१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लुम्बिनी र संकटालाई सफलता

काठमाडौं- साबिक उपविजेता जगदम्बा लुम्बिनी र संकटाले ललित स्मृति यु-१८ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। अजित थापा र अनुप गुरुङले गोल गरेपछि लुम्बिनीले त्रिपुरेश्वरको न्युरोड टिम (एनआरटी) लाई २-० ले हरायो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको अप्राकृतिक मैदानमा लुम्बिनीले सुरुआतमा फितलो खेलेको थियो। सटीक पासलाई सुधार गर्दै बल अगाडि लगे पनि लुम्बिनीका खेलाडी फिनिसिङ लाइनमा गएर चुक्ने गरेका थिए। लुम्बिनीका खेलाडीमा समन्वय मिल्न सकिरहेको थिएन। १८औं मिनेटमा लुम्बिनीका अजितले फ्रिकिकमार्फत एनआरटीको पोस्टमा आक्रमण गरे। अजितले पोस्टमा प्रहार गरेको बललाई एनआरटीका गोलकिपर सन्देश गुरुङले पन्च गरेर फर्काइदिए। सन्देशले पन्च गरेको बलमै लुम्बिनीका सरोज थापाले उत्कृष्ट हेड गरेको बललाई गोलकिपर सन्देश रोक्न सफल भए।

लगातार दुई पटक गोल गर्ने प्रयास असफल भएपछि भने लुम्बिनीले खेलमा सुधार गरेको थियो। लुम्बिनीका खेलाडीले बिस्तारै टोलीको समन्वयमा सुधार गर्दै खेल आफ्नो नियन्त्रणमा लिने प्रयास गरे। २७औं मिनेटमा लुम्बिनीका लागि अजितले गोल गरे। रञ्जित थापाको कर्नरलाई एनआरटीका गोलकिपर सन्देशले पन्च गरेर छेके। त्यही बेला रिबाउन्डमा अजितले गोल गर्न सफल भए।

लुम्बिनीका प्रशिक्षक विकास गुरुङले अधिकांश नयाँ खेलाडी भएका कारण सुरुआतमा समन्वय नमिलेको बताए। 'गत वर्ष फाइनल खेलेकाले हामीलाई अरूले बलियो टिमका रूपमा लिएका छन्। तर यस पटक हामीसँग ८० प्रतिशत खेलाडी नयाँ छन्। एस्ट्रो टर्फमा खेल्ने बानी नभएकाले पनि अप्ठ्यारो भएको हो, गुरुङले भने, 'हाम्रा ८ खेलाडीले पहिलो पटक राजधानीको मैदानमा फुटबल खेले। त्यसमा पनि पहिलो पटक एस्ट्रो टर्फमा खेल्न कठिन हुन्छ। तर जित हासिल गरेका छौं। यसमा खुसी हुँदै पास, समन्वयलाई मिलाउँदै अर्को खेल जित्ने प्रयास गर्नेछौं।'

आइतबार लुम्बिनीले पहिलो गोल गरेपछि भने विपक्षीको पोस्टमा आक्रमण बढाएको थियो। ३६औं मिनेटमा अनुप र अमृतको गोल गर्ने प्रयासलाई एनरआटीका गोलकिपरले असफल बनाए। अनुपले एनआरटीका रक्षकको बीचबाट प्रहार गरेको बललाई गोलकिपर सन्देशलाई लागेर फर्कियो। बल नियन्त्रण गर्न नसकेपछि सन्देश केहीबेर अलमलमा परेका थिए। त्यही मौकामा अमृतले पोस्टमा प्रहार गर्ने अवसर पाए। तर अमृतले सुस्त गतिमा गरेको प्रहारलाई गोलकिपरले डाइभ गरेर खतरालाई टारे। लुम्बिनीका लागि दोस्रो गोल अनुपले ५५औं मिनेटमा गरे। एनआरटीको तर्फबाट सनिप भट्टराईले ७२औं मिनेटमा गरेको उत्कृष्ट प्रहार लुम्बिनीका गोलकिपर एवम कप्तान सोजित गुरुङलाई लागेर फर्किएको थियो। त्यसबाहेक एनआरटीले लुम्बिनीविरुद्ध खेलमा गतिलो मुभ बनाउन सकेको थिएन। एनआरटीले धेरै समय मैदानको मध्यभाग पास खेलेको थियो।

एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले पुरानो क्लब भए पनि मैदान अभावका कारण प्रतियोगिताको तयारीमा असर परेको बताए। 'प्रतियोगिताको तयारी गर्न मैदान चाहिन्छ। विभागीय टोलीबाहेक अन्यलाई मैदानको समस्या छ। टुँडिखेलमा हामीले २ हप्ता अभ्यास गरेका हौं। सबै नयाँ खेलाडी छन्। उनीहरूबीच समन्वय मिलेको छैन,' प्रशिक्षक मुल्मीले भने, 'प्रतियोगितामा हामीले धेरै ठूलो लक्ष्य राखेका छैनौं। गल्तीलाई कम गर्दै राम्रो खेल देखाउने प्रयास गर्छौं।'

यसै गरी अर्को खेलमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको सिएमजी संकटाले मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै विजयी सुरुआत गर्‍यो। संकटाको जितमा दुवै गोल दीपेश आलेले गरे। दीपेशले १० र ६५औं मिनेटमा गोल गरेर संकटालाई सहज जित दिलाए। ४१औं मिनेटमा संकटाका साकाल रेग्मीले मोरङका खेलाडीलाई ब्याडट्याकल गरेपछि रातो कार्ड पाएका थिए।

संकटाका प्रशिक्षक सगुन तण्डुकारले टोलीको आक्रामक गतिमा खेल्ने शैलीका कारण जित हासिल गरेको बताए। उनले भने, 'हामीले सुरुआतमा गोल गर्‍यौं। तर कप्तानलाई गुमाउँदा खेलमा अप्ठ्यारो परेको थियो। मोरङ समन्वय मिलेको टोली हो। हामीले आज सुरुदेखि मेहनत गरेर खेल्यौं। यसले आगामी खेल जित्न सहयोग गर्नेछ।'

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App