१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

'अन्तर्जातीय विवाहका कारण हत्या'

काठमाडौं- अन्तर्जातीय विवाहका कारण एक युवकको हत्या भएको भन्दै राष्ट्रिय दलित आयोगमा उजुरी परेको छ। काभे्र, पाँचखाल–६ होक्से निवासी १८ वर्षीय अजित ढकाल मिजारको हत्या भएको आरोपमा दलित महिला संघ काभ्रेले उजुरी दिएको हो। मृतक मिजारको केही समयअघि मंगले उच्च माविमा अध्ययनरत कल्पना पराजुलीसँग पे्रमविवाह भएको थियो।

निवेदनअनुसार विवाह भएको तेस्रो दिन असार २७ मा माइती पक्षले केटीको उमेर नपुगेको भन्दै विवाह बदर गर्न प्रहरीमा उजुरी दिएको थियो। प्रहरी प्रमुखले मिलापत्र गरी केटी माइती पक्षलाई बुझाएको थियो। त्यसपछि मिजारलाई केटी पक्षका आफन्तले गुन्डा लगाएर धम्क्याउँदै आएका थिए।

असार २९ देखि मृतक मिजार बेपत्ता भए। ३० गते धादिङ गजुरी सैनिक ब्यारेकनजिकै उनको शव फेला पर्‍यो। धादिङ प्रहरीले बेवारिस शव भन्दै गाडेका थिए। धादिङ प्रहरीले झुन्डिएको अवस्थामा फेला परेको बेवारिस शव गाडेको राष्ट्रिय दलित आयोगलाई जानकारी गराएको छ।

उता, छोरा बेपत्ता भएपछि अभिभावक हरिभक्त ढकाल मिजार र आमा काली मिजारले उजुरी दिएपछि धादिङमा शव गाडिएको पत्ता लागेको थियो। त्यसपछि अभिभावक तथा स्थानीय दलित नागरिक समाज धादिङ पुगेको राष्ट्रिय दलित आयोगका सदस्यसचिव सीताराम घलेले बताए। 'प्रहरीले झुन्डिएको विवरण दिए पनि शवमा झुन्डिएको र पोस्टमार्टम गरेको आधार देखिएको छैन,' उनले आइतबार नागरिकसँग भने।

शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं ल्याउने तयारी भइरहेको घलेले बताए। घटनाबारे राष्ट्रिय दलित आयोगले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। विवाहलगत्तै केटी पक्षबाट मिजारलाई धम्की आइरहेको हुनाले घटनाको अनुसन्धान हुनुपर्ने घलेले बताए।

प्रकाशित: ३ श्रावण २०७३ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App