१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

'चाइनिज फुटबल धेरै तल'

मड्रिड- चाइनिज फुटबलबाट पर्याप्त सम्मान पाएता पनि कार्लोस टेभेजले त्यहाँको फुटबलको स्तर युरोपियन फुटबलको भन्दा धेरै तल रहेको बताएका छन्। युरोपका शीर्ष टोली म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र युभेन्ट्सबाट व्यावसायिक खेल खेलिसकेका अर्जेन्टिनी स्ट्राइकर टेभेज गत डिसेम्बरमा कीर्तिमानी ४ करोड  रुपियाँमा संघाई सेनहुवाँमा आबद्ध भएका थिए।

यद्यपि राष्ट्रपति सि जिङ पिङले आफ्नो राष्ट्र विश्व फुटबलमा एक शक्ति राष्ट्रको रूपमा उदाउनुपर्ने माग राखेपछि चाइनिज फुटबलमा करोडांैका लगानी भित्रिएका थिए। तर टेभेज भने चीनमा देखिएको फुटबल स्तरबाट प्रभावित हुन सकेका छैनन्।

‘युरोपियन टोलीसँग प्रतिस्पर्धा गर्न उनीहरू सक्षम छन् जस्तो मलाई लाग्दैन,’ एक स्पेनिस टेलिभिजनसँगको अन्तर्वार्तामा टेभेजले भने, ‘उत्कृष्ट खेलाडी आओस्। यहाँको फुटबल बिलकुल फरक छ । यहाँका समर्थकले पनि भिन्न तरिकाको व्यवहार देखाउँछन्। आगामी ५० वर्षमा पनि उनीहरू त्यो लक्ष्यमा पुग्न सक्दैनन्।

टेभेजले पनि चाइनिज फुटबलमा खासै प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। चोटका कारण टोलीबाहिर रहनुभन्दा पहिले खेलिएका चार खेलमा उनले एक मात्र गोल गरेका छन्, जुन पेनाल्टीमा सम्भव भएको थियो।

‘मेरो विचारमा उनीहरू शारीरिक रूपमा सशक्त छैनन् र उनीहरूमा अनुभवको कमी छ,’ टेभेजले भने, ‘उनीहरूले बिनाकारण तपार्इंलाई हानि पुर्‍याउन सक्छन् किनभने खेलमा परिपक्वता छैन।’

क्लबले अनुबन्धित गर्न पाउने विदेशी खेलाडीको संख्यामा चीन सरकारले कटौती गरेपछि टेभेजले यस कदमलाई आगामी पुस्ताका चाइनिज खेलाडीहरूलाई सुधार गर्नका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे।

उनले अगाडि भने, ‘प्राविधिक रूपमा उनीहरू त्यति राम्रा छैनन्, तर सरकारले अघि सारेको नयाँ नियमले यहाँको फुटबल विकासमा धेरै सहयोग पुर्‍याउनेछ।’

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App