१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मीको जितमा जितेन्द्र नायक

काठमाडौं- जितेन्द्र मुखियाको उत्कृष्ट बलिङप्रेरित त्रिभुवन आर्मी क्लबले शनिबार सुदूर पश्चिमाञ्चललाई ८ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

ढाडको चोटका कारण लामो समयपछि राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका जितेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन दिएर ६ विकेट लिएपछि सुदूर पश्चिमको इनिङ धराशयी बनेको थियो। तल्लो क्रमका ब्याट्सम्यान वसन्त खत्रीले २० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। वसन्तले २७ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए। वसन्तबाहेक सुदूर पश्चिमका अन्य ब्याट्सम्यानले बाउन्ड्री भेट्टाउन सकेनन्।

बलिङमा जितेन्द्रलाई स्पिनर सागर पुनले साथ दिएपछि सुदूर पश्चिमका कप्तान सुरेन्द्रले चन्दले टस जितेर ब्याटिङ गर्ने निर्णय गलत साबित भएको थियो। सुदूरले २२ ओभरमा ५० रन जोड्दा सबै विकेट गुमायो।

अविनाश कर्ण घाइते भएका कारण टोलीमा स्थान बनाएका जितेन्द्रले सुदूर पश्चिमका ओपनरद्वय सुरेन्द्र चन्दलाई १ र रोशन नेपालीलाई ४ रनको अवस्थामा पवेलियनको बाटो देखाएका थिए। लगत्तै अर्को स्पेलमा जितेन्द्रले विजय रानालाई शून्य रनमा विकेटकिपर राजु रिजालमार्फत क्याच गराए। निरन्तर विकेट गुमाएको सुदूर पश्चिमका ज्ञानेन्द्र कुँवरलाई सागर पुनले बोल्ड गरे। ज्ञानेन्द्रले ८ रन जोडे।

१४औं ओभरको तेस्रो बलमा सन्तोष भट्टलाई ६ रनमा आउट गरेका जितेन्द्रले १६औं ओभरको पहिलो दुई बलमा दुई विकेट हात पारे। उनले वसन्त कार्की र अनिलकुमार थापालाई शून्यमा पवेलियन फर्काएका थिए। ‘चोटका कारण नियमित प्रतियोगिता खेल्न पाएको थिइनँ। तथापि मैले मिहिनेत गरिरहंे। लामो समयपछि एकदिवसीय प्रतियोगिता भएको छ,’ जितेन्द्रले भने, ‘यसलाई हङकङविरुद्ध हुने खेलका लागि खेलाडी छनोट प्रतियोगिताको रूपमा पनि हेरिएको छ। त्यसैले राष्ट्रिय टोलीमा पुनरागमनका लागि मैले कडा मिहिनेत गरेको छु। मलाई ट्वान्टी–२० बलरको रूपमा हेर्ने गर्छन्। तर, म आफूलाई सबै स्वरूपको क्रिकेट खेल्न सक्छु भनेर प्रमाणित गर्न चाहन्छु।’

जितेन्द्रबाहेक  सागरले ६ ओभरमा १० रन दिएर ३ विकेट लिए भने सुशन भारीको नाममा एक विकेट रह्यो।

५१ रनको लक्ष्य त्रिभुवन आर्मीले ६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। ९ बलमा १ छक्कासहित १० रन बनाएका ओपनर सागरलाई सागर भण्डारीले बोल्ड गरे। त्यस्तै ९ बलमै १ चौकासहित १० रन नै बनाएका अनिलकुमार मण्डललाई विनोद लामाले विकेटकिपर अनिलकुमार थापाबाट क्याच गराएका थिए।

सागरसँग पहिलो विकेटका लागि २१ रनको साझेदारी गरेका अनिल मण्डलले कप्तान विनोद भण्डारीसँग दोस्रो विकेटका लागि २२ रनको साझेदारी गरे। विनोदले १५ बलमा ४ चौकासहित अविजित २१ रन बनाए। नरेश बुढाऐरले १ चौकासहित अविजित ६ रन जोडे। आर्मीका कप्तान विनोदले जितको श्रेय जितेन्द्रलाई दिए।

‘हाम्रा बलरले उत्कृष्ट प्रदर्शन गरे। जितेन्द्रले राम्रो गरेकै कारण हामीले खेल चाँडो सक्न सफल भयौं,’ विनोदले भने, ‘सोमपालले पनि राम्रो बलिङ गरेका थिए तर विकेट लिन सकेनन्। त्यस्तो अवस्थामा जितेन्द्र सफल हुँदा हामीले सहज जित निकाल्यौं। वर्षाले प्रभावित हुन सक्ने सम्भावना भएकाले हामी चाँडोभन्दा चाँडो खेल सक्न चाहन्थ्यौं। त्यसमा सफल भयौं।’

समूहचरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले अब नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ बाट सुदूर पश्चिम र पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोलीले तीन खेलबाट १ अंक मात्र जोड्न सके। त्रिभुवन आर्मी र पुलिस क्लबले दुई खेलबाट समान ४ अंक जोडेका छन्। आइतबार हुने त्रिभुवन आर्मी र पुलिस क्लबबीचको खेलबाट समूह ‘बी’ को विजेता टुंगो लाग्नेछ।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App