१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पिता र पुत्र

धेरै पहिले एउटा सहरमा ज्यादै धनी व्यक्ति बस्थ्यो । ऊसित कैयौं घर र सैयौं बिघा खेत थियो । त्यस व्यक्तिको एक्लो सन्तान किशोरावस्थामै घर छोडेर भाग्यो । जीवन गुजाराका लागि उसले सानोतिनो काम गर्न थाल्यो । उसले कहिलेकाहीँ त दैनिक गुजाराका लागि मजदुरीसमेत पाउँदैनथ्यो । ऊ कामको खोजीमा एउटा सहरदेखि अर्को सहर र एउटा गाउँदेखि अर्को गाउँसम्म पुग्यो ।

छोरो हराएकोमा दुःखी बाउले कैयौं वर्षसम्म छोराको खोजीमा आफ्नो सबै बर्कत लगायो तर पनि उसले छोरा फेला पार्न सकेन ।

घटनाको कैयौं वर्ष बितिसकेकाले छोरोले आफ्नो बाउ मात्र होइन, घरै बिर्सिसकेको थियो । मजदुरी गर्दै र एक सहरबाट अर्को सहर अनि एउटा गाउँबाट अर्को गाउँमा काम गर्दै जाँदा अनायासै छोरो हराएको व्यक्तिले छोरो फेला पार्याे। आफ्नै बाउसँग छोराले काम मागिरहेको थियो । छोरालाई देख्नेबित्तिकै बाउले त चिन्यो तर छोराले बाउलाई चिन्न सकेन । 

छोरालाई तत्कालै वास्तविकता बतायो भने ऊ लज्जित होला र पुनः भाग्ला भन्ने पीरले बाउले छोरालाई केही बताएन । छोरोले बाउसँग जस्तो काम भए पनि हुन्छ भनेर मागेकाले एउटा नोकरलाई भनेर छोरालाई शौचालय सफा गर्ने काम दियो।

छोरोले शौचालय सफा गर्ने काम सुरु ग¥यो । केही दिनपछि बाउले पनि मजदुरको भेस धारण गरेर छोरासँगै सफाइको काम सुरु ग¥यो । छोराले आफ्नो बाउलाई चिन्ने कुरै भएन । थोरै समयावधिका लागि सेठसँग भेटेकाले उसले आफूसँगै काम गर्ने मान्छे आफ्नै मालिक हो भन्ने पनि चाल पाउन सकेन । दुवैले कैयौं महिनासम्म सँगै काम गरे । 

एक दिन सही समय हेरेर बाउले छोरालाई सबै कुरा बताइदियो । आफ्ना लागि बाउले गरेको दुःख सम्झेर छोरो ग्वाँ–ग्वाँ रोयो । बाउ पनि ती कहालीलाग्दा एक्ला दिन सम्झँदै रोयो । दुवै अँगालो मारेर रुन थाले । बाउले छोरालाई अँगालो हाल्यो र भन्यो, ‘भो, तिमी पनि सबै कुरा बिर्सिदेऊ, म पनि बिर्सन्छु । तिम्रा लागि मैले दुःख होइन, सुख कल्पेको छु । यो तिम्रो अन्तिम रुवाइ होस् ।’

यसपछि दुवै बाउछोरा सुखपूर्वक रहँदाबस्ता भए । बाउले आफ्नो छोरालाई जमिन, सम्पत्ति, आउने आम्दानी र हुने खर्च बतायो । त्यस्तै, कसरी व्यवस्थापन गर्ने भन्ने पनि राम्रोसँग बुझायो । केही समयपछि बुवाको मृत्यु भयो र उसको छोरो बाउको ठाउँमा बस्ने भयो । त्यसपछि बाउको शिक्षाअनुसार उसले कहिल्यै पनि गलत काम गरेन, बाउजस्तै एउटा असल व्यक्तिका रुपमा जीवन बितायो।

यो कथामा बाउ एउटा ज्ञानप्राप्त गुरु हो, छोरो उसको उत्तराधिकारी र कथामा आउने नोकर ती स्त्री–पुरुष हुन्, जसलाई उनीहरुले मार्ग निर्देशन गर्छन् ।

जेन कथाबाट अनुवाद : अच्युत कोइराला

प्रकाशित: १३ जेष्ठ २०७४ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App