रौतहट – गर्मी बढेसँगै उखु खेतीमा विभिन्न रोग र किराको आक्रमण हुन थालेकाले जोगाउन कृषिविज्ञहरुले किसानलाई सुझाव दिएका छन् । उखु खेतीलाई जेठ र असार महिनाको गर्मीबाट जोगाउन सकियो भने निकै राम्रो आम्दानी दिने भएकाले दुई महिना जोगाउन विज्ञहरुले सुझाव दिन थालेका हुन् ।
रौतहटको माटो तरकारी, धान र उखु खेतीको लागि निकै उपयुक्त रहेकाले उखु किसानका लागि अहिलेको समय निकै संवेदनशील रहेको बताइन्छ । गर्मीभर उखु खेतीमा ‘ग्रास होपर’ नामको किराले पातमा आक्रमण गरी पात खाइदिने, प्वाल पार्ने र पात काटेर सुकाइदिने हुनाले उखु कमजोर हुने र सुक्ने कृषिविज्ञको भनाइ छ । यसैगरी ‘अर्ली सुट बोरर’ नामको किराले आक्रमण गरी उखुको मुन्टा नै खाइदिनाले उखु सुक्ने गर्छ । उखु सुकेर दाउराजस्तो भएपछि खेती नै सखाप हुने समस्या देखिने हुनाले समयमै दुवै किसिमको किराबाट सतर्क हुन जिला कृषि विकास कार्यालय रौतहटले किसानलाई सुझाव दिएको छ ।
गत वर्ष जिल्लामा करिब साढे तीन हजार बिघा जमिनमा उखु खेती भएकोमा यस वर्ष करिब साढे पाँच हजार बिघा उखु खेती भएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका उखु प्रबन्धक सियाराम साहले बताए । जिल्लामा उखु खेती बढेसँगै किसानले उखुलाई गर्मीबाट जोगाउने आवश्यकता पनि बढेको प्रबन्धक साहको भनाइ छ । ग्रास होपर र अर्ली सुट बोरर किराको प्रकोप उखु खेतीमा देखापरिसकेकोले तत्काल समयमै नियन्त्रण गर्न साहले आग्रह गरे ।
दुवै किराले महामारीको रुप लिनुभन्दा पहिले नै क्लोरो फाइरिफस, फिउरा डन, युमेट, फोरेट लगायत कीटनाशक औषधिमध्ये कुनै एकलाई उखुको उचाइ र बाक्लोपनको आधारमा खेतमा छर्नुपर्ने प्रबन्धक साहको भनाइ छ । उखुमा एकपटक औषधि छरेमा एक वर्षको लागि ढुक्क हुन सकिने हुनाले समयमै किसानले उखु खेतीलाई गर्मीको रोग र किराबाट जोगाउनुपर्ने जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए ।
जेठको चर्को गर्मीसँगै उखु खेतीमा रोग र किराको प्रकोप देखिएको गढीमाई गाउँपालिका गम्हरिया गाउँका रामदेव राउत कुर्मीले बताए । गर्मीमा उखु खेतीमा सिँचाइ गरेर मात्र रोग र किरा नियन्त्रण नहुने हुनाले आफ्नो तीन बिघा उखु खेतीमा रोग र किरा नियन्त्रण गर्ने औषधि छरिरहेको बताए ।
प्रकाशित: ७ जेष्ठ २०७४ ०५:३२ आइतबार