१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

राजधानीमा नयाँ फिल्म कलेज

काठमाडौं- नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म कलेज र एभरेस्ट फिल्म एकेडेमीले फिल्मसँग सम्बन्धित विषय पढाइरहँदा शुक्रबारबाट औपचारिक रूपमा कान्तिपुर फिल्म एकेडेमी पनि सञ्चालनमा आएको छ।

राजधानीको मैतीदेवीमा स्थापना भएको एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रारम्भमै रसियाको नोभोरिस्क स्टेट थिएटर इनिष्टिच्यूटसँग सहकार्यको सम्झौता गरेको छ। एकेडेमीका अध्यक्ष तथा निर्माता छविराज ओझाले फिल्म अध्ययन र निर्माणका लागि रसियाली संस्थासँगको सम्झौताले दुई मुलुकबीच सांस्कृतिक सम्बन्ध स्थापनामा भूमिका खेल्ने बताए। 'सम्झौतापछि हाम्रा विद्यार्थीले रसियाली संस्थाबाट छात्रवृत्तिसँगै गुणस्तरीय शिक्षा पाउनेछन्,' उनले भने, 'मैले फिल्म निर्माणमा ३० वर्ष बिताएँ। अबको ३० वर्ष फिल्मका राम्रो विद्यार्थी उत्पादनमा बिताउनेछु।'

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने फिल्म निर्माणका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताए।

निर्देशन विभाग प्रमुख नरेशकुमार केसी र अभिनय विभाग प्रमुख विमल सुवेदीले नेपाली समाजले अझै पनि फिल्मप्रति चासो नदिइरहेको अवस्थामा त्यही समाजलाई फिल्म हेर्न प्रेरित गर्ने किसिमको जनशक्ति एकेडेमीबाट निकाल्ने बताए।

रसियाली थिएटरका निर्देशक अलेक्जेण्डर लबेडेभ, संस्कृति र नाट्य विभाग प्रमुख भ्लादिमिर सोलोडोभ र प्रमुख कार्यकारी अधिकृत एलिना गुस्चिनाले फिल्म अध्यापन हुने नेपाली संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

रसियाली संस्थासँग एकेडेमीले गरेको सम्झौताअनुसार पहिलो चरणमा एकेडेमीको अभिनय विधाबाट संजोग रसाइली र अनिल कँडेल तथा निर्देशन विधाबाट परिच्छेद सेनलाई छात्रवृत्तिमार्फत अध्ययनको मौका दिइएको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App