१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरि चल्ला नेपाल मेटल ?

काठमाडौं – सरकारले नेपाल औषधि लिमिटेडपछि नेपाल मेटल सहित बन्द रहेका अन्य केही सरकारी उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । बन्द भएका सरकारी उद्योगमध्ये नेपाल मेटल, हेटौंडा कपडा र ओरियण्ड म्याग्नेसाइट सञ्चालन प्रक्रिया अघि बढाइसकेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । 

आइतबार सरकारले जीवनजल उत्पादन गरेर औषधि उद्योग सञ्चालन भएको घोषणा गरेको थियो । मन्त्री हुनेबित्तिकै जोशीले पहिलो एजेन्डाको रुपमा बन्द भएका सरकारी उद्योग सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही अनुरुप औषधि उद्योग पुनः सञ्चालन गरेको र अन्य केही उद्योगको काम अन्तिम चरणमा पुगिसकेको उनको भनाइ छ । 

अहिले नेपाल मेटल, हेटौंडा कपडा र ओरियण्ड म्याग्नेसाइट उद्योग सञ्चालन प्रक्रिया अघि बढाइएको छ । झन्डै एक दशकअघि बन्द भएको मेटल कम्पनी पुनः सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको उद्योग मन्त्रालयको संस्थान शाखाका उप–सचिव दुर्गा पराजुलीले बताए ।
  
२०७२ सालमै मन्त्रिपरिषद्ले सरकारी लगानी नथप्ने गरी पुनः सञ्चालनको स्वीकृति दिइसकेको उक्त उद्योग सञ्चालन प्रक्रिया अघि बढाइएको अधिकारीहरु बताउँछन् । ‘यस उद्योगमा सरकारले अब थप सेयर लगानी गर्ने छैन,’ उपसचिव पराजुलीले भने, ‘अब हकप्रद सेयर जारी गरेर अन्य लगानीकर्ताबाट थप लगानी गरिने छ ।’

हाल यस उद्योगमा नेपाल सरकारको ७१ प्रतिशत र बाँकी २९ मा १३ प्रतिशत खेतान समूह १६ प्रतिशत भारतको हैदराबाद इन्डस्ट्रिजको सेयर छ । मन्त्रालयका प्रवक्ता पुरुषोत्तम नेपालले मेटल उद्योग सञ्चालनको लागि एक कम्पनी आएको बताए । उसले लगानी गर्न इच्छा देखाएको छ । 
सरकारले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमै सञ्चालन गर्ने तर सरकार बाहेकका लगानीकर्ताबाट पुँजी वृद्धि गराउने गरी पुनः सञ्चालनको तयारी भएको छ । कम्पनीको हालको पुँजी कति छ भनेर हिसाब भइरहेको छ । सरकारी पुँजी जति छ त्यसलाई सरकारी सेयरमा परिणत गरिनेछ । 

उक्त उद्योगमा १० कर्मचारी कार्यरत छन् । सम्पर्क कार्यालय भूगर्भ तथा खानी विभाग काठमाडौंमा छ । रसुवा र धादिङको बीचमा रहेको उद्योगको भवन र खानी सुरक्षाको लागि सुरक्षाकर्मी खटाइएको छ । 

उद्योगको खानी उत्खनन, अध्ययन र पूर्वाधारमा १८ करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । परीक्षणमा यहाँ जस्ता, सिसा, रुबी र चाँदीको कच्चा पदार्थ भेटिएको थियो । खानीस्थल नुवाकोटको त्रिशूलीबाट एक सय पाँच किलोमिटर पर पर्छ । खानी परियोजनाका लागि २०४४ सालमा नेपाली सेनाले रसुवाको स्याफ्रुबेसीदेखि सोमदाङसम्म करिब ५० किलोमिटर सडक खनेको थियो ।

माओवादी द्वन्द्व बढ्दै गएपछि असुरक्षाको कारण उत्पादन बन्द गरिएको उद्योग आर्थिक वर्ष २०६२÷०६३ देखि पूरै बन्द छ । अध्ययन अनुसार गणेश हिमाल आसपासमा करिब तीन लाख टन कच्चा पदार्थ (धाउ) छ । त्यसबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपालको माग धान्ने अनुमान छ । 

यहाँ चार लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त प्रतिवेदन १२ वर्षअघि नै परियोजनाले सार्वजनिक गरेको थियो ।

२०२४ सालमा बिडला कम्पनी हैदराबादले खानी अन्वेषण सुरु गरेको थियो । सरकारले त्यतिबेला खानीस्थलसम्म बाटो र बिजुली पु¥याउन नसकेपछि उसले परियोजना चलाउन सकेन । त्यसपछि २०३३ सालमा उक्त कम्पनी नेपाल सरकारले लियो । 

सरकारले पुनः सञ्चालन गर्न लागेको अर्को उद्योग हो– हेटौंडा कपडा । सरकार, सेना र प्रहरीको संयुक्त लगानीमा कारखाना पुनः सञ्चालन गर्ने तयारी गरेको छ । 

यो उद्योग सञ्चालनको लागि मन्त्रिपरिषदबाट स्वीकृत गनुपर्छ । त्योभन्दा अघि उद्योगले मन्त्रिपरिषद्बाट स्वीकृत गराउन अर्थ मन्त्रालयबाट अनुमति पाउनुपर्छ । उद्योग सञ्चालनको अनुमतिका लागि अर्थमा निवेदन दिएको पराजुलीले जानकारी गराए । 

त्यसैगरी, लामो सयमदेखि बन्द रहेर अर्बौं रुपैयाँको उपकरण खेर गइरहेको ओरियण्ड म्याग्नेसाइट सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढाइएको उद्योग मन्त्रालयको भनाइ छ । 

यो उद्योग सञ्चालन गर्न भन्दै दुई कम्पनीले इच्छा देखाएको नेपालले बताए । यो उद्योगमा पनि सरकारी लगानी नथप्न मन्त्रिपरिषदले भनिसकेको छ । यस अवस्थामा निजी क्षेत्रबाट लगानी थपेर उद्योग सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।     

प्रकाशित: ५ जेष्ठ २०७४ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App