिएकी अभिनेत्री रेखालाई फिल्ममा अनुबन्ध गर्न कुनै गाह्रो नपरेको छुल्ठिमले खुलाइन् । ‘रेखा मेरो मिल्ने साथी हो । ऊ नौलो चरित्रमा अभिनय गर्न चाहन्थ्यो । मैले फिल्मको कथा सुनाएपछि ऊ अभिनयका लागि राजी भयो,’ छुल्ठिमले भनिन्, ‘फिल्ममा रेखाको भूमिका सशक्त छ । भिन्न लुक्समा देखिएका कारण पनि आम दर्शकले उसको अभिनयलाई मनपराउने छन् ।’

अभिनेत्री रेखाले पनि आफ्नो भूमिका दर्शकका लागि नौलो हुने बताइन् । ‘मेरो यस्तो भूमिका दर्शकका लागि नयाँ हुनेछ । पहिलो पटक भिलेन चरित्रमा देखिएकाले पनि म उत्साहित छु,’ रेखाले भनिन् । फिल्मका निर्देशक अनिल योञ्जन हुन् । 









यसमा तपाईको मत

अन्य समाचार

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

गीतकार रत्नसमशेर थापा ‘खेमराज गुरुङ संगीत सम्मान’ बाट सम्मानित भएका छन् । गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा खेमराज...

अभिनयमा श्वेताको पुनरागमन

अभिनयमा श्वेताको पुनरागमन

तीन वर्षअघि फिल्म 'कोहिनूर'मा मुख्य भूमिकामा अभिनय गरेकी स्वेता खड्का फिल्मका कलाकार तथा पति श्रीकृष्ण श्रेष्ठको निधनपछि फिल्मको पर्दाबाट टाढै...

स्काउट भाद्र ८ मा

स्काउट भाद्र ८ मा

नेपाली कथानक चलचित्र स्काउट भाद्र ८ मा रिलिज हुने भएको छ। फिल्ममा मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने...

राहत संकलनमा जुटे कलाकार

राहत संकलनमा जुटे कलाकार

अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले...